रुपन्देही खबर , ८३ पटक हेरिएको

मणिग्राम, फागुन २८
रूपन्देहीको तिलोतमा ८ सूर्यपुरा स्थित विन्ध्यवासिनी मन्दिर क्षेत्र विकास समितिले सञ्चालन गरेको महायज्ञ विशेष बनिसकेको भन्दै आयोजकले हर्ष व्यक्त गरेका छन् । गत बिहीबार देखि शुरू भएको महायज्ञमा अपेक्षाभन्दा बढी भक्तजन र दान समेत विशेष संकलन भएको मूल आयोजक समितिका अध्यक्ष तुल्सीराम खरेलले जानकारी दिनुभयो ।
मंगलबार छैटौं दिनसम्म सयौं भक्तजंंनबाट पच्चीस लाख रूपियाँ भन्दा बढी नगद मात्रै संकलन भैसकेको आयोजक समितिका अर्थ सचिव केशव न्यौपानेले बताउनुभयो । तण्डुलाचल अर्थात् चामलको पर्वत बनाउने महायज्ञ भएका कारण चामल सहित अन्य विविध जिन्सीको हिसाब पछिमात्र गरिने मूल समितिका उपाध्यक्ष शान्ता बस्यालले उल्लेख गर्नुभयो । महायज्ञ आयोजकले चारनम्बरबाट सूर्यपुरासम्म निःशुल्क ई–रिक्सा समेत सञ्चालन गरेपछि टाढा–टाढाका जेष्ठ नागरिक समेतको आकर्षण बढेको मूल समितिका सचिव कृष्ण तिवारीले बताउनुभयो ।
महायज्ञ अन्तर्गत भोलि (२९ गते) पूर्णिमाका दिनमा लक्ष्यवर्ती र चौरासी पूजाका लागि भक्तहरूको दर्ता समेत उत्साहजनक भएको आयोजकले बताएका छन् ।
विहानमा सञ्चालन हुने योग, दिउँसोको कथा प्रवचन र साँझको श्रृंगारिक महाआरतीमा गरी एकै दिनमा हजारौं भक्तजनको अपार उपस्थिति हुने गरेको हो । महायज्ञका प्रमुखवाचक आचार्य चैतन्य कृष्ण प्रभुले मानव, अन्य प्राणी र समस्त पर्यावरणीय चक्रलाई सन्तुलनमा राख्न र मोक्षप्राप्तिका लागि समेत महायज्ञको वैज्ञानिक महत्व रहेको उल्लेख गर्नुभयो । साथै, प्रभुले आधुनिक विज्ञान समेत महायज्ञको विज्ञानका अगाडि नतमस्तक रहेको उल्लेख गर्नुभयो ।
प्रकाशित मिति: २०२५-०३-१२ , समय : ०७:५८:४० , १४ घन्टा अगाडि