सिद्धार्थनगरमा नव बर्ष २०८२ को अवसरमा शुभकामना आदानप्र्रदान कार्यक्रम सम्पन्न

रुपन्देही खबर , १३१  पटक हेरिएको

भैरहवा, बैशाख १

हाम्रो नगर हामी सबैको सरोकार भन्ने मुल नाराका साथ सिद्धार्थनगर नगरपालिकाले सफल कार्य सम्पादन गरी देशकै उत्कृष्ट नगर पुरस्कार प्राप्त गर्न सफल भएको तथा नव बर्ष २०८२ को शुभ अवसरमा शुभकामना आदानप्र्रदान कार्यक्रम सम्पन्न गरेको छ । नगरप्रमुख इश्तियाक अहमद खानको अध्यक्षता तथा जिल्ला समन्वय समितीका रुपन्देहीका प्रमुख उमाकान्त चपाईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 
शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथी चपाईले सिद्धार्थनगर नगरपालिका सफल कार्य सम्पादन गरी देशकै उत्कृष्ट नगर हुनु खुसी र हौसलाको बिषय भएको बताउनु भएको छ । उहाले नगरमा रहेको फोहोर ब्यवस्थापनमा यहाका स्थानिय र राजनितिक दलको सहयोग नपाएको बताउनु भएको छ । उहाले एक अर्काको होडबाजीले गर्दा नै यहाको फोहोर ब्यवस्थापनमा चुनौती देखिएको उल्लख गर्नु भयो । उहाले देशकै उत्कृष्ट नगर पुरस्कार प्राप्त गर्न सफल भएकोले यसलाई निरन्तरता दिन आग्रह गर्नु भएको छ । उहाले सिद्धार्थनगरले पछिल्लो वर्षहरुमा विकासको कामले गति लिएको जोड दिनु भएको छ ।

यस्तै गरी नगरप्रमुख इश्तियाक अहमद खाँले नगर उत्कृष्ट बन्नुमा आम नगरबासी, कर्मचारी र जनप्रतिनिधि सबैको योगदान रहेको बताउनु भएको छ । उहाले नरपालिकाको हरेक क्षेत्रलाई उत्कृष्टता प्रदान गर्ने गरी काम गरिरहेको बताउदै शिक्षा, स्वास्थ्य, सहरी विकास, नाला ब्यवस्थापन , वातावरण, हरियाली लगायतका क्षेत्रमा निरन्तर नगरबासीसँग सहकार्य गरेर काम गरिरहेको बताउनु भएको छ ।

उहाले नगरपालिकाको आन्तरिक आम्दानी तुलनात्मक रुपमा कम भए पनि आफ्नो सीमित स्रोतसाधनका बाबजुद पनि नगरपालिकाले एसियाली विकास बैंक (एडीबी), संघीय र प्रदेश सरकाको सहयोगमा विकासलाई अगाडि बढाएको बताउनु भएको छ । नगर प्रमुख खांले ‘यो वर्ष पनि एडीबीको सहयोगमा सडक, ढल, नाला तथा नगर सुन्दरीकरणका लागि काम भैरहेको जानकारी दिदै यसको लागि ठेक्का भइसकेको र छिट्टै नै निर्माण कम्पनीले काम सुरु गर्ने बताउनु भएको छ । उहाले पछिल्ला वर्षहरुमा नगरपालिकालाई अधिकतम प्रविधिमैत्री बनाउने प्रयासमा लागी परेको उल्लेख गर्नु भयो ।

उहाले नगरपालिका भित्र राजस्व भुक्तानी अनलाइनमार्फत गराइएको, नगरका मुख्य चोकहरुमा फ्रि वाईफाई जडान गरिएको, सुरक्षा एवं दुर्घटना न्यूनीकरणका लागि अटोमेटिक नम्बर प्लेट रेकर्डर सिस्टम तथा नगरका विभिन्न भागहरुमा सिसिटीभी क्यामरा जडान गरिएको बताउनु भयो । नगर प्रमुख खां ले उज्यालो सहर बनाउने उद्देश्य सहित स्मार्ट लाइट तथा सडक बत्ती जडानलाई निरन्तरता दिइएको समेत जोड दिनु भयो । उहाले नगरको सुन्दरीकरणका लागि नियमित सरसफाई पुष्प, वृक्षरोपण गरिएको बताउदै फोहोरमैला व्यवस्थापन गर्ने सवारीसाधनहरुको अनलाइनकरण गरिएको समेत बताउनु भएको छ । उहाले यसबाट फोहोरका गाडी कहाँ छन् र आफ्नो घरआँगनमा कतिबेला आइपुग्छ भनेर सजिलैसँग नगरबासीले पत्ता लगाउने गरी मोबाइल एप निर्माण गरिएको समेत जानकारी दिनु भएको छ ।

यस्तै गरी विद्यालयमा डिजिटल कक्षा निर्माण गरिएको र विपद् व्यवस्थापनतर्फ खानेपानीका पाइपहरु भएका स्थानमा आवश्यकता अनुसार फायर हाइड्रहरु जडान गरिएको समेत बताउनु भएको छ । उहाले बेलहियामा रहेको अन्तर्राष्ट्रिय नाका प्रवेशद्वारमा गेट निर्माणको काम अन्तिम चरणमा पुगेको जोड दिदै ‘नगरपालिकाले यसको अलवा शिक्षा, स्वास्थ्य, सहकारी, कृषि लगायत सामाजिक विकास र आर्थिक चलायमान हुने, आत्मनिर्भर हुने खालका लक्षित वर्गमा आयआर्जनमूलक कार्यक्रम गरेको बताउदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नगरपालिकाले सबै किसिमका प्रयास गरिरहने बताउनु भएको छ ।

यस्तै गरी कार्यक्रममा नगर उपप्रमुख उमा अधिकारीले सबैको साझा प्रयासबाट नगरपालिका उत्कृष्ट भएको बताउनु भएको छ । उहाले पछिल्लो समय नकारात्मकता बढिरहेको जनाउँदै यसलाई रोकेर सकारात्मकतामा ध्यान दिनुपर्ने उल्लेख गर्नु भयो । उहाले नगरपालिकाले हरेक क्षेत्रलाई प्राथमिकता दिएर काम गर्दै आएको जोड दिनु भयो ।


कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगर प्रवक्ता एवम वडा नम्बर ४ का वडाध्यक्ष मुक्तिनाथ यादव भोला, निमित्त प्रमुख प्रशासकीय अधिकृत चेतनशील लम्साल, नेपाली कांग्रेसका नगर सभापति कोसिस बहादुर खडका, राष्टिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष पर्शुराम पराजुली, सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्य, उद्योग ब्यापार संगठन रुपन्देही अध्यक्ष दर्पण श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष कुल प्रसाद न्यौैपाने, नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलिप भट्टराइलुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी लगायतले शुभकामना मन्तब्य राख्दै नगरको बिकासमा एकजुट भएर अगाडी बढन सबैमा आग्रह गर्नु भएको थियो । कार्यक्रममा नगरवासी , १ देखी १३ नम्बर सम्मका वडाध्यक्ष कार्यपालिका सदस्य लगायत सरोकार वाला निकायहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२५-०४-१४ , समय : १५:५५:५६ , २ दिन अगाडि

error: कोपि गर्न पाइदैन