रुपन्देहीको ओमसतिया गाउँपालिकाले ५६औँ अन्तराष्ट्रिय साक्षरता दिवस मनायो

विवेक विश्वकर्मा , ३०६  पटक हेरिएको

भैरहवा, भदौ २३

रुपन्देहीको ओमसतिया गाउँपालिकाले ५६औँ अन्तराष्ट्रिय साक्षरता दिवस मनाएको छ । गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा विहिबार विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।

कार्यक्रममा ‘‘अबको शिक्षा निति, शिक्षक र विद्यार्थी कस्तो हुनु पर्दछ’’ भन्ने शिर्षकमा विभिन्न सामुदायिक तथा निजि विद्यालयका विद्यार्थीहरुको सहभागितामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा लर्ड बुद्ध स्कुलबाट हरि बनियाले प्रथम स्थान हासिल गरेका छन् । यस्तै सनलाइट हाई स्कुलबाट प्रिन्स गुप्ता द्वितीय, ठुठिपिपल माध्यमिक विद्यालयबाट बबिता श्रेष्ठ तृतीय र लर्डबुद्ध ईङ्गलिस स्कुलबाट प्रियंका हरिजनले सान्त्वना पुरस्कार हासिल गरेका थिए ।

गाउँपालिकाले विभिन्न सामुदायिक तथा निजि विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याएका विद्यार्थीहरुलाई समेत उक्त कार्यक्रममा सम्मान गरेको छ ।

यस्तै ठुठीपिपल माध्यमिक विद्यालयबाट शिक्षक पेसाबाट अनिवार्य अवकाश पाएका जगदीश राय र राम अवतार यादवलाई सम्मान गरिएकोे थियो ।

कार्यक्रममा बोल्दै ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव (सोनु) ले आजको आवश्यकता शिक्षालाई प्रभावकारी बनाउनु रहेको बताउनु भएको छ । ‘ओमसतिया गाउँपालिका भित्र शिक्षा क्षेत्रलाई ब्यवस्थित बनाउन सबैले सुझाव दिनु पर्ने यादवको भनाइ छ ।’

गाउँपालिकाको सबै विद्यार्थीहरुलाई देशमै उत्कृष्ट बनाउन अभिभावक, शिक्षक, विद्यालय ब्यावस्थापन समिति जनप्रतिनिधि सबैको सहकार्य हुन जरुरी रहेको उहाले बताउनु भयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले दिवसको शुभकामना दिदै सम्मानित तथा पुरस्कृत सबैलाई बधाई ज्ञापन गर्नु भएको थियो । शिक्षाको विकास भएको क्षेत्रका बालबालिकाले मात्र उच्च तह सम्म पुग्ने गरेको भन्दै शिक्षालाई पहिलो प्राथमिकतामा राख्न सबैलाई आग्रह गर्नु भएको थियो ।

वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश सिंह चौधरीले प्रतियोगितामा सहभागी सबै विद्यार्थी तथा विद्यालयलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

आजका विद्यार्थी भोली विभिन्न निकायका जिम्मेवार ब्यक्ति भएको हुँदा हरेक प्रतियोगितामा उत्रिनु पर्ने उहाले बताउनु भयो । चौधरीले शिक्षक संगै अभिभावक पनि विद्यार्थीको पढाई प्रति जिम्मेवार हुन आग्रह गर्नु भएको थियो ।

ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतम, लेखा अधिकृत कमल प्रसाद शर्मा लगायतका उपस्थित रहेको कार्यक्रमलाई शिक्षा शाखा प्रमुख हरि प्रसाद पोखरेलले कार्यक्रम संचालन गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२२-०९-०८ , समय : १९:३०:३८ , २ वर्ष अगाडि