जसपा नेपाल सिद्धार्थनगर ६ द्वारा आयोजित वडा कपको उपाधि कर्णपथले जित्यो

रुपन्देही खबर , १०३  पटक हेरिएको

भैरहवा,पुस ७

जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगर ६ रुपन्देहीको आयोजनामा शनिबार भैरहवामा भएको वडा कप क्रिकेट प्रतियोगिता–२०८१ को उपाधि कर्णपथ लायन्सले जितेको छ । जसपा नेपाल सिद्धार्थनगर–६ ले पहिलोपटक आयोजना गरेको वडास्तरीय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा किंग्स ११ लाई १५ रनले पराजित गर्दैै कर्णपथ विजेता बनेको हो । 

खेलाडीहरुको माग र अहिले विश्वव्यापी रुपमा बढ्दो क्रिकेटप्रतिको क्रेजका कारण युवाहरुलाई प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको जसपा नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष सियाराम यादवले बताउनु भएको छ । उहाले अब यो प्रतियोगितालाई निरन्तरता दिदै आगामी दिनमा नगर तथा जिल्लास्तरमा लैजाने योजना समेत रहेको बताउनु भएको छ । ‘नेपाल पनि अहिले क्रिकेटको नामले देशविदेशमा परिचय बनाउँदै गएकोले यसमा सम्भावना देखेर नै पार्टीले स्थानीयस्तरबाट खेलको सुरुवात गरेको छ । विगतदेखि नै पार्टीले खेलकुदको विकासका लागि आवश्यक सामानहरु उपलब्ध गराउँदै आएको छ, ’जिल्ला अध्यक्ष यादवले भन्नू भयो ।


सिद्धार्थनगरका प्राय सबै वडामा वडाकप क्रिकेट प्रतियोगिता हुँदा वडा नम्बर ६ मा हालसम्म हुन नसकेकोले वडास्तरमा क्रिकेटको विकासका लागि नै यो प्रतियोगिता आयोजना गरिएको जसपा नेपाल सिद्धार्थनगर–६ का वडाअध्यक्ष इमरान अलिले बताउनु भएको छ । ६ वटा टीमको सहभागीता रहेको प्रतियोगिता १०–१० ओभर नकआउट चरणमा खेलाइएको थियो । 

स्थानीय सुगरमिल मैदानमा भएको फाइनल खेलमा पहिला ब्याटिङ गरेको कर्णपथले निर्धारित १० ओभरमा १०३ रन बनाएको थियो । उसका लागि भोलाले ५०, इब्राहिमले २६ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन । जवाफी व्याटिङमा १०४ रनको लक्ष्य पाएको किंग्स ११ ले पुरै ओभर खेल्दै ८९ रन मात्र जोड्न सकेको थियो । उसका लागि सलिमले ३७, सोनुले १२ रनको योग्दान गरे पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न नसकेको कारण उपविजेतामा चित्त बुझाउनुपर्यो । 

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. १० हजारसहित ट्रफी, प्रमाणपत्र र मेडल, दोस्रो हुनेलाई रु. ५ हजार ट्रफी र मेडल तथा उत्कृष्ट खेलाडी, बेस्ट बलर, बेस्ट व्याटर र म्यान अफ द म्याचलाई पनि नगदसहित पुरस्कृत गरिएको जसपा नेपाल सिद्धार्थनगरका उपाध्यक्ष मनोज प्रजापति (महाकाल)ले बताउनु भएको छ । प्रतियोगितामा पिपरहिया लेजेण्डस्, कर्णपथ लायन्स, पिपरहिया ११, मिथलांग टाइगर्स, किङ्स ११ र पिपरहिया लायन्सको सहभागीता रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२४-१२-२२ , समय : १७:११:२३ , १५ घन्टा अगाडि