उर्मिला यादव , १६१ पटक हेरिएको

भैरहवा, फागुन ८
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ लुम्बिनी प्रदेशले रुपन्देहीको भैरहवामा प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्ने जनाएको छ । आज भैरहवामा पत्रकार सम्मेलन गर्दै महासंघले यही फागुन ९ र १० गते भैरहवामा लुम्बिनी प्रदेश भित्रका जिल्ला प्रतिनिधी क्षेत्रिय प्रतिनिधी, लुम्बिनी प्रदेश केन्द्रिय सदस्य र प्रदेश कार्यसमितीको क्षमता अभिबृद्धि एवम शसक्तिकरण प्रदेश प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्ने भएको हो ।
पत्रकार सम्मेलनमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ केन्द्रिय समितीका अध्यक्ष ओमबहादुर घर्र्तीमगरले भैरहवामा भोलि बिहान ८ बजे देखी सुरु हुने प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको नेपाल सरकारका पुर्व उप्रधानमन्त्री,नेपाली कांग्रेसका उपसभापति एवम नेपाली कांग्रेस केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पुर्ण बहादुर खड्काले उदघाटन गर्ने बताउनु भएको छ ।
उहाले लुम्बिनी प्रदेशका सबै जिल्लाबाट २ सय प्रशिक्षार्थी र ७ जना प्रशिक्षकले कार्यक्रमको सहजीकरण गर्ने जानकारी दिनु भएको छ ।महासंघका केन्द्रिय अध्यक्ष घर्तीमगरले प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्नुको मुख्य उदेश्य नै महासंघका सदस्यहरुमा कर्मशीलता र उद्यमशीलता बिकास गरी आत्मनिर्भर र स्वरोजगार बनाउदै नेपाली कांग्रेसलाई अझ सबल र लोकप्रिय बनाउने रहेको बताउनु भयो ।
उहाले यस प्रशिक्षण कार्यक्रमले महासंघका सम्पुर्ण सदस्यहरुबिच भावनात्मक एकताको बिकास गराउदै अनुशासित, मर्यादित र राजनितिक संस्कारयुक्त बन्न प्रेरित गर्ने बिश्वास ब्यक्त गर्नु भयो ।
यस्तै गरि नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष नर बहादुर थापा (सुरज) ले पहिचान, पहुँच र प्रतिनिधित्व संगठन, व्यवस्थापन र प्रशिक्षण’ भन्ने मूल नाराका साथ कार्यक्रम हुन लागेको बताउनु भएको छ । उहाले प्रशिक्षण कार्यक्रमले समसामयिक ,राजनितिक , आर्थिक सामाजिक अवस्थाहरु सहित अन्तर्राष्ट्रिय घटनाहरुबारे सुसुचित गराउदै महासंघका सदस्यहरुलाई अध्ययन , अनुसन्धान तथा प्रतिवेदन लेखन कला सिकाउन समेत मदत पुग्ने बताउनु भएको छ ।
पत्रकार सम्मेलन कार्यक्रममा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष माया पुन , नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ लुम्बिनी प्रदेशका पदाधिकारी लगायत सरोकारवाला ब्यक्तित्व लगायतको सहभागीता रहेको थियो ।
महासंघले प्रदेश,जिल्ला ,पालिका र वडा तहसम्म आदिवासी जनजाती जागरण अभियान मार्फत प्रशिक्षण कार्यक्रम संचालन गर्दै आएको छ ।
प्रकाशित मिति: २०२५-०२-२० , समय : १९:२५:१८ , ४ दिन अगाडि