शिक्षा र रोजगारीमा जोडिदै मधेशी महिला,घरदेखि समुदायमा परिवर्तनका संकेत

उर्मिला यादव , ५५२  पटक हेरिएको

भैरहवा, माघ ८

साधना बनिया पशु प्राबिधिक हुन । सियारी गाउपालिका २ मा जागिरे उनलाई पशुपंक्षीको उपचार र रेखदेखमा भ्याइ नभ्याइ छ । उनी कहिले पशुपंक्षीको उपचार गरेको भेटिन्छिन त कहिले भ्याक्सिन लगाइदिदै गरेको देखिन्छिन । साधनाको काम धेरै किसानले चित्त बुझाएका छन । साधना प्राबिधिक नै भए पनि किसानहरुले डाक्टर भनेर बोलाउन लागेका छन । साधना किसानको मायाले थप उत्साहित छिन । काममा भ्याइनभ्याइ छ । किसानहरुले असाध्यै माया गर्नुहुन्छ । टाढा टाढा सम्म बोलाउनुहुन्छ बनियाले भनिन ।

बनियाले गाउले किसानको बिश्वास जित्न कम्ता कोसिस गरिनन् । सुरु सुरुमा महिला त्यसै माथि मधेशी मुलकी उनलाई पशु प्राबिधिक भनेर कसैले पत्याएनन । किसानहरु पशुपंक्षी बिरामी भएर आउदा मधेशी महिला देखेपछि कतिले उपचार नै नगरी लैजान्थे । कतिले तपाई जान्नुहुन्छ र भनेर प्रश्न पनि गर्थे । मधेशी महिलाले पशुको उपचार गर्छन र भन्ने सोचले होला । भ्याक्सिन लगाउन खोज्दा कतिपय किसानले जान्नुहुन्न होला ,सरलाई बोलाम भनेर पनि रोक्थे ,मैले सक्छु । हजुरहरु चिन्ता नलिनुस् भनेर खुरुखुरु काम गर्थे, साधनाले भनिन् तर अहिले त्यस्तो छैन । मेरो मेहनतले किसानहरुको मन जितेको छु । साधना रुपन्देहीको सियारी गाउपालिका –२ सेमरामा जन्मेकी हुन । उनको परिवारमा सबै पढेलेखेका छन । माइली छोरीको रुपमा रहेकी बनियाले पशु प्राविधिकसंगै विज्ञान संकायमा कक्षा १२ पास गरेकी छन । अहिले लोकसेवाको तयारीमा छिन । लोकसेवाको तयारीसंगै पढाइलाई निरन्तरता दिदै अगाडी बढने उनको सोच छ ।

मधेशी समुदायमा अझै पनि छोराछोरी बिच धेरै बिभेद छ । छोरीलाई पढाउनु हुन्न भन्ने समाजमा अहिलेका पुस्ता मात्रै बिद्यालय जान पाएको छ । जागिर खाने पुस्ता पनि पहिलो हो । यही कारण घरपरिवार देखि समाजसम्म मधेशी मुलका महिलाको काम र ब्यवहारमा धेरैको नजर छ । यद्यपि कडा मेहनत र लगनका साथ युवा महिलाहरुले आफनो करियर बनाइरहेका छन । बबिता यादव रोहिणी गाउपालिकाको न्यायिक शाखा प्रमुख हुन । उनी खरिदार पदमा छिन । गाउपालिका भित्र आएका बिभिन्न किसिमका न्यायिक बिषयका काम सुल्झाउनमै ब्यस्त छिन ।
रुपन्देही ओमसतिया ६ नरयनापुरकी बबिताको जन्म रोहिणी गाउपालिका वडा नम्बर ४ सेमरहनामा भएको हो । उनले विवाहअघि नै स्नातकसम्म अध्ययन गरेकी थिइन् । खरिदारमा नाम पनि निकालेकी थिइन् । यसपछि २५ बर्षको उमेरमा मात्र बिवाह गरेकी थिइन् । उनका श्रीमान पनि सरकारी जागिरे हुन । उनी लुम्बिनी सांस्कृतिक नगरपालिकामा अधिकृत छैठौ स्तरमा इन्जिनियर छन । बबिताको काममा घर माइत जताततैको समर्थन छ । “आफ्नो समुदायबाट म जस्ता महिला खासै नहुने भएर होला कुनै कार्यक्रमहरुमा सहभागी हुदा मधेसी समुदायकी महिला भनेर आफनो उदाहरण दिदा निकै खुसी लाग्छ । अब हामी पनि सक्षम हुन लाग्यौं है जस्तो लाग्छ ।” उनले सुनाइन् ।
बबिता सरकारी जागिरसंगै अहिले भैरहवा बहुमुखी क्याम्पसमा डिग्री पढ्र्दैैछिन । उनी एक सन्तानकी आमा पनि हुन । परिवारमा सासु ससुरा, श्रीमान, देवर, नन्द र एक छोरी गरी सात जनाको परिवार छ । बबिता त्यो गाउबाट सरकारी जागिर गर्ने पहिलोे महिला हुन । उनी सरकारी नोकरीमा भएर होला परिवारमा सबै खुसी र उनलाई सबैले साथ र सहयोग गर्दै आएका छन । “आफनो घरपरिवार एकदमै बुझने र सबै परिवार नै साथी जस्तै भएकोले काम गर्न र पढनमा धेरै सहज भएको छ। “ बबिता सुनाउछिन् । उनको प्रमुख प्रशासकिय अधिकृत बन्ने लक्ष्य छ । बबिता भन्छिन “गाउमा अझै पनि मधेसी समुदायको युवती घरबाहिरको काम गरेको राम्रो मान्दैनन् । तर, मेरो सरकारी नोकरी भएर होला । कसैले नराम्रो भन्नुभाछैन ।”

बबिता सरकारी जागिरे भएर होला बिहे गर्ने बेलामा दाइजो माग पनि गरिएन । समाजमा दाइजो प्रथाले जग बसालेका बेला उनी आफ्नो परिवारको इच्छाले सामान्य विवाह गरिन । मधेशी समुदायका महिलामा जागिर खाने र सामाजिक क्रियाकलापमा लाग्नेको संख्या पछिल्लो समय बढदै गएको छ । छोरीलाई पनि पढाउनु पर्छ भनेर धेरै जनचेतना फैलाएकाले बल्ल छोरीहरु पढ्न र अगाडि बढन पाएको बबिता बताउछिन । “यद्यपि मधेसी समुदायमा जति शिक्षाको स्तर बढदै गएको छ त्यही हिसाबमा दाइजोको माग पनि बढदै गरेको छ यो गलत छ । अब पढेका छोरीलाई झन धेरै दाइजो दिनुपर्ने प्रथा मधेशी समुदायबाट हटाउनै पर्छ । बल्ल सबै छोरीहरुले पढ्न र अगाडि बढ्न पाउनेछन् ।“ बबिताले सुनाइन् ।

बबिताका श्रीमान आशिष कुमार यादव आफु सरह श्रीमती पनि सरकारी जागिरे हुदा एकदमै खुसी छन् । गौरव पनि उत्तिकै गर्छन् । उनी भन्छन् ‘ म एकदमै भाग्यमानी छु कि हामी दुबै जना सरकारी जागिरे छौ । अरुले कहा तिमी जस्तो पढेलेखेको पाएका छन । समाजमा मिलेर राम्रो काम गरेर उदाहरणीय ब्यक्तित्व बन्ने दुवैजनाको सपना छ ।’

मधेशी समूदायमा केही वर्षअघिसम्म छोरीहरु घरबाहिर निस्कदा दाजुभाइ वा बुवालाई साथ लिएर जानुपथ्र्यो । अहिले निर्धक्क सामाजिक क्रियाकलापमा लाग्ने युवा महिलाहरु बढदै गएका छन् । सामाजिक अभियन्ताका कुरा गर्दा सुनिता हरिजन अगाडि छन् । जो किशोरी अधिकार मञ्च रुपन्देहीकी जिल्ला अध्यक्ष हुन । सुनितालाई किशोरीहरुको हकअधिकारको क्षेत्रमा काम गरिरहदा फुर्सद नै छैन । बिहान होस वा साझ जति बेला किशोरीहरुलाई समस्या परेपनि उनी समस्या सुल्झाउन जान्छिन् ।

 

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ मुजहनाकी सुनिता अहिले समाजको उदाहरणीय ब्यक्तित्वको रुपमा चिनिदै आएकी छिन । कुनैबेला घरबाहिर निस्कन नपाउने उनी अहिले कामको सिलसिलामा नेपाल भारत लगायतका जुन ठाउमा जानुपरे पनि घरपरिवारबाट सहयोग पाएकी छन् । उनी किशोरी समूहकी अध्यक्ष हुन् । समूहमा १२ देखि २२.वर्षसम्मका किशोरी आवद्ध छन् । जिल्ला, स्थानीय तह र वडास्तरीय गरी १ हजार ६ सय जना सदस्यले काम गर्छन् । अभियानका कामले रुपन्देही, नेपाल र भारतका बिभिन्न ठाउमा पुगेकी छन् । किशोरीका तर्फबाट सरकारलाई माग पत्र बुझाएकी छन् ।

२१ वर्षिय सुनिता हाल लुम्बिनीमा रहेको खुदाबगर आर्दश कलेज लुम्बिनीमा स्नातकमा कानुन पहिलो बर्षमा अध्ययनरत छिन । पढाइ खर्च जुटाउन युरोपियन युनियनको साझेदारीमा युथ साउन्डीङ बोर्डद्धारा संचालित गैरसरकारी सस्थामा कार्यरत छिन । त्यहा लुम्बिनी प्रदेशमा रहेका युवाहरुको अवस्था र उनीहरुले गर्दै आएका काम , बैदेशिक रोजगारीमा रहेका युवाहरु स्वदेशमा आएर के गर्दैछन भन्नबारे तथ्यांक संकलन गरी काम गर्नुपर्छ । सुनितालाई पढेर अधिवक्ता बन्ने लक्ष्य छ । किशोरीहरुको हकअधिकार क्षेत्रमा काम गर्दै गर्दा कानुनी बिषयमा बिभिन्न किसिमका समस्याहरु झेल्नु परेकाले कानुनी बिषयमा दक्ष अधिवक्ता बन्ने र समाज सेवा गर्ने उनको लक्ष्य छ ।

सुनिता सजिलै त्यहा पुगेकी भने होइनन् । धेरै समस्या, चुनौती र बिभेदहरुलाई पार गर्दै त्यहा पुगेकी हुन् । संघर्ष मात्र गर्नु परेन समाजको तिरस्कार र बिभेद पनि उत्तिकै सहनु पर्याे ।सुनिता वि.स. २०७५ बाट किशोरी समूहमा आवद्ध सुनिताप्रति समाजको हेराइ सकरात्मक थिएन । सुरुमा घरबाट बाहिर निस्कन एकदमै गाहो भयो । फिल्डमा काम गर्दा पनि परिवारबाट मात्र नभइ समाजको दबाब पनि उत्तिकै थियो । जहा भए पनि साझ ५ बजेभित्र घर पुग्नै पर्ने बाध्यता थियो । “छोरी मान्छेलाई परिवारले किन बाहिर निकाल्दै छ ? छोरीलाई केटाको जस्तो ब्यवहार किन सिकाइ रहेको छ ? कहिले तालिम कहिले कार्यक्रममा भनेर यसको छोरी होटेलमा जान्छ । के के गर्छहोला भनेर समूदायले कुरा मात्र काटेन धेरै तिरस्कार र बिभेद पनि सहनु परेको थियो । “ सुनिता विगतका अनुभव सुनाउछिन् ।

किशोरी संजालको अध्यक्ष भएपछि पनि समाजमा भएका घटनाहरुबारे बोल्दा छोरी मान्छे हो धेरै नबोल, आफुलाई पर्दा सघाउने कोही हुदैन भनेर सम्झाउने धेरै हुन्थे । सुनिता आफनो बिगत सम्झदा भक्कानीन्छिन् । उनी भन्छिन, “केयर नेपालले चलाएको उडान कार्यक्रममा सहभागी हुन नपाएको भए आज म के हुन्थे मलाई नै थाहा छैन । “ सुनिता मधेशी समुदायको दलित परिवारको हुन । सुनिता ४ दाजुभाइ र तीन दीदीबहिनी मध्ये कान्छी छोरी हुन । परिवारमा कोही पढे लेखेको छैन । सुनितालाई पनि सानै उमेरमा विवाह गर्न भन्दै कक्षा ६ कक्षा पढदा विद्यालय छुटाइएको थियो । तर केयर नेपालको उडान कार्यक्रममा सहभागी भएर पुन २ बर्षपछि पढाइलाई निरन्तरता दिन पाइन् । संर्घषको फल मिठो हुन्छ भनेजस्तै घरबाट बाहिर जान नदिने सुनिताको परिवारले अहिले हरेक समाजिक काममा अग्रसर हुन प्रेरणा दिन्छ । आफ्नो नामबाट गाउ र परिवार चिनिदा उनीमा खुसीको सीमा नै छैन ।

अहिले लुम्बिनीमा सुनिता जस्तै कयौं किशोरीहरु बाहिर निस्कन थालेका छन । उनीहरुले आफनो बालबिवाह तोडदै अहिले पढाइमा जोडिन थाल्नु नै ठुलो उपलब्धी भएको सुनिताको भनाइ छ । ग्रामिण भेगमा अझै पनि मधेशी समुदायका छोरीहरुलाई घरवाहिर जान रोक छ । छोरीलाई पढाउन थालेपछि युवा महिला केही घरबाहिर निस्कन थालेका छन। शिक्षा संगै सामाजिक क्रियाकलापमा काम गर्दै आएका युवतीहरुलाई समाजले अझै पनि सहज रुपमा लिन सकेको छैन । तर पछिल्लो समयमा शिक्षित युवतीहरु समाजको कुसंस्कार तोडदै समाजमा भएका विभिन्न विकृतीहरु विरुद्ध आवाज उठाउदै आएका छन ।

सुनौलो नेपाल रुपन्देहीको अध्यक्ष एवं अधिकारकर्मी विजयलक्ष्मी राय भन्छिन्, ‘मधेशी समुदायमा अझै पनि परिर्वतनको आवश्यकता छ । शिक्षा र रोजगारसंगै मधेशमा युवा महिलाले पुरुष सरह काम गर्न सक्छन् भन्ने दृष्टिकोण फेर्नु अझबढी आवश्यकता छ । ’ अधिकारकर्मी रायका अनुसार शिक्षा र रोजगारका लागी मधेशी युवतीहरु समूदायबाट बाहिर आउदा समाजमा कुरा काटने, नराम्रो सोच्ने, बिभिन्न आरोप, प्रत्यारोप लगाउने चलन अझै छ । ‘ युवाहरु एक भएर यस्ता चलन हटाउनु पर्छ । पुरुष युवाले महिला युवालाई आफूसंगै अगाडि बढाउन जरुरी छ ।’
समाजमा शिक्षा र चेतना छर्ने प्रमुख व्यक्ति हुनु् शिक्षक । मधेशी मुलका महिलाहरु शिक्षक बनेको र ज्ञानगुन बाडेको पनि देखिन थालेको छ । सियारी २ भगदरीकी प्रतिमा यादव भगदरी प्राविकी शिक्षक हुन् । उनी निजी श्रोत शिक्षक हुन् । उनी २०८१ साल बैशाख महिनादेखि पढाउन थालेकी हुन् । प्रतिभालाई भविष्यमा सरकारी शिक्षक भएर शिक्षाको ज्ञान बाडनु मात्र नभइ समाज सेवामा लाग्ने लक्ष्य छ ।

२१ बर्षिय प्रतिमा विद्यार्थी समेत हुन । उनी लिलाधर घिमिरे छपिया जनता कलेज छपियामा ब्याचलर दोस्रो बर्षमा अध्ययनरत छिन । बिहान पढ्न जान्छिन् । दिउसो पढाउन । बाकी समय समाजमा चेतना प्रवाह गर्न दिएकी छन् । प्रतिमाको काममा उनी त खुसी नै छन । उनीभन्दा खुसी घरपरिवार छ । प्रतिमाका बुवाले आफनो छोरी प्रति गौरव गर्छन । ब्यापारमा रमाएका उनका बुवा छोरीको ब्यवहार र कामले एकदमै खुसी छन् । उनी प्रतिमालाई राम्रो काम गर्नुपर्छ भनेर सम्झाउने गर्छन । उज्जवल भबिष्यको लागी छोरीले चाहे जति पढाउन तयार छन । ‘प्रतिमालाई उसको चाहना भएसम्म पढाउछु । शिक्षामा अब्बल र आत्मनिर्भर बनाएर मात्र बिवाह गरिदिनेछु ।’ बाबुले सुनाए ।

५ बहिनीमध्ये जेठी छोरी प्रतिमा सानैदेखि जिम्मेवार थिइन् । सानैदेखि आमा बुवालाई काममा सघाउथिन् । यसबाहेक विभिन्न क्लबमा सहभागी भएर छोरीहरुलाई पढाउनुपर्छ भनेर अभियान चलाउथिन् । उनी सियारी २ मा रहेको राप्ती क्लबमा २ बर्ष अध्यक्ष समेत बनिन् । तर, मधेशमा छोरीलाई चेतनाप्रवाह गर्न सजिलो थिएन । प्रतिमा बालक्लबमा रहेर काम गर्दा धेरै आलोचना पनि सहनुपर्याे । “छोरी भएर छोरा जस्तो बन्न खोज्न हुदैन । गाउका छोरीहरुलाई बिगार्न भेला गर्दै हिड्न पाइदैन । छोरी भएपछि घरभित्र बस्न पर्छ । यस्ता धेरै किसिमका कुराहरु सुन्नु परेको थियो । काममा हौसला होइन बाधा थोपरिन्थ्यो ।“ प्रतिभा सुनाउछिन् ।

मधेशी समुदायमा अझै पनि छोराछोरीमा बिभेद भएको प्रतिमा बताउछिन । “मधेसी समुदायमा अझै पनि सानो उमेरमा विवाह, घरेलु हिंसा, कुटपिट, जुवातास लगायत धेरै किसिमका बिकृतीहरुले जरा गाडेर बसेको छ । त्यसको प्रभाव धेरै महिलामा छ । यद्यपि अहिले शिक्षाले गर्दा केही हद सम्म धेरै परिर्वतन आएको छ । “ उनले सुनाइन् । प्रतिमाको घरमा पनि बेलाबेलामा विवाहको कुरा चल्छ । उनले भने डिग्री पढेर र स्थायी जागिर खाएर मात्र बिवाह गर्ने बताएकी छन् । “हामीहरुले नै समाज परिवर्तन गर्ने ?मधेशी समुदायमा यो समस्या छ भनेर होइन अब यो समस्या हटायौं भनेर लाग्नुपर्छ । म यही अभियानमा छु ।“ प्रतिमाले सुनाइन् ।

मधेसी समुदायमा पढेका छोरीहरु रोजगारीमा जोडिन पाएका छन् । धेरै मेहनत गरेर त्यहा पुगेका छोरीहरु कामको परिणाम पनि राम्रो देखाएका छन् । यसले छोराछोरीमा असमान ब्यवहार गर्ने समाज र परिवारले फरक धारणा बनाउन थालेका छन् । यसले मधेशी समुदायका छोरीहरु बाहिर आउन थालेका छन । “पहिले र अहिले छोरीलाई दिने अवसरमा धेरै अन्तर छ ।” शिक्षक पुष्पा यादवले भनिन्, “यो सबै चुनौति चिरेर हामीहरुले गरेको मेहनतले हो ।”सियारी गाउपालिका –३ भैंसाखांदर की पुष्पा ज्ञानोदय आधाभुत विद्यालयमा शिक्षक हुन् । बिगत दुई बर्षदेखि निजी शिक्षकमा कार्यरत छिन ।

२३ वर्षिय पुष्पा बिद्यार्थी पनि हुन । उनी लिलाधर घिमिरे छपिया जनता क्याम्पस छपिया रुपन्देहीमा स्नातक चौथो बर्षमा अध्ययरत छिन । उनी आफनो पढाईको खर्च आफै जुटाउछिन । घरको मुख्य पेशा कृषि हो । उनी खेतीपातीसंगै अध्ययन, अध्यापनलाई निरन्तरता दिदै गइहेकी छिन । पुष्पालाई अझै धेरै पढने मन छ । पुष्पा परिवारमा कान्छी छोरी हुन । पुष्पाको बिहे हुने तयारी भैसकेको छ । तर, विहेपछि पनि आफ्नो काम नछोड्ने सुरमा छिन् । उनी सरकारी शिक्षक भएर काम गर्ने र भबिष्य उज्जवल बनाउने लक्ष्य बोकेकी छन् ।

मधेशमा छोरीहरु शिक्षा र रोजगारमा जोडिन थालेकोमा शिक्षा सेवामा संलग्न अगुवाहरु खुसी छन् । खुदाबगर आर्दश कलेज लुम्बिनीका क्याम्पस प्रमुख रामबली यादवले शिक्षा र रोजगारीमा मधेसी समुदायबाट अगाडी आउनु ठुलो उपलब्धी भएको बताए । ‘अहिले क्याम्पसमा पढने मधेसी समुदायका युवतीहरुको संख्या बढदै छ । मधेशका युवतीमा शिक्षा र चेतना भए समाजको कुरीति र लैंगिक हिंसा घट्नेछ । ’ उनले भने । उनले मधेशी समुदायका युवतीहरु शिक्षा र रोजगारीमा जोडिएसंगै घरदेखि समुदायमा परिवर्तनका संकेत देखिएको दाबी गरे ।
रोहिणी गाउपालिका उपाध्यक्ष शिवकान्ती हरिजनले मधेशी समुदायमा युवतीहरु शिक्षा र रोजगारीमा जोडिनु ठूलो परिर्वतन भएको बताउछिन । “कोही शिक्षक, कोही नर्स, सरकारी नोकरी लगायत बिभिन्न संघ संस्थामा युवतीहरु आवद्ध भएर काम गरीरहेका छन् । यो मधेशमा आएको ठूलो परिवर्तन हो ।” उनले भनिन् ।

नेपालमा २०६५ सालदेखि २०६३ पछि निजामती सेवामा सीमान्तकृत समुदायको प्रतिनिधित्वका लागि आरक्षणको व्यवस्था भयो । आरक्षणका ६ वटा कलस्टर बने  । ती क्लस्टरमा ३३ प्रतिशत महिला, २७ प्रतिशत आदिवासी जनजाति, २२ प्रतिशत मधेशी, ९ प्रतिशत दलित, ५ प्रतिशत अपांगता भएका व्यक्ति र ४ प्रतिशत पिछिडिएको क्षेत्रका व्यक्तिका लागि छुट्याइयो । यसले मधेशी महिलालाई सरकारी सेवा र रोजगारीमा जोडिन ढोका खुलेको हो । नागरिक अगुवा रबि कुमार रौनियारले मधेशका छोरी शिक्षा र रोजगारीमा जोडिदा मधेशी समुदायकै स्वरुप फेरिएको बताए । ‘अहिले मधेशी समुदायका युवती बैंक मेनेजर, प्रशासन, शिक्षा, लगायतका प्रमुख भएको पाइन्छ । यो खुसीको कुरा हो । ’ उनले भने ।

 

 

 

 

प्रकाशित मिति: २०२५-०१-२१ , समय : १४:५०:५८ , १९ घन्टा अगाडि