रुपन्देही खबर , ९३ पटक हेरिएको
भैरहवा, पुस ११
उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूको सहकार्यमा संविधान संशोधनको काम अगाडि बढाउने बताउनु भएको छ । उपप्रधानमन्त्री सिंहले सबै दलसँग छलफल गरेरै संविधान संशोधन प्रक्रिया अघि बढाउने बताउँदै संविधान संशोधनका लागि कार्यदलले काम अगाडि बढाएको बताउनु भएको हो ।
रुपन्देहीको सियारी गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहेको सियारी पर्यटन करिडोरको शिलन्यास तथा दयानगर दानव लिफ्ट सिचाई योजनाको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका लागि कांग्रेस, एमालेको कार्यदलले आन्तरिक रूपमा काम गरिरहेको उल्लेख गर्नु भएको छ । उहाले कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्ने बताउँदै सबै दलहरूसँग छलफल गरेर नै संविधान संशोधन प्रक्रिया अगाडि बढ्ने बताउनु भएको छ ।
उहाले कोरोना महामारी र त्यसपछि आर्थिक मन्दीका कारण प्रभावित भएको अर्थतन्त्रलाई उकास्न सरकारले काम रणनीतिक रुपमा काम गरिरहेको र सुधारका संकेत देखिन थालिसकेको बताउनु भएको छ । पर्यटन करिडोर र लिफ्ट सिंचाइ आयोजनाले सियारी गाउँपालिकाका नागरिकको आर्थिक अवस्थामा परिवर्तन ल्याउने उहाले विश्वास व्यक्त गर्नु भएको छ ।
प्रकाशित मिति: २०२४-१२-२६ , समय : ०८:२४:३१ , २ दिन अगाडि