प्रकृती लम्साललाई न्याय दिनुपर्ने माग गर्दै सिद्धार्थ सञ्जाल रुपन्देहीद्वारा भैरहवामा विरोधसभा

रुपन्देही खबर , २२५  पटक हेरिएको

भैरहवा,  फागुन १०

सिद्धार्थ सञ्जाल रुपन्देहीले भारतमा ज्यान गुमाएकी  भैरहवाकी विद्यार्थी प्रकृति लम्साललाई न्याय दिनुपर्ने माग गर्दै शुक्रबार भैरहवामा शान्तिपूर्ण विरोध सभा गरेको छ । सिद्धार्थ सञ्जाल रुपन्देहीको अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षतामा बिरोध प्रदर्शन सहित  रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाइएको  छ ।


भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ बैंक कलोनी निवासी  २० वर्षीय लम्साल होस्टेलमा  मृत भेटिएकी थिइन् । उनको रहस्यमय मृत्यु भएकाले निष्पक्ष छानबीन गर्नुपर्ने र दोषीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग गरिएको छ ।  भैरहवाको देवकोटा चोकमा जम्मा भएका स्थानीय बासिन्दा र उद्योगी–व्यवसायीहरुले बैंकरोड, मिलनचोक हुँदै जिल्ला प्रशासनसम्म र्‍याली निकालेका थिए । उनीहरुले प्रकृतिलाई न्याय दिनुपर्ने माग गरेका छ्न । व्यवसायी विजय पाण्डेले कुनै पनि बहानामा अनुसन्धान प्रभावित हुन नहुने जनाउँदै त्यसका लागि नेपाल सरकारले पहल गर्नुपर्ने माग गर्नु भएको छ ।

प्रकृतिको न्याय माग्दै जिल्ला प्रशासन कार्यालय पुगेका उनीहरुले दुई देशको सम्बन्ध प्रगाढ पारौं, दोषी उपर कारवाही गर, केआईआईटी विश्वविद्यालयमाथि छानबीन गर, पीडित परिवारलाई क्षतिपूर्ति देउ, नेपाली विद्यार्थीलाई शान्तिपूर्ण रुपमा पढ्ने व्यवस्था गर, मानवअधिकारको सम्मान गर लगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।

र्‍यालीमा चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) सिद्धार्थ होटल संघ नेपाल, जेसीआई सिद्धार्थ नेपाल, जेसीआई सिद्धार्थ लेडी नेपाल लगायत विभिन्न संघ–संस्थाका साथै स्थानीयबासीको सहभागीता थियो ।

र्‍यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेका उनीहरुले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै सरकारले प्रकृतिको न्यायका लागि पहल गर्नुपर्ने माग गरेका छ्न । प्रजिअ घिमिरेले घटना घटेको जानकारी पाउनेबित्तिकै सरकारले पहल थालेको बताउनु भएको छ  । उहाले न्यायका लागि सरकारले निरन्तर पहल गरेको र अब पनि गरिरहने  बताउनु भएको छ ।

प्रकाशित मिति: २०२५-०२-२२ , समय : १४:११:४० , २ दिन अगाडि