बेलहिया नाकालाई व्यवस्थितीकरण गर्न नगरप्रमुख सहित सुरक्षा प्रमुखहरुको टोलि बेलहिया नाकाको निरीक्षणमा

रुपन्देही खबर , ५१८  पटक हेरिएको

भैरहवा , साउन ६

 

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खान सहित सुरक्षा प्रमुखहरुले बेलहिया नाकालाई व्यवस्थितीकरण र कोभिड संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नाकाको निरीक्षण गरेका छन् । नगर प्रमुख सहित रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नेपाल प्रहरीका एसपी रविन्द्र रेग्मी, सशस्त्र प्रहरीका एसपी गगन श्रेष्ठ र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय उप–अनुसन्धान निर्देशक रमेशचन्द्र यादव लगायतले बेलहिया नाकाको निरीक्षण गरेका हुन ।

 

कोभिड संक्रमणको ग्राफ बढ्दो अवस्थामा देखिएकोले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नाकामा एन्टिजन, पिसिआर परिक्षण, व्यवस्थित होल्डिङ सेन्टरको निर्माण, क्वारेन्टाइन लगायतको आवश्यक तयारीका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

 

त्यस्तै पैदलमार्ग हुदै मुलुकमा सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकालाई ब्यवस्थित गरी सुन्दरीकरणका लागि समेत निरीक्षण गरिएको थियो । ‘नाकाको अवस्थाले मुलुकको अवस्था नै दर्शाउने भएकोले बेलहियालाई सुन्दरीकरण गर्न निकै आवश्यक रहेकोे सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख ईस्तियाक अहमद खानले बताउनु भएको छ । उहाले नाकामा रहेकोे पार्किङ, बसपार्क, शौचालय, सडक, यत्रतत्र छरिएका व्यवसायको लगायत व्यवस्थापन गरिने बताउनु भयो ।

 

पर्यटकलाई मुलुकमा स्वागतका लागि बेलहिया नाकामा पर्यटकहरुलाई गुलाबको फुल दिएर स्वागत गर्ने योजना रहेको नगर प्रमुख खानले बताउनु भएको छ । उहाले सवारी साधन सहित भ्रमणका लागि आउने भारतीय पर्यटकलाई सवारी साधनको सुविधा÷भन्सारका लागि भन्सार कार्यालयमा सास्ती खेप्नु पर्ने भएकोले सहजताका लागि भन्सार कार्यालय काउन्टर थप गरिने समेत जानकारी दिनु भयो ।

 

उहाले मुलुकमा पैसा खर्च गर्नका लागि पर्यटकहरु नेपालमा आउने गरेको तर गाडीको सुविधा भन्सारका लागि उनीहरुलाई सास्ती खेप्नु परेको गुनासो आएको समेत बताउनु भयो । पर्यटकहरुलाई हामीले स्वागत गर्नुपर्नेमा सास्ती दिइरहेका छौँ, त्यसैले भन्सारमा काउन्टर थपका लागि आग्रह गरेका छौँ खानले भन्नु भयो ।

 

हाल भन्सार कार्यालयमा गाडीको सुविधा भन्सारका लागि दुई वटा काउन्टर रहेकोमा संख्या बढाएर ५ पुर्याउन आग्रह गरिएको छ । वर्षौ देखि निर्माणधिन अवस्थामा रहेको सडकलाई छिट्टै नै सम्पन्न गर्न आग्रह गरिएको र सडक सम्पन्न भएलगत्तै नगरका योजनाहरु अघि सार्ने बताइएको छ ।

 

यसका साथै कोभिडको बढ्दो संक्रमणलाई हेरेर सीमाको ब्यवस्थापन चुस्त बनाईने नगरप्रमुख खाँनले बताउनु भएको छ । उहाले अहिले तेश्रो मुुलुकबाट आउने पर्यटकहरु न्यून रहेको हुदा भारतीय पर्यटक र भारतबाट काम गरि फर्किने नेपालीहरुलाई लक्षित गरि चेकजाँचलाई तिव्र बनाउने बताउनु भयो ।

प्रकाशित मिति: २०२२-०७-२२ , समय : २१:१२:२५ , २ वर्ष अगाडि