रुपन्देही खबर , ११६ पटक हेरिएको
सुनवल, माघ १०
पश्चिम नवलपरासीको सुनवलमा बुधबारदेखि विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रयितोगिता शुरू भएको छ । सुनवल नगरपालिकाको आयोजना र रमवापुर माध्यामिक विद्यालयको व्यवस्थापनमा सुरू भएको प्रतियोगिताको समुद्वघाटन गर्दै लुम्विनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले फुटबल खेलले खेलाडीको कार्यकौशलता प्रदर्शन गर्नुका साथै उत्कृष्ट खेलाडीले राम्रो आम्दानी गर्न सफल हुने बताउनुभएको छ ।
उहाँले खेल राष्ट्रकै गहना भएकोले खेलाडीलाई प्रेरित गरि राख्न र राष्ट्रले राम्रो खेलाडी जन्माउन पनि खेलमा लगानी आवश्यक रहेको टिप्पणी गर्नुभयो । मुख्यमन्त्री आचार्यले सुनवल नगरपालिकाको भौगोलिक बनोट , जनघनत्व र आवश्यकता अनुसार प्रदेशले छुट्टाएको बजेट कम नभएको भन्दै आवश्यकतालाई ध्यानमा राखेर बजेटमा कुनै कन्जुस्याइँ नगर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत विद्यालय गरी २१ विद्यालयबाट चालु शैक्षिक सत्रमा कक्षा ९ देखि कक्षा १२ सम्म नियमित अध्ययन गरिरहेका ४ सय देखि ४५० जना विद्यार्थीहरुको सहभागीता रहेको छ । सुनवल नगरपालिका वडा नम्बर ४ स्थित रमवापुर माविको खेल मैदानमा सुरू भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा छात्र छात्राको भलिवल, कबड्डी, १ सय देखि ४ हजार मिटर सम्मको रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ्ग थ्रो, सटफूट र मार्सल आर्ट तर्फ , कराते लगायतका खेल सञ्चालन गरिने खेल संचालन समितिका संयोजक एवं रमवापुर माविका प्रधानाध्यापक धुर्वराज घिमिरेले बताउनुभयो ।
उद्वाटन कार्यक्रममा प्रमुख अतिथिलाई सलामी अर्पण गरिनुको साथै विद्यार्थीद्वारा मार्सपाच गरिएको थियो । शिक्षक कृष्णप्रसाद लामिछानेको संचालक र विद्यालयका प्रध्यानाध्यापक धुर्वराज घिमिरेको स्वागत रहेको कार्यक्रममा पूर्व मन्त्री तथा लुम्बिनी प्रदेश सांसद खड्ग बस्नेत, जिल्ला समन्वय समिति प्रमुख भगौती यादव( रूदल ) , सुनवल नगरप्रमुख विमला अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२५-०१-२३ , समय : १०:०२:२८ , २ हप्ता अगाडि