बुटवल-नारायणघाट सडक विस्तारमा ढिलाइ, जनतालाई सास्ती

प्रकाश न्यौपाने , ११४  पटक हेरिएको

नवलपरासी, पुस २५

नेपालकै महत्वपूर्ण पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणघाट खण्ड विस्तारमा ढिलाइ हुँदा स्थानीय बासिन्दा र यात्रुहरू सास्ती भोग्न बाध्य भएका छन्। चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशनले निर्माणको जिम्मा लिए पनि तोकिएको समयमा काम सम्पन्न गर्न नसक्दा धूलो, खाल्टाखुल्टी र जामका कारण सर्वसाधारण मर्कामा परेका छन्।


सडक निर्माण ढिलाइमा ढिलाइ हुदा सडकमा रहेका पुल र बाटो मर्मत नै भएको छ ।  शितलहर र चिसोका कारण जाम सवारी साधन चिप्लिएर दुर्घटनाको जोखिम समेत बढेको सवारी चालकहरुले बताएका छन । हालैको चिसो मौसम र भारी शीतलहरका कारण दाउन्ने सडकखण्डमा सवारीसाधनहरू फसेका छन्। पुस २२ गतेदेखि सुरू भएको शीतलहरपछि बाटो हिलाम्य हुँदा सवारी चिप्लिने समस्या देखा परिरहेको छ । जसले गर्दा बुधबार रातिदेखि यातायात अवरुद्ध भयो। दिउँसो मात्र एकतर्फी रूपमा यातायात सञ्चालनमा आएको थियो।

बर्दघाट नगरपालिका-४ स्थित खुर्सानीखोलामा पहाड काटेर विस्तार गरिएको बाटोको माटो अत्यधिक चिप्लो हुँदा सवारी साधन चल्न नसक्ने अवस्था आएको थियो। हिउँदे वर्षात् र आगामी वर्षायाममा यो सडक अझ बढी जटिल बन्ने चिन्ता बढेको छ। ठेक्का पुरा गर्नु पर्ने समय सकिएर २ पटकसम्म थप भइसकेको छ । ठेक्का लागेको ६ बर्ष पुरा भएको छ । २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले शिलान्यास गर्नु भएको थियो । सम्झौताअनुसार ४२ महिना भित्र निर्माण सम्पन्न हुनुपर्ने थियो, तर करिब ६ वर्ष बितिसक्दा पनि ५५ प्रतिशत मात्र काम सकिएको छ।

बुटवल-दाउन्ने र दाउन्ने-नारायणघाट गरी दुई खण्डमा विभाजन गरिएको सडक आयोजनाको बर्दघाट-दाउन्ने खण्ड (४८ दशमलव ५३ किमी) मा जम्मा ३२ किमी मात्र कालोपत्रे गरिएको छ। मुख्य बजार क्षेत्रहरू खैरेनी, घोडाहा, बर्दघाटमा एकतर्फी कालोपत्रे समेत नभएर स्थानीय बासिन्दाले धूलो र ट्राफिक जामको सामना गर्नुपरेको छ।

बर्दघाटका स्थानीय बासिन्दा तथा बर्दघाट उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष तारा प्रसाद गौतमले निर्माणको ढिलाइले बर्दघाटबासी प्लायन हुनु पर्ने अवस्था आएको बताउनु भयो ।”  ३/४ बर्ष भयो बाटो बन्दैनन, व्यापार छैन । बेच्न राखेका सामान नै धुलो धुवाँले नचिनिने र कुरुप भएका छन ।”  गौतमले भन्नु भयो । कम्तीमा एकतर्फी कालोपत्रे भए  मात्रै अर्को तर्फको बाटो बनाउने तयारी थालेको भए जनताले राहत पाउने गौतमको भनाइ छ ।

चाइना स्टेटका सूचना अधिकारी बेचन भट्टराईका अनुसार हाल पश्चिम खण्डमा करिब ४ सय जना कामदार सडक निर्माणमा खटिएका छन्। उहाका अनुसार असारसम्म एकतर्फी कालोपत्रे गर्ने लक्ष्य राखिएको छ। तर, मुख्य बजार क्षेत्रहरूमा सुस्त कामका कारण दुर्घटना जोखिम बढिरहेको छ। बर्दघाट बजार क्षेत्रमा २ किलोमिटर दुरीमा चारवटा कल्भर्ट निर्माणको क्रममा छन्, जसले बाटो झन् असहज बनाइरहेको छ।

विशेषगरी, दाउन्ने सडकखण्ड सबैभन्दा जोखिमपूर्ण रहेको छ, जहाँ १६ किलोमिटर सडक छिचोल्न कम्तीमा एक घण्टा लाग्छ। यहाँ अझै २ किमी पहाड काट्न बाँकी रहेको छ। निर्माण कम्पनीले समय-समयमा धूलो कम गर्न पानी छर्कने गरे पनि खाल्डाखुल्डी पुर्न चासो नदेखाएको यात्रुहरू बताउँछन्। साना सवारी चालकहरू दाउन्ने खण्ड पार गरेपछि “युद्ध जितेझैं” अनुभूति गर्ने अवस्था आएको छ।

४२ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजना ८ वर्ष पुगे पनि सकिने सम्भावना नदेखिँदा जनतामा निराशा छाएको छ। बुटवल-नारायणघाट सडक विस्तार कार्य शीघ्र सम्पन्न गरियोस् भन्ने माग सबै प्रयोगकर्ता, स्थानीय बासिन्दा र व्यवसायीहरूले गरिरहेका छन्।

प्रकाशित मिति: २०२५-०१-०९ , समय : १७:१७:१६ , १८ घन्टा अगाडि