ओमसतियामा फागुन १ गते देखी ६ गतेसम्म एच.पि.भी. खोप लगाइदै

उर्मिला यादव यात्री , १८१  पटक हेरिएको

भैरहवा, माघ २०

रुपन्देहीको ओमसतिया गाउपालिकामा एक हजार पाच सय २५ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एच.पि.भी.) खोप लगाइदै छ । आज आइतबार ओमसतिया गाउपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी. खोप अभियान २०८१ अन्र्तगत पालिका स्तरीय खोप समन्वय समितीका पदाधिकारीहरु, प्र.अ.को लागी अभिमुखीकरण तथा पत्रकार एवम संचारकर्मीहरु बिच भएको अन्तरक्रिया गोष्ठीमा ओमसतिया गाउपालिकामा फागुन १ गतेदेखि ६ गतेसम्म खोप लगाइने ओमसतिया गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक ज्ञवालीले जानकारी दिनु भएको छ । उहाले कक्षा ६ देखी १० सम्मका छात्राहरु र बिद्यालय नजाने १० बर्षदेखी १४ बर्ष उमेर समुहका किशोरीहरु नछुट्ने गरी खोप अभियान सञ्चालन गरिने बताउनु भएको छ ।

गाउपालिकामा रहेका कक्षा ६ देखी माथिका बिद्यालयमा खोप केन्द्र संचालन गरी बिद्यालयका छात्राहरु एक हजार २ सय ६५ जना र बिद्यालय नजाने २ सय ६० जना गरी एक हजार पाच सय २५ जना किशोरीहरुलाई एच.पि.भी.खोप लगाइदैछ । एच. पि. भी. खोप अभियान–२०८१ अन्तर्गत ओमसतिया गाउपालिकामा स्वास्थ्यकर्मी ६२ जना र आवश्यकता अनुसार पालिका तथा वडाका जनप्रतिनिधीहरुलाई समेत खटाइने ज्ञवालीले बताउनु भयो ।

जसका लागी विद्यलायका प्रधानाध्यापक, शिक्षक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि लगायत संग अभिमुखिकरण गर्ने काम सम्पन्न भईसकेको ओमसतिया गाउपालिकाका स्वास्थ्य शाखाले जानकारी दिएको छ । पालिका स्तरीय र वडा स्तरीय खोप समन्वय समिति मार्फत कोहि पनि खोप अभियानमा नछुटुन् भन्ने उदेश्यले प्रचारप्रसार भईरहेको र सामुदायिक महिला स्वास्थ्य स्वंयमसेविका घर घरमा पुगेर समेत खोप अभियानमा छुटेका किशोरीहरुलाई सामेल गराउने गरी तयारी भईरहेको ओमसतिया गाउपालिका अध्यक्ष मन्जित कुमार यादव सोनु ले जानकारी दिनु भएको छ ।

कार्यक्रममा गाउपालिकाका शिक्षा शाखा प्रमुख हरि प्रसाद पोखरेलले बोल्दै एच.पि.भी.खोप अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिनु भएको छ । उहाले खोपबारे अभिभावकलाई सचेतना प्रदान गर्नुपर्नेमा जोड दिदै नेपाल सरकारले देशव्यापी रुपमा एच.पि.भी. खोप अभियान सञ्चालन गरिरहेको बताउदै यो अभियानका लक्षित वर्गलाई नछुटाउन सम्पुर्ण क्षेत्रको महत्वपुर्ण भुमिका रहेकोले सबै वर्र्ग र समुदायले यो अभियानलाई सफल बनाउन आग्रह गर्नु भएको छ ।

कार्यक्रममा ओमसतिया गाउपालिकाका उपाध्यक्ष सुनिता चौधरी, पालिकाभित्र रहेका बिद्यालयका प्रधानाध्यापक, पालिकास्तरीय खोप समन्वय समितीका सदस्यहरु लगायत सरोकारवाला निकाय तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन ओमसतिया गाउपालिकाको नर्सिंग अधिकृत सस्मिता खत्रीले गर्नु भएको थियो ।

नेपालमा हरेक बर्ष २ हजार एक सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको अनुमान गरिएको छ भने हरेक बर्ष १ हजार ३ सय ९३ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ । जस अनुसार औसतमा प्रत्येक दिन ४ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर बाट मृत्यु हुन्छ । महिलाहरुमा हुने क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको छ भने क्यान्सरबाट महिलाको मृत्यु हुने यो पहिलो मुख्य कारण रहेको बताइएको छ ।

प्रकाशित मिति: २०२५-०२-०२ , समय : २२:४२:५२ , ३ दिन अगाडि