हरि शर्मा नवलपरासी , ३९० पटक हेरिएको
परासी, भदौ २४
उद्योगपति बिनोद चौधरीको नाम उम्मेदवारमा सिफारिस भएपछि नवलपरासीका कांग्रेस कार्यकर्ताहरु जिल्ला नेतृत्वसँग आक्रोशित बनेका छन् ।
क्षेत्रदेखि जिल्ला नेतृत्वले चौधरीको नाम सिफारिस गरेपछि नेताहरुसँग आक्रोशित बनेका कार्यकर्ताहरुले पार्टीले सञ्चालन गरेको ‘जनतासँग कांग्रेस अभियान’मा समेत अवरोध गरेर कार्यक्रम गर्न दिएका थिएनन् ।
चौधरीको नाम पश्चिम नवलपरासीको प्रतिननिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रत्यक्षतर्फ सिफारिस भएको छ । उक्त निर्वाचन क्षेत्रमा पुराना र त्यागी नेताहरु हुँदाहुँदै बाहिरबाट नाम ल्याएर सिफारिस गरेको भन्दै कार्यकर्ताहरु आक्रोशित बनेको सुस्ता गाउँपालिकाका पार्टी सभापति रबिन्द्र जयसवालले बताउनु भएको छ ।
क्षेत्रले उहाको नाम सिफारिस गर्न नचाहदा नचाहदै पनि पार्टीका उच्च तहका नेताहरुको दबाबमा नाम पठाइएको कांग्रेस स्रोतले जनाएको छ । त्यस क्षेत्रबाट चौधरीसहित ५ जनाको नाम सिफारिस गरिएको छ । नेताहरुको दबाबपछि क्षेत्र र जिल्लाले उहाको नाम पाँचौ नम्बरमा पठाएको छ । चौधरीको निवेदन बर्दघाट निवासी महाधिवेशन प्रतिनिधि उषा बाँस्तोलाले क्षेत्रमा दिएको नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति मुकुल आचार्यले बताउनु भएको छ ।
‘कार्यकर्ताहरुले असन्तुष्टि जनाए पनि आएका सबै नाम पठाएका छौं,’ आचार्यले भन्नु भयो । पार्टीले सञ्चालन गरेको जनतासँग कांग्रेस अभियान क्षेत्रसम्म गरिएको र वडामा जाने क्रममा चौधरीको नाम सिफारिस भएको जानकारी पाएपछि कार्यकर्ताहरुले असन्तुष्टि जनाउँदै कार्यक्रममै नआएको जिल्ला सचिव कुलदिप आचार्यले बताउनु भयो ।
जिल्लामा चौधरीको राजनीतिक भूमिका शून्य रहेकाले उहाको उपस्थितिले पार्टीलाई घात हुनसक्ने जिल्ला सभापति अर्जुन कुमार पोखरेलले बताउनु भएको छ ‘चौधरीजी पहिला एमालेको समानुपातिक हुनुभयो । अहिले कांग्रेसबाट समानुपातिक सदस्य हुनुहुन्छ । १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नु भएको छ । उहाँको सिफारिसपछि कार्यकर्तामा असन्तुष्टि छ । बाँकी कुरा केन्द्रले गर्ने हो,’सभापति पोखरेलले भन्नु भयो ।
पार्टीको प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभाको क्षेत्रबाट आएका सबै नामसहित चौधरीको ५ नम्बरमा राखेर पठाइएको पोखरेलले बताउनु भयो ।
उक्त क्षेत्रबाट जनता प्रगतिशिल पार्टी (जप्रपा) का अध्यक्ष एंव पूर्वमन्त्री हृदयेश त्रिपाठी चुनाव लड्दै आउनु भएको छ । २०४८ सालदेखि लगातार भएका ६ वटा निर्वाचनमध्ये त्रिपाठीले ५ वटा निर्वाचन जित्नु भएको छ । २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा मात्र त्रिपाठी नेपाली कांग्रेसका देवकरण जयसवलासँग ६ हजार मतान्तरले पराजित हुनु भएको थियो।
मंसिर ४ को चुनावमा पनि त्रिपाठी उठ्ने पक्कापक्की छ । एमालेको चुनाव चिन्हबाट चुनाव लडेर प्रतिनिधि सभा निर्वाचन जितेका त्रिपाठीले अहिले पनि एमालेसँग तालमेल गर्ने सोचमा रहेको जप्रपाका कार्यकर्ताहरुले बताएका छन् ।
चौधरीले टिकट पाए त्रिपाठीसँग प्रतिस्पर्धा गर्न उहालाई त्यति सहज छैन । कांग्रेस कार्यकर्ताहरुले नै बाहिरी व्यक्तिलाई नरुचाएपछि स्थानीय भएका कारण त्यसको सहानुभूति त्रिपाठीलाई नै जाने कांग्रेस कार्यकर्ताहरुले बताएका छन् । त्यस क्षेत्रमा त्रिपाठीको व्यक्तिगत प्रभाव राम्रो छ ।
चौधरीसँगै त्यस क्षेत्रबाट संविधान सभा सदस्यद्धय खनाल, देवकरण जयसवाल, कुलदीप आचार्य र उषा बाँस्तोलाको नाम सिफारिस गरेको छ । चौधरीको नाम आउनु अघि त्यस क्षेत्रबाट संविधान सभा सदस्यद्धय खनाल र जयसवालबीच नै टिकट ल्याउनेमा प्रतिस्पर्धा रहेको थियो ।
कांग्रेसको जिल्लामा २ गुट छ । संविधा सभा सदस्य एंव पार्टीका लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल र पार्टी केन्द्रीय सदस्य एंव निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य देबेन्द्रराज कँडेलको गुटगत लडाईले चौधरीलाई त्यहाँ ल्याउन खोजिएको कांग्रेस कार्यकर्ताको बुझाइ छ ।
तर, स्थानीय चुनावमा निर्वाचन क्षेत्र नं. १ मा पर्ने सबै ३ वटा पालिकामा कांग्रेसले जितेपछि खनालको गुट झन् बलियो बनेको छ । कांग्रेसको संगठन स्थानीय चुनावपछि झन बलियो भएपछि हृदयेश त्रिपाठीसँग प्रतिस्पर्धा गर्न सक्ने खनाल नै रहेको अन्य राजनीतिक दलको पनि विश्लेषण छ ।
अर्का संविधान सभा सदस्य देवकरण जयसवाल पनि दाबेदर रहेकाले उहालाई समानुपातिकमा पठाउन जोडबल गरिएको थियो । तर उहा नमानेपछि प्रदेशले प्रतिनिधि सभाको प्रत्यक्षमै सिफारिस गरेको छ । सिफारिसपछि अहिले चौधरीसँगै खनाल र जयसवाल कस्ले टिकट ल्याउला भन्नेमा कांग्रेससँगै अन्य दलका कार्यकर्ताहरुमा कौतुहल्ता जगाएको छ ।
उद्योगपति चौधरीलाई पूर्वी नवलपरासीका दुईवटै निर्वाचन क्षेत्रको प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवार आकांक्षीमा पनि सिफारिस गरिएको छ ।
प्रकाशित मिति: २०२२-०९-०९ , समय : २०:४७:५५ , २ वर्ष अगाडि