महिला हिंसाका घटना दिनप्रतिदिन बढदै

रुपन्देहीमा आ. ब. ७८/ ७९ साउन मसान्त सम्ममा ५ सय ६१ वटा घरेलु हिंसा दर्ता

उर्मिला यादव यात्री , ५६६  पटक हेरिएको

भैरहवा , भदौ २                                                                                                                                       रुपन्देहीको ओमसतिया गाउपालिकाकी अस्मिता कोहार परिर्वतित नाम हाल बुटवल बस्ने बिहे भएको ६ बर्ष भयो । बिगत चार बर्ष देखि उनी माइतमा बस्दै आएकी छन । बिहे भएको एक महिना नबित्दै घरपरिवारबाट मानसिक रुपमा यातना दिन थालेपछि अस्मिता बाध्य भएर माइतीको शरणमा पुगेकी हुन । बिहेमा सोचे जस्तो दाइजो नपाएको र राम्री छैन भन्दै यातना दिदै आएका थिए । बिहे भएको दृई तीन बर्ष भए पनि नत उनलाई चाहिने लुगा दिइन्थ्यो नत बिरामी हुदा उपचार नै गरीन्थ्यो । आफुलाई चाहिने हरेक चिज माइतीबाट नै ल्याउनुपर्ने बाध्यता थियो । श्रीमान सरकारी जागिरे तर श्रीमती राम्री छैन भन्दै हेला गर्दै आएको उनको गुनासो छ । सरकारी जागिरे भएर के गर्नु मैले श्रीमती पाल्न सक्दैन भन्दै पटक पटक मानसिक रुपमा यातना दिदै आएको उनले बताउछिन । आफनो श्रीमान मात्र नभइ घरपरिवारबाट नै मानसिक रुपमा यातना दिन थालेपछि उनी बाध्य भएर माइतीको शरणमा पुगेकी हुन । राम्री छैन अर्काे बिहे गर्छु भन्दै छोडपत्र माग्ने श्रीमान, आफनो नभए पछि कसको मुख हेरेर बस्ने भनेर माइत पुगे पनि उनलाई पटक पटक मार्ने धम्की पनि दिदै आएका थिए । माइत गएर बसेको ५ महिना नबित्दै आफुले काम गरेको ठाउमा गएर कुटपिट पनि गरेको र बाइकले किचेर धन्न नमारेको अस्मिताले बताइन । आफनो खुटटा फयाक्चर भएपछि प्रहरीमा उजुरी दिदा पनि केही भएन र मैले न्याय पाइन भनेर उनले गुनासो गरीन । आफु माथि हमला भएपछि बिगत ४ बर्ष देखि माइतमा बस्दै आएको उनले बताउछिन ।

 

 

रुपन्देहीको अस्मिता मात्र होइन हाम्रो समाजमा अस्मिता जस्तै अन्य महिलाहरु पनि अझै पनि घरेलु हिंसा सहदै आएका छन । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा बस्ने परिर्वतित नाम जानबी थारु पनि आफनो घरपरिवारबाट शारीरिक देखि मानसिक रुपमा यातना सहदै आएको बताउछिन । बिहे गरेको केहि महिनामै आफनो श्रीमान बिदेश गए पछि आफुलाइ यातना थालियो किनभने उनको श्रीमान बिदेशबाट पैसा पठाउन छोडे । छोराको अवस्था के कस्तो छ किन पैसा पठाएन त्यो बुझनु परको कुरा उल्टै उनको श्रीमतीलाई यातना दिन सुरु गरीयो । छोराले कमाएको पैसा बुहारीको माइत पठाएको हुन सक्ने आशंकामा घरमा भएको निर्दोष बुहारीलाइ देवर,सासु र ससुरा मिलेर सधै कुट्न जाने गालीगलौच गर्ने, उनले पकाएको नखाने , छुटटै बस भन्दै यातनाहरु दिदै आएका थिए ।

 

उनी सब चुपचाप सहदै आएको र सहेर बस्नु बाहेक अर्काे बिकल्प पनि नभएको बताउछिन । केही महिना पछि उनको श्रीमान बिदेशबाट आए, आफु जुन काममा गएको त्यो काम छोडेर भागेकोले उनी जेल परेका रहेछन । उनले पैसा कमाएनन भनेर उनको आफनै बुवा आमाले घरदेखि अलग गरीदिए । अलग गरेपनि उनको श्रीमतीसंग अझै पनि झगडा गरी उनको आमा र भाइ गाली गलौच गरी कुटपिट गर्न पुग्छन । श्रीमान नभएको मौका छोपी अझै पनि उनका सासु , ससुरा र देवरले यातना दिदै आएका छन । प्रहरी संग गुहार माग्दा रातिको समय भएर होला प्रहरी पनि पुग्दैनन ।

 

यस्तै गरी हरेक ठाउमा महिलाहरु घरदेखि बाहिर सम्म हिंसामा पर्दै आएका छन । कतिपय महिलाहरु घरेलु हिंसा सहन नसकेर घरदेखि बाहिर बस्दै आएका छन भने कतिपय माइतीको शरणमा रहदै आएका छन । हाम्रो समाजमा महिलाहरु हिंसामा पर्दा कोही उनको तर्फबाट बोल्दैनन उल्टै महिलालाई नै आरोप लगाइन्छ । यस्तै अर्काे घटना पश्चिम नवलपरासीको सुनवल नगरपालिका अन्तर्गत स्मार्ट सिटीको काम गर्ने शिलशिलामा एउटा घरमा पुग्दा एक महिनाको बालक हातमा लिएकी मधेशी समुदायकी ति युवती हेर्दा १९, २० बर्षकी जस्तो देखिन्थिन । ससुरालमा आफुलाई पटक पटक यातना दिदै आएको र दाइजो धेरै नदिएको कारण उनलाई घरबाट निकालिएको रहेछ ।

 

माइत बस्दा पनि माइतीमै आएर झै झगडा गर्न पुग्ने उनको श्रीमान । सानैमा बिहे गरीयो अहिले दुख पाउदैछु उनले भनिन । आफनो मात्र नभइ आफनो बहिनीको पनि त्यही घरमा बिहे भएको र घरका परिवारले आफुुुुुुलाई दुख दिदै आएकोले उनको कान्छी बहिनी त्यो घरमा जान नमानेपछि आफुलाइ यातना दिदै आएको र घरबाट समेत निकाला गरेको उनको गुनासो छ । अधिकारको लागी प्रहरी र महिला अधिकारकर्मी संग धाए पनि मिलेर बस्नुपर्ने भन्दै आएको बताउछिन । मिलेर बस्नुपर्ने धारणाले गर्दा पनि झन महिलाहरु घरपरिवारबाटै शोषित हुनु परेको छ ।

 

महिलाहरु हिंसामा पर्नुको एक कारण बालबिवाह पनि हो । मधेशी समुदायमा कलिलै उमेरमा बिवाह गरिदिने चलनले गर्दा पनि महिलाहरु हिंसामा पर्दै आएका छन । पहिले भन्दा त अहिले बालविबाह केही कम भए पनि दक्षिणी भेगमा अझै पनि बालबिवाह कायम नै छ । गरीबी र अशिक्षा मात्र नभइ अन्य प्रत्यक्ष तथा अप्रत्यक्ष कारणहरुले गर्दा पनि महिला हिंसाका घटनाहरु दिनप्रतिदिन बढदै गएका छन । महिला आफनै घरमा सुरक्षित छैनन ।

 

मानसिक देखि शारीरिक यातना सहनु मात्रै नभइ आफनै घरमा बैवाहिक बलात्कृत हुन समेत पुगेका छन । हाम्रो समाज जति नै शिक्षित भए पनि पुरानो सोच हाबी भएको कारण महिलाहरु हिंसामा परेका छन ।

 

हुन त सबैको घरमा यस्तो छैन तर अधिकांश मधेशी समुदायमा यस्तो हामीले पाउन सक्छौ । महिला हिंसा पहाडी समुदाय भन्दा मधेशी समुदायमा बढी छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको तथ्यांक अनुसार रुपन्देहीमा घरेलु हिंसा बढदो छ । आर्थिक बर्ष २०७८/७९ साउन मसान्त सम्ममा ५ सय ६१ वटा घरेलु हिंसा दर्ता भएका छन । जुन गत बर्ष भन्दा ७८ वटाले बढी छ । गत आर्थिक बर्ष २०७७/७८ मा ४ सय ८३ वटा घरेलु हिंसा दर्ता भएका छन । दर्ता भएका अधिकांश घरेलु हिंसा मधेशी समुदायका मात्रै रहेका छन ।

 

मधेशी समुदायमा महिला हिंसा धेरै भएको र पहाडी समुदायमा कहिकतै मात्र यस्तो घटना भएको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र हेर्दै आएकी प्रहरी सहायक निरीक्षक मिना आचार्यले बताउनु भएको छ । आर्थिक बर्ष २०७२/७३ मा घरेलु हिंसा १सय ९७, आर्थिक बर्ष ०७३/७४ मा २ सय २८, ०७४/७५ मा २ सय २७ वटा घरेलु हिंसा भएका छन । यस्तै गरी आर्थिक बर्ष ०७५/७६ मा घरेलु हिंसा बढेर चार सय ७५, ०७६/७७ मा ३ सय ७८ वटा घरेलु हिंसा दर्ता भएका छन । समाज जति शिक्षित हुदैछ त्यति नै घरेलु हिंसाका घटनाहरु बढदै गएको तथ्यांकले देखाएको छ ।

 

हाम्रो समाजमा घरेलु हिंसा अत्यधिक भए पनि घरेलु हिंसा सम्बन्धी मुद्धा दर्ता भने भएको पाइदैन । २०७२ सालदेखि हेर्न हो भने रुपन्देहीमा आर्थिक बर्ष ०७५/७६ मा ३ वटा मात्रै घरेलु हिंसा सम्बन्धी मुद्धा दर्ता भएका छन । यस्तै गरी अन्य आर्थिक बर्षमा घरेलु हिंसा सम्बन्धी मुद्धा दर्ता शुन्य रहेको छ भने आर्थिक बर्ष २०७७/७८मा एक बटा मात्रै घरेलु हिंसा सम्बन्धी मुद्धा दर्ता भएको तथ्यांकमा उल्लेख छ ।

अधिवक्ता शेष नारायण भण्डारीका अनुसार रुपन्देही जिल्ला अदालतमा घरेलु हिंसा सम्बन्धी मुद्धा केही मात्रामा मात्र दर्ता हुने गरेका छन । हाम्रो समाज अझै पनि घरेलु हिंसा बिहीन भैनसकेको र यो जुन समुदायमा पनि हुन सक्ने उहाको भनाइ छ ।

 

घरेलु हिंसा सम्बन्धी घटना घटनुको मुख्य कारण शिक्षा, चेतनाको कमी र संस्कार लगायतका कुराले गर्दा पनि घरेलु हिंसा बढदै गएका छन । घरेलु हिंसामा शारीरिक हिंसा , यौन हिंसा, आर्थिक र आवश्यकताहरु पुरा नगरी दिदा पनि घरेलु हिंसा लगायतका घटनाहरु बढेको अधिवक्ता भण्डारीले बताउछन ।

 

 

महिला हिंसालाई बढावा दिने मध्ये बहुबिवाह पनि एक हो । सानै उमेरमा बिवाह जसलाई हामी बालबिवाह भन्ने गर्छाै । अहिले बालबिवाह धेरै कम भए पनि बहुबिवाह भने कम हुन सकेका छैनन । बैवाहिक सम्बन्धको खटपटका कारण अहिले बहुविवाह पनि बढदै गएको तथ्यांकले देखाएको छ । रुपन्देहीमा प्रत्येक बर्ष बहुविवाह बढदै गएको छ । बहुबिवाह जस्ता चलनले गर्दा पनि महिलाहरु नै हिंसामा पर्दै आएका छन । श्रीमानले दोस्रो श्रीमती ल्याउदा पहिलो श्रीमती र छोरा छोरी समेत दुख पाउदै आइरहेका छन ।

 

रुपन्देहीमा आर्थिक बर्ष २०७२/७३ र ७४ मा बहुविवाह गर्नेको संख्या १२ रहेको छ । आर्थिक बर्ष २०७४/७५ मा बहुबिवाह ३९ वटा भएको पाइएको छ भने २०७५/७६ मा बहुबिवाह बढेर ४३ पुगेको छ । यसरी बहुविवाह पनि बढदै गएको तथ्यांकले देखाएको छ भने आर्थिक बर्ष २०७६/७७ मा बहुबिवाह घटेर २२ मा पुगेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तथ्यांक अनुसार रुपन्देहीमा आर्थिक बर्ष २०७७/७८ मा बहुविवाह घटेर १६ मा पुगेको छ । बहुविवाह सम्बन्धी नियमकानुनले गर्दा पनि अहिले बहुविवाहका घटनाहरु कम हुदै गएका छन । २०७७/७८ मा १३ मा झरेको बहुबिवाह आर्थिक बर्ष २०७८/७९ असार मसान्त सम्ममा बढेर १६ पुगेको छ । महिलाहरु प्राय जसो महिलाबाट नै हिंसामा पर्दै आएका छन भने अधिकांश श्रीमान र परिवारका सदस्यहरुबाट मानसिक देखि शारीरिक यातनाहरु सहदै आएका छन ।

 

महिला हिंसा न्युनीकरण गर्नका लागी हरेक बर्ष लैंगिक हिंसा सम्बन्धी बिभिन्न अभियानहरु संचालन हुदै आएका छन । महिला हिंसा सम्बन्धी अभियानहरु संचालन हुदै आए पनि लक्षित बर्ग सम्म पुग्न सकेको छैन । घरेलु हिंसा र महिला हिंसा सम्बन्धी नियम कानुन बने पनि महिलाहरु यसबारे अझै पनि अनबिज्ञ छन ।

प्रकाशित मिति: २०२२-०८-१८ , समय : १७:५४:५१ , २ वर्ष अगाडि