गैडहवामा महिलाहरुलाई सीप प्रदान गरी होमस्टे कार्यक्रम सञ्चालन गर्ने तयारी

रुपन्देही खबर , १३९  पटक हेरिएको

भैरहवा, फागुन २

रुपन्देहीको गैडहवामा महिलाहरुलाई सीप प्रदान गरी होमस्टे (घरबास) कार्यक्रम सञ्चालन गर्ने तयारी भएको छ । पर्यटन प्रवद्र्धन तथा दीगो आर्थिक विकास र रोजगार सिर्जना गर्ने उद्देश्यसहित महिलाहरुलाई सीप प्रदान गरी घरबास सञ्चालनको तयारी गरिएको हो ।

सोही योजनाअनुसार मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत महिलाहरुका लागि होमस्टे सञ्चालन, व्यवस्थापन तथा कुक तालिम सम्पन्न भएको छ । गैडहवा–४ मा अवस्थित गैडहवा ताललाई आन्तरिक तथा बाह्य पर्यटक लक्षित होमस्टे (घरबास) कार्यक्रम सञ्चालन गर्ने उद्देश्यसहित स्थानीय उत्पादन र परम्परागत परिकारहरुलाई प्रवद्र्धन गर्ने गरी तालिम सञ्चालन गरिएको हो । तालिममा सिकेका सीपलाई प्रयोग गरी महिलाहरुले तयार पारेका विभिन्न परिकारहरुको स्वाद सहित बुधबार विविध साँस्कृतिक कार्यक्रम गरी तालिम समापन गरिएको थियो ।

सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्यालले महिलाहरुलाई सीप र रोजगारसँग जोड्दै दीर्घकालीन आर्थिक गतिविधिमा जोड्ने प्रयास गरिएको बताउनु भएको छ । उहाले पर्यटन विकास र रोजगारका माध्यमबाट आर्थिक रुपमा आत्मनिर्भर बनाउनका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नू भएको छ ।

भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग जोडिएको गैडहवालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि गाउँपालिकाले विभिन्न स्वरोजगारमुलक कार्यक्रमलाई प्राथमिकता दिएको उहाले बताउनु भएको छ । लुम्बिनी आएका पर्यटकलाई गैडहवा ताल तथा यहाँका अन्य पर्यटकीय स्थलहरुमा समेत ल्याउन सकेमा यहाँका जनताले ठूलो आर्थिक लाभ उठाउन सक्ने बताउँदै उहाले सोही अनुसार योजना बनाएर अघि बढेको जानकारी गराउनु भएको छ ।

वडा नम्बर ९ का अध्यक्ष मिना क्षेत्री, ७ का अध्यक्ष लालबहादुर केवट, १ का अध्यक्ष प्रदिप चौधरी, वडा नम्बर ४ का अध्यक्ष सुरेन्द्र सिंह कुर्मी लगायतले बोल्दै गैडहवा ताल र यहाँको सिमसार क्षेत्रको संरक्षण र प्रचारप्रसारमा जोड दिनु भएको छ । होमस्टे सञ्चालन गरी रोजगारीको अवसरलाई दिगोपन र स्थानीय जनतालाई आत्मनिर्भर बनाउन सकिने उनीहरुको भनाइ थियो ।

त्यसै गरी गाउँपालिका योजना शाखा प्रमुख रचना गौतम, लुम्बिनी होटल संघ, नेपालका महासचिव पुरुषोत्तम अर्यालल लगायतले बोल्दै तालिममा सिकेका सीपलाई व्यवहारमा प्रयोग गर्न जोड जोड दिनु भएको छ ।
लुम्बिनी घुम्न आउने पर्यटकलाई गैडहवासम्म आउने वातावरण निर्माणका लागि सरकारसँगै स्थानीयको समेत भूमिका महत्वपूर्ण हुने भएकाले पर्यटन संस्कृतिको विकासमा जोड दिनु भएको छ ।

गैडहवा गाउँपालिकाको आर्थिक सहयोग तथा सशक्तिकरण विकास नेपाल पाल्पाको आयोजनामा सञ्चालन गरिएको तालिममा गैडहवाका ३० जना प्रशिक्षार्थीहरुको सहभागीता थियो । स्थानीय परिकार र परम्परालाई प्रवद्र्धन गरी पर्यटक भित्र्याउन सकिने बताउँदै सशक्तिकरण विकास नेपालकी अध्यक्ष एलिजा खनालले आर्थिक गतिविधिमा जोडिन आग्रह गर्नू भएको छ ।

 

प्रकाशित मिति: २०२५-०२-१४ , समय : ०९:५७:४४ , ४ हप्ता अगाडि