रुपन्देही खबर , ४०७ पटक हेरिएको
बुटवल , साउन २४
अघिल्लो नेतृत्वले बुटवलका अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउन नापी सकेर लालपुर्जाको प्रक्रियामा पुगेको बताईरहँदा बुटवल उपमहानगरमा नेतृत्व फेरिएसँगै भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्न भन्दै जग्गा नापजाँचको काम पुनः शुरु भएको छ ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको वडा नं १७ बाट नापजाँचको कामको पुनः उद्घाटन गर्नु भएको छ । अघिल्लो नगर प्रमुख एमालेका शिवराज सुबेदीले पनि बुटवल १७ बाटै नापजाँच शुरु गराई काम सम्पन्न भएको दाबी गर्नु भएको थियो ।
नापजाँचको काम शुरुवात गर्दै नगरप्रमुख पाण्डेयले प्रक्रिया पूरा भएका बुटवल क्षेत्रका सबै भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिइने बताउनु भएको छ । उहाले जग्गा नापजाँचका लागि खटिएका नापी अधिकृत र अमिनलाई सघाउन र सहकार्य गर्न स्थानीयलाई आग्रह समेत गर्नु भएको छ ।
अघिल्लो नगरप्रमुखकै भाषामा पाण्डेले पनि बुटवल क्षेत्रमा लामो समयदेखिको भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि काम शुरु भएको बताउनु भएको छ ।
राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले जग्गा नापी गर्ने क्रममा नापी टोलीलाई सहयोग गरिदिन आग्रह गर्नु भएको थियो । उहाले बुटवल उपमहानगरपालिकाको सहकार्य र समन्वयकै कारण बुटवलमा नापजाँचको काम शुरु गर्न सम्भव भएको पनि बताउनु भएको छ ।
राष्ट्रिय भूमि आयोग रुपन्देहीका सदस्य यमलाल तिवारीले नापजाँचको काममा साथ दिन स्थानीयसँग आग्रह गर्नु भएको छ । नापी अधिकृत कपिल ज्ञवालीले स्थानीयले सहयोग गरेमा नापीको काम तीब्र गतिमा अघि बढ्ने बताउनु भएको छ ।
पुनः नापी शुरु भएको समबन्धमा प्रतिक्रिया दिँदै पुर्व मेयर शिवराज सुबेदीले स्थानीय पालिका र भूमि आयोगलाई लालपुर्जा वितरणको अधिकार नभएको बताउनु भएको छ । उहाले सिफारिस सम्म गर्न सकिने विषयलाई लालपुर्जा नै दिने बताएर अतिरञ्जना गरिएको बताउँदै अघिल्लो नेतृत्वले सम्पन्न गरेको कामको स्वामित्व लिन आग्रह गर्नु भएको थियो ।
श्रोत : खबरकुरा
प्रकाशित मिति: २०२२-०८-०९ , समय : २०:०४:४९ , २ वर्ष अगाडि