रुपन्देही खबर , १०४ पटक हेरिएको
भैरहवा, पुस १२
पर्यटनका लागि शान्ति,शान्तिका लागि सञ्चार यात्रा, भन्ने मुल नाराका साथ बुद्ध जन्मस्थल लुम्बिनीमा पैदल यात्रा गरिएको छ । भैरहवाको लुम्बिनी गेटबाट लुम्बिनीसम्म २४ किलोमिटर पैदल यात्रा गरी पर्यटन, शान्ति र सन्चारका लागि बिहिवार बौद्ध सन्चार यात्रा पुरा गरिएको हो ।
लुम्बिनी प्रेस क्लबको १० औँ स्थापना दिवसको अवसरमा भएको पदयात्राको समापन कार्यक्रममा बोल्दै लुम्बिनी बिकास कोषका सदस्य सचिव सानू राजा शाक्यले बुद्धको इतिहासमा साहित्यमा बुद्धले गृह त्याग गरेपछि कन्थक घोडालाई छाडेर पैदल यात्रा गरेको पाउन सकिने बताउनुभएको छ । उपदेश दिँदा एक ठाउँबाट अर्को ठाउँ पैदल जाने गरेको इतिहास रहेको उहाले बताउनुभयो । बुद्धका सन्देश धेरै लागू नगरेपनी पद यात्रा पूरा गरेर यसले एउटा सकारात्मक ऊर्जा प्रदान गर्ने बताउनुभयो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले यात्राका क्रममा थकाइ लागेपनी बुद्धको पवित्र स्थल मायादेवी मन्दिरमा आउँदा उत्साहले भरिएको बताउनुभयो । यात्रा पूरा गरेपछि सकारात्मक ऊर्जा भइरहेको बताउँदै बुद्धको जन्म स्थल लुम्बिनीको जागरण, प्रचार गर्न यसले थप हौसला प्रदान गर्ने बताउनुभयो ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले दोस्रो बौद्ध सन्चार यात्राले सकारात्मक सन्चार पैदा गर्ने बताउँदै बुद्धका पञ्चशील लागू गरेमात्रै जीवनमा शान्ति, आनन्द खुशी प्राप्त गर्न सकिने बताउनुभयो ।
भिक्षु बजिर भन्तेज्यूले अतिथि, जिल्ला सुरक्षा प्रमुख सहित सदस्यहरु, पत्रकार, संघ संस्थाका प्रमुखलाई ध्यान गराउँदै ध्यान र बिपाश्यनाले मनमा शान्ति र ऊर्जा पैदा हुने बताउनुभयो ।
प्रकाशित मिति: २०२४-१२-२७ , समय : १०:२१:५३ , १ दिन अगाडि