मुस्लिम महिलाको राजनीतिमा प्रवेशसँगै बदलिँदैछ, व्यवहार–शैली पनि

उर्मिला यादव , ४८१  पटक हेरिएको

भैरहवा, पुस ९

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी यतिखेर सक्रिय राजनीतिक यात्रामा छिन् । २०७९ को स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भएसँगै धेरै कुरा सिक्न पाएको अनुभव गर्दैछिन् । पालिकाको नीति–निर्माणदेखि न्यायिक समिति उजुरी सुन्नेदेखि निर्णायक भूमिकामा आफनो सहभागिता कस्तो हुनुपर्ने भन्नेमा आफू पोख्त हुँदै गएको बताउँछिन्, २६ वर्षीय फातिमा । उनी राजनीति लाग्नुअघि रोटरी क्लब, जेसिस लगायतका संघसंस्थामा आवद्ध थिइन् । उनी अध्ययन, अध्यापनसँगै पछि आफ्नै विद्यालयमा लेखाको काम गरिन् । उनलाई राजनीतिमा लाग्ने उत्प्रेरणा कांग्रेस नेता देवेन्द्रराज कँडेलबाट मिलेको हो । जेसिसको कार्यक्रममा प्रमुख अतिथि थिए, कँडेल । जहाँ फातिमा जेसिसको ‘मिसन–भिजन’ राख्दैथिइन् । त्यही कार्यक्रमपछि कँडेलले उनलाई राजनीतिमा लाग्न उत्साहित गरे । तर, मुस्लिम समुदायमा महिलालाई राजनीति त्यति सजिलो थिएन । ‘छोरी मानिस किन राजनीतिमा जान पर्यो ?’ प्रारम्भमा यो प्रश्नको सामना गर्नु नपरेको होइन । राजनीतिमा धेरै प्रकृतिका मानिसहरूसित बोल्नुपर्छ, यताउता हिँड्डुल गर्नुपर्छ भन्ने कारण देखाउँदै परिवारले सुरुमा सहमति जनाएनन् । तर पछि बिस्तारै सम्झाइ–बुछाइ गरेपछि सहज भएको बताइन् ।

कांग्रेसले २०७९ सालको स्थानीय तहको चुनावमा पाल्हीनन्दन गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनायो । तर उनलाई कांग्रेसले त्यसरी उम्मेदवार बनाउँछ र चुनाव जितिन्छ भन्ने विश्वास थिएन । उनी चुनावी प्रतिस्पर्धाबाटै उपाध्यक्ष निर्वाचित भइन् । मुस्लिम समुदायमा महिलालाई राजनीतिमा अग्रसर हुन त्यति सजिलो हुँदैन । तर, उनको परिवार अरुभन्दा फरक भएकाले राजनीतिमा लाग्न सहज भएको हो । मुस्लिम समुदाय अझ ग्रामीण भेगमा छोरीलाई मदरसाबाहेक बाहिर जान समेत सजिलो हुँदैन । तर उनको परिवार काठमाडौंमा बसेका कारण स्कुलमा पढ्न पाइन् । उनी राजनीतिमा सक्रिय हुँदाहुँदै पनि अध्ययनलाई पनि निरन्तरता दिँदैछिन् । अविवाहित फातिमा पाल्ही बहुमुखी क्याम्पसमा स्नातक चौथो वर्षको परीक्षा दिएर बसेकी छन् । उनी मुस्लिम समुदाय वा जुनसुकै समुदायको महिला किन नहोस् पहिला आफू सक्षम हुनुपर्ने बताउँछिन् । उनले उपाध्यक्ष भएपछि सुरुमा सिक्न धेरै कठिनाइ हुने गरेको बताउँछिन् । पालिका उपाध्यक्षले न्यायिक समिति संयोजक, राजस्वको संयोजक, अनुगमन संयोजकको जिम्मेवारी वहन गर्नुपर्छ । कानुन नपढे पनि न्यायिक समितिको संयोजक बन्नुपर्छ । उनी भन्छिन्, ‘विकासका काममा अनुगमनमा जानुपर्छ । तर, त्यहाँ लागतअनुरूप काम भइरहेको छ कि छैन भन्ने प्राविधिक जानकारी हुँदैन । त्यसले सँधै समस्या सिर्जना गर्छ ।’ उनी न्यायिक समितिको संयोजक हुँदा जनताका समस्याहरूसित सिँधै ठोक्किन पुग्दा धैरै कुरा जान्न र बुझन सजिलो भएको बताउँछिन् । उनको अनुभवमा, न्यायिक समितिमा जनताको विश्वास धेरै छ । केही समस्या परे तत्कालै र कम पैसामा न्याय पाउने हुँदा स्थानीय सरकारप्रति जनताकोे बिश्वास बढदै छ ।

अधिकार र कामका हिसाबले पालिकामा अध्यक्षभन्दा उपाध्यक्षको जिम्मेवारी बढी हुने गरेको अनुभव सुनाइन् । उनी पालिकामा अध्यक्ष र उपाध्यक्षबीच समन्वय हुन सकेमात्र हरेक काम गर्न सहज हुने बताउँछिन् । उनी भन्छिन्, ‘सुरु–सुरुमा अध्यक्षसँग समन्वयमा समस्या थियो । अब बिस्तारै सबै कुरा सिकेका कारण पहिलाभन्दा चुनौती र समस्या झेल्नु परेको छैन ।’ फातिमा जसरी नै पछिल्लो समय मुस्लिम समुदायबाट महिलाहरू राजनीतिमा सक्रिय हुन थालेका छन् । घरभित्र र बुर्कामा सीमित मुस्लिम समुदायका महिलाहरू समुदायगत परम्पराको घेरा तोड्दै राजनीतिक फाँटमा उदाउन थालेका छन् ।

जन्नतुनको राजनीतिक यात्रा अनुभूति

राजनीतिमा सक्रिय महिला नेताको रूपमा चिनिने नाम हो, जन्नतुन निसा । रुपन्देहीको सिद्धार्र्थनगर नगरपालिका– ८ बसडिलियाकी ५५ वर्षीय जन्नतुन संविधानसभा सदस्य मात्रै होइनन्, उनी पूर्व सांसद पनि हुन् । सामाजिक सेवाबाट प्रभावित हुँदै महिलाकै लागि केही गर्छु भन्ने उद्देश्यले राजनीतिमा प्रवेश गरेकी जन्नतुनको राजनीतिक यात्रा भने रोचक छ । २०६२–०६३ को आन्दोलनपछि जन्नतुनका श्रीमान मोहम्मद रजक मधेशी जनअधिकार फोरमका नेता थिए । फोरमका नेताहरूले राजनीतिमा महिलाको आवश्यकता देखेपछि जन्नतुनलाई राजनीतिमा लाग्न ठूला नेताले आग्रह गरेका थिए । उनले ठाडै अस्वीकार गरिन् । तर, उनको श्रीमानले समेत भनेपछि २०६६–०६७ सालमा मधेशी जनअधिकार फोरम महिला संघको जिल्ला अध्यक्ष समेत भइन् । उनी लगातार २ कार्यकाल महिला संघको अध्यक्ष हुँदै राजनीतिमा पाइला बढाएको बताउँछिन् ।

राजनीतिमा सुरुवाती पाइला चालेकी जन्नतुन उज्वल मुस्लिम महिला विकास मञ्च नामक संस्थासमेत दर्ता गरिन् । उक्त संस्थाले मुस्लिम महिलाहरूको हक–हितमा काम गरेको उनी बताउँछिन् । उनी २०७० सालको चुनावमा मधेशी जनअधिकार फोरमबाट सांसद समेत निर्वाचित भएकी थिइन् ।
उनको परिवार राजनीतिमा भएकाले सजिलो भयो । तर मुस्लिम समुदायबाट अझै महिलाहरूलाई राजनीतिमा प्रवेश गर्न गाह्रो भएको उनको भनाइ छ ।
उनी भन्छिन्, ‘महिला राजनीतिमा अघि बढ्न खोज्छन् । तर समाजमा महिलाप्रतिको सोच फरक हँुदा अपहेलित हुनुपरेको छ । मुस्लिम महिलाहरू बुर्कामा पनि काम गर्न सक्छन् । तर यसका लागि घर–परिवारबाट सहयोग र राजनीतिक दलहरूबाट अवसर मात्र चाहिएको छ ।’ राजनीतिमा लागेपछि महिलाका अधिकारका सवाल, अरु समुदायका रहनसहन बुझ्ने, आफ्नो बोल्ने शैली र ब्यवहारमा समेत धेरै परिर्वतन आएको अनुभव उनको छ । उनी आफू सांसद हुँदा सम्पूर्ण महिलाका हक अधिकारका लागि आवाज उठाएको बताउँछिन् । कुनै बेला घरको चुलोचौकामा मात्रै सीमित जन्नतुन यतिखेर राजनीतिक दलले आयोजना गरेका कार्यक्रमहरूमा सक्रिय सहभागी हुन्छिन् । उनी २०७४ सालमा नेपाली कांग्रेसमा प्रवेश गरिन् । हाल कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि छिन् । उनी भन्छिन्, ‘महिला सक्षम भएपनि चुनाव लड्न उम्मेदवारी (टिकट) नै दिइँदैन । जसले गर्दा उनीहरू चाहेको पदमा उम्मेदवारी समेत दिन पाउँदैनन । जन्नतुन २०७९ सालको चुनावमा समानुपातिक उम्मेदवारी दिने पक्का भएको तर पछि उनको नाम समेत हटेको बताउँछिन् ।

जन्नतुनले महिला समानुपातिकमा मात्र होइन कि महिलालाई क्षेत्र छुटयाउँदै प्रत्यक्ष चुनाव लड्ने अवसर दिनुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘खालि देखाउन मात्र मञ्चमा महिलालाई अगाडि बसाउनेबाहेक पार्टीबाट थप सहयोग हुँदैन । ठाउँ पाएमात्र प्रभावकारी हुने भएकाले महिलालाई स्थान दिनुपर्छ । पार्टीमा महिलालाई इज्जत र सम्मान मात्र पुग्दैन, अवसर र ठाउँ चाहिन्छ ।’ उनमा २०८४ को चुनावमा प्रतिस्पर्धा गर्ने चाहना छ । तर पार्टीले उम्मेदवार छनौट गर्छ कि गर्दैन, त्यो उनलाई थाहा छैन ।

रुविनाको राजनीतिक यात्रा

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका– ८ की वडा सदस्य रुबिना मुसलमानको कथा भने बेग्लै छ । उनी वडा सदस्य मात्र होइनन् कार्यपालिका सदस्य पनि हुन् । ५१ वर्षीय रुबिनाको राजनीति यात्रा रोचक छ । समाज सेवाबाट राजनीतिमा प्रवेश गरेकी हुन् । उनी नेपाली कांग्रेसबाट वडा सदस्य पदमा निर्वाचित भएकी हुन् । यो उनको दोस्रो कार्यकाल हो । सुरुमा वडा सदस्य पदमा उम्मेदवारी दिने सोच बनाएकी रुबिनालाई उनको श्रीमानबाट कुनै रोक भएन । तर, उनको परिवारमा चाहिँ कोही खुसी भएनन् । रुबिना पूर्व शिक्षिका पनि हुन् । उनी पढाउन बाहिर निस्कदा समेत परिवारका सदस्यहरूबाट अनेक कुरा सुन्नुपरेको विगत अनुभूति थियो । विगतका तीतो यथार्थ सुनाउँदै भन्छिन्, ‘घरबाट मुस्लिमको नाम बर्वाद गर्दैछौ भन्ने कुरा सुन्नुपर्यो । घरबाट बाहिर जानु हँुदैन भनी घरपरिवारबाट विरोध भएको थियो । महिला दिदी–बहिनीहरूले कुरा काट्थे । अब त्यस्तो स्थिति छैन ।’
उनी २०७४ सालको चुनावमा तत्कालीन संघीय समाजवादी फोरम हाल जनता समाजवादी पार्टीबाट निर्वाचित भएकी थिइन् । २०७९ सालको चुनावमा नेपाली कांग्रेसले उम्मेदवार बनायो र दोस्रो पटक पनि उनले विजयी हासिल गरिन् ।

वडासदस्य रुबिना सुरु–सुरुमा घरबाहिर निस्कन अप्ठ्यारो त थियो नै । रुबिना पनि कुनै बेला बुर्कामा नै हिँडने गर्थिन् । तर सामाजिक काममा जोडिएसँगै उनी बुर्कालाई लगाउन छाडेको बताइन् । मुस्लिम समुदायका युवती बुर्कामा बस्नु समुदायको परम्परा भएकाले उनी यसलाई नकरात्मक भन्न नमिल्ने बताउँछिन् । उनले यसले मुस्लिम धर्म, मूल्य–मान्यताको संरक्षण गरेको बताइन् । रुबिनाले २०८४ सालको चुनावमा वडाध्यक्ष पदमा उम्मेदवारी दिने सोच बनाएकी छन् । तर उनी पार्टीबाट उम्मेदवारी चयन हुनु मुख्य समस्या भएको ठान्छिन् । उनी भन्छिन्, ‘पार्टीले टिकट दिए वडाध्यक्षको उम्मेदवार बन्छु ।’
महिला प्रतिनिधित्व अनिवार्य व्यवस्थाका कारण पनि २०७४ सालको निर्वाचनमा मुस्लिम महिलाहरू स्थानीय तहको जनप्रतिनिधि बन्न सफल भएका हुन् । वडा तहमा महिला, दलित महिला, सीमान्तकृत महिलाको प्रतिनिधित्व नीतिले केही मुस्लिम महिलाहरू पदमा पुग्न सफल भएका हुन् । अघिल्लो निर्वाचनमा लुम्बिनी प्रदेशमा एक मुस्लिम महिला उपप्रमुखमा निर्वाचित भएकी थिइन् । मधेस प्रदेशमा नौ जना उपमेयर–उपाध्यक्ष निर्वाचित भएका थिए ।
त्यसरी २०७९ सालको निर्वाचनमा लुम्बिनी प्रदेशमा २ जना उपमेयर–उपाध्यक्ष निर्वाचित भएका छन । रुपन्देही जिल्लालाई मात्र हेर्ने हो भने मुस्लिम समुदायबाट वडा सदस्य र कार्यपालिकामा सदस्यमा मात्र मुस्लिम समुदायका महिलाहरू जनप्रतिनिधि बन्न सफल भएका छन् ।

वडासदस्य भएसँगै बदलियो शैली

लुम्बिनी सांस्कृतिक नगरपालिका– ६ की वडासदस्य अकलीमुन निसा भाट अझै पनि बुर्कामै बाहिर निस्कने गर्छिन् । ४५ वर्षीय अकलीमुन २०७९ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएकी हुन् । अकलीमुन सामान्य लेखपढ गर्न सक्छिन् । उनको १४ वर्षकै उमेरमा विवाह भएपछि विद्यालय जान पाइनन् । अकलीमुनको परिवारमा ३० जना छन् । उनको काखमा नाति–नातिना पनि छन । अकलीमुन वडा सदस्यमा निर्वाचित भएसँगै उनको जीवनशैली बदलिएको छ । उनी वडा सदस्य हुनुभन्दा पहिला आफ्नै वडामा स्वास्थ्य स्वयम्सेविकाको काम गर्थिन । उनी वडा सदस्यमा निर्वाचित भएपछि आफूमा धेरै परिर्वतन आएको बताइन् । विवाह भएदेखि बुर्कामा हिँड्ने उनी वडाका तालिमहरूमा पनि बुर्कामै सहभागी हुन जान्छिन् । उनी वडासदस्य भए पनि २०८४ सालको चुनावमा वडाध्यक्ष पदमा उम्मेदवारी दिने सोचमा छिन् । तर पार्टीले उम्मेदवार बनाउँछ कि बनाउँदैनन् भन्ने अन्यौल चाहिँ छ ।
उनको अनुभवमा, वडाका बजेट बनाउने लगायत अन्य विषयमा महिला वडा सदस्यहरू बोल्न पाउँदैनन् । महिलाको हक–हित र विकासका लागि योजना समेत बताउन नपाउँदा उनलाई दःुख लाग्छ । वडाका सीपविकास तालिममा आफ्ना महिलाहरूलाई अग्रसर गराउँदै आएको छु ।

रोहिणी गाउँपालिका–७ की वडासदस्य सुवुहुन निसा फकिर अक्षर चिन्दिनन् । उनी रोहिणी गाउँपालिकाको कार्यपालिका सदस्य पनि हुन् । उनी २०७९ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित भएकी हुन । सुवुहुनको राजनीतिक यात्रा भने लामो छैन । उनी भन्छिन्, ‘निर्वाचित हुुनुभन्दा पहिला खेती किसानीमै थिए । चुनावका बेलामा आफ्नै समुदाय र टोलवासी सहयोग गर्न तयार भएपछि वडा सदस्यमा चुनाव लड्ने सोचमा पुगे । जसमा श्रीमानको पनि उत्तिकै सहयोग रह्यो ।’ सुवुहुन बुर्कामा आफू कहिल्यै बस्नु नपरेको बताउँछिन् । उनी भन्छिन्, ‘घरभित्रको चुलोचौकोमा सीमित मुस्लिम महिला परेको बखत बुर्का खोलेर राजनीतिमा आउन तयार छन् । तर, आधार–बाटो तयार पार्ने निर्णायक तहमा भएका पुरुष छन् ।’ ६० वर्षीय सुवुहुन भन्छिन्, ‘कार्यपालिका सदस्य हुनु मेरा लागि ठूलो सम्मान हो, हौसला हो ।’ गाउँमा झैँझगडा हुँदा, लेनदेनको केही विवाद हुँदा सबभन्दा पहिले उनकै खोजी हुन्छ ।
उनको मन जनताको सेवामा रमेको छ । गाउँ कार्यपालिकाको बोर्ड बैठकमा सहभागी हुने क्रममा उनले धेरै कुरा सिक्ने र बुझ्ने अवसर पाइन् । तर अझै पनि निर्णायक भूमिकामा महिलालाई पछि पारेको उनको तीतो अनुभव छ । उनी भन्छिन् ‘पालिकाको सम्पूर्ण वडाका वडाध्यक्ष भएका ठाउँमा हामी कार्यपालिका सदस्य भए पनि अझै पनि बोल्न पाउँदैनौ ।’ सुवुहुन वडासदस्य बाहेक अब माथि पदमा उम्मेदवारी दिने सोच बनाएकी छैनन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका– ३ की महिला वडा सदस्य साजिदा खातुन धुनिया आर्थिक अवस्था कमजोर रहेका महिलाका निम्ति राजनीति र समाजसेवा सहज नभएको बताउँछिन् । एमालेबाट वडा सदस्य निर्वाचित ४३ वर्षीय साजिदा खातुनलाई पढ्न र लेख्न आउँदैन । तर, उनले श्रीमान कमरुद्दिन धुनियाबाट पूरा सहयोग पाइरहेकी छिन । सासुबाट पनि सहयोग भएपछि घरभित्र र बाहिर दुवैतिरको काममा उनलाई सहज छ । उनी भन्छिन्, ‘गाउँ समाजमा देखापरेका समस्या वडासम्म पुर्याउँछु, अनि वडाको काममा पनि सघाउँछु ।’ वडामा काम पर्दा घरका सबै काम छाडेर पनि उनी निस्किन्छिन् । साजिदा नौ सन्तानकी आमा हुन् । साजिदा वडा सदस्य पदमा उम्मेदवारी दिन्छु भन्ने परिकल्पना समेत नगरेको बताउँछिन् । उनी भन्छिन्, ‘मेरा श्रीमानले वडा सदस्यमा उम्मेदवारी दिने योजना बनाएका थिए । तर नाम दर्ता गराउने बेलामा मेरो नाम दर्ता गराइदिए ।’निर्वाचित पनि भए खुसी लाग्छ, साजिदाले भनिन् । वडा सदस्यमा निर्वाचित भएपछि बुर्कामा बस्ने साजिदालाई सुरु–सुरु एक्कासि बाहिर निस्किन पर्दा लाज लाग्थ्यो । तर श्रीमानले नै सहयोग गरेपछि उनलाई सजिलो छ । साजिदा भन्छिन्, ‘अब पहिले जस्तो बुर्कामा, घरभित्रै बस्नुपर्ने अवस्था छैन । म आफैँ पनि घरभित्र र बाहिर उस्तै पहिरनमा हुन्छु । जनतासँग घुलमिल हुन जनता जस्तै हुन्छु ।’ अवधी, भोजपुरी र हिन्दी मातृभाषी लुम्बिनीका मुस्लिम महिला जनप्रतिनिधि नेपाली भाषा कम बुझ्छन् । उनलाई बोल्न पनि असहज छ । सरकारी कामकाजी भाषा नेपाली भएकाले उनीहरूलाई अप्ठेरो परेको छ । भाषामा कठिनाई भए पनि अरू कैयौं विषयमा अनुभवले उनीहरूलाई निखार्दै लगेको छ । जस्तो कि पहिरनमा पहिले जस्तो बारबन्देज छैन ।

स्थानीय तहमा प्रमुख वा उपप्रमुखमध्ये एक महिला तथा वडामा एक महिला सदस्य र एक दलित महिला सदस्य रहने कानुनी व्यवस्था छ । यसले स्थानीय सरकारमा महिला सहभागिता बाध्यकारी बनाएको छ । परिणाम, शहरदेखि दूरदराजसम्म महिलाले सरकार सञ्चालनको अवसर पाएका छन् ।
रुपन्देहीका स्थानीय सरकारमा निर्वाचित मुस्लिम महिला जनप्रतिनिधिले घरको चार पर्खालभित्र सीमित हिजोको दिनचर्या बदल्ने अवसर पाएका छन् । उनीहरू यसलाई अब बाहिरी संसारका धेरै कुरा सिक्ने अवसरमा बदल्न चाहन्छन् ।

स्थानीय तह निर्वाचन २०७९ रुपन्दहेहीका मुस्लिम महिला जनप्रतिनिधिका लागि एउटा सुखद् संयोग जस्तो भएको छ । उनीहरू योजना बनाएर होइन, थुप्रै संयोग मिलेर राजनीतिमा जोडिन आइपुगेका थिए । अब उनीहरू राजनीतिको योजना बनाउन सक्ने भएका छन । रुपन्देहीको १६ स्थानीय तहमध्ये सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खान र लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दीन मुसलमान मुस्लिम समुदायबाट निर्वाचित दुई जना पालिका प्रमुख हुन् । लुम्बिनी सांस्कृतिक नगरपालिका नगरप्रमुख सजरुद्दीन मुसलमानको अनुभवमा, ‘‘पहिला मुस्लिम समुदायका महिला बोल्न अप्ठेरो मान्थे । घरबाट बाहिर निस्कन डराउँथे । अब धेरै कुरा बदलिएको छ, हाम्रो समुदायका निर्वाचित महिला सदस्यलाई मैले नगरपालिका तपाईंहरूकै हो, आफ्नो र समाजका लागि अधिकार माग्नोस् भनिरहेको छु । उहाँहरू पनि आफ्नो कुरा भन्नुहुन्छ, धेरै कुरा फेरिइसकेको छ ।
रुपन्देही जिल्लाको १६ वटा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिमध्ये मुस्लिम समुदायका गाउँपालिका अध्यक्ष पुरुष २, गाउँपालिका उपाध्यक्ष महिला शून्य, वडाध्यक्ष पुरुष १३ जना, महिला वडा सदस्य ६ जना र वडा सदस्य पुरुष २५ जना छन् । संख्या ठूलो नभए पनि मुस्लिम समुदायका जनप्रतिनिधि, त्यसमा पनि महिलाको उपस्थितिले स्थानीय सरकारमा बेग्लै छाप पारेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजन भन्छिन्, ‘हाम्रो पालिकाकै हेर्ने हो भने तीन जना मुस्लिम महिला वडा सदस्य हुनुहुन्छ, वडामा उहाँहरूले राम्रो जिम्मेवारी पाउनुभएको छ, काम पनि राम्रो गर्नुभएको छ । तर, सबैतिर यही अवस्था छ भन्ने होइन । घरका काम र बुर्कामा सीमित मुस्लिम समुदायका महिलाहरू बाहिर निस्कनु समाजको परिर्वतन हो ।’
उनले कार्यपालिका बैठकमा समेत मुस्लिम समुदायका जनप्रतिनिधिहरूले खुलेर आफ्ना धारणा राख्ने गरेको बताइन् । तर, अझै पनि मुस्लिम समुदायबाट निर्वाचित महिला सदस्यहरूलाई सबभन्दा राजनीतिक रूपमा प्रशिक्षित गर्नुपर्ने र त्यसले मात्र उनीहरूको सोच्ने दायरा फराकिलो पार्ने उनको सुझाव छ ।
मुस्लिम समुदायका महिला जनप्रतिनिधिको संख्या निकै कम भए पनि अवस्था बदलिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताउँछन् । पहिले घरबाट बाहिर ननिस्कने, हिँड्दा बुर्काभित्र रहने जुन अवस्था थियो, अब त्यसमा ठूलो अन्तर देखिन्छ ।
उनी भन्छन्, ‘गाउँ–शहरका सार्वजनिक मञ्चमा मुस्लिम समुदायका महिलाको उपस्थिति आफैँमा महत्वपूर्ण परिवर्तन हो । यति हुँदाहुँदै पनि शिक्षामा पछि परेकाले मुस्लिम समुदायका महिला जनप्रतिनिधिको काम सन्तोषजनक हुन छैन ।’ जनघनत्व र बसोबासको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुने राज्यको नीति हुने हो भने राज्यका विभिन्न निकायमा मुस्लिम समुदाय र त्यसभित्र मुस्लिम महिलाको प्रतिनिधित्व झन् बढ्नेछ ।

प्रकाशित मिति: २०२४-१२-२४ , समय : ११:०४:५९ , १ महिना अगाडि