सिद्धार्थनगर २ को दोस्रो वडाकप क्रिकेट प्रतियोगिताको उपाधि नवयुवा दुर्गा क्लबलाई

रुपन्देही खबर , ७५  पटक हेरिएको

भैरहवा, पुस ७

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ मा सञ्चालित दोस्रो वडाकप टेनिसबल क्रिकेट प्रतियोगिताको उपाधि नव युवा दुर्गा क्लबले जितेको छ । सिद्धार्थनगर नगरपालिका २ नम्बर वडा कार्यालय, रुपन्देहीको आयोजनामा भएको प्रतियोगितामा झण्डीबजारलाई २ रनले पराजित गर्दैै नवदुर्गाले प्रतियोगिताको उपाधि जितेको हो ।

शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा फाइनल खेलमा सुरुमा ब्याटिङ गरेको नवयुवा दुर्गाले निर्धारित १२ ओभरमा ४ विकेट गुमाउँदै १०७ रन बनाएको थियो । उसका लागि दिपचन्द शर्माले एक्लै ८१ रनको योगदान गरेपनि अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ झण्डीबजारका अर्जुनले १ विकेट लिए । १०८ रनको लक्ष्य पाएको झण्डीबजारले सम्पूर्ण ओभर खेल्दै ७ विकेटको क्षतिमा १०६ रन मात्र जोड्न सकेको थियो, लक्ष्य पार गर्न नसकेपछि झण्डीबजार उपविजेता बन्न सक्यो । झण्डीबजारका लागि सुमित बासफोरले ३२, सन्देश शाक्यले २३ र अभय थापाले २२ रनको योगदान गरे । बलिङतर्फ राहुल गुप्ताले ३, सत्यदेव वनिया र बृजेश यादवले १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच नवदुर्गाका दिपचन्द शर्मा घोष्ति भएको खेल संयोजक तथा वडा सदस्य राजकुमार यादवले जानकारी दिनु भएको छ ।

प्रतियोगिताको पहिलो खेलमा झण्डीबजार ८ विकेटले मेउडिहवालाई हराएको थियो । त्यस्तै दोस्रो खेलमा नव युवाले फुलपुरलाई ३२ रनले हराएको थियो । तेस्रो खेल झण्डीबजारले मेउडिहवा राइजिङलाई ८ विकेटले हराएको खेल संयोजक यादवले जानकारी दिए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी नव युवाका राहुल गुप्ता, उत्कृष्ट ब्याटर नवयुवाकै दिपचन्द शर्मा, उत्कृष्ट बलर झण्डीबजारका राहुल थापा भए ।

खेलका विजयी खेलाडीहरुलाई सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष दिलिप कुमार यादवले पुरस्कृत गर्नु भएको थियो । सो अवसरमा बोल्दै वडाअध्यक्ष प्रतिष्पर्धाका लागि मात्रै नभइ खेल स्वास्थ्यका लागि आवश्यक रहेको बताउनु भएको छ । रुपन्देही क्रिकेटको उर्वरभूमि रहेकोले सिद्धार्थनगरमा खेलको विकासका लागि स्थानीयस्तरबाट नै खेललाई महत्व दिदै प्रतियोगिताहरु हुँदै आएकोे उहाले बताउनु भएको छ ।

विजयी खेलाडीहरुलाई नगर प्रवक्ता तथा वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव भोला, १० का अध्यक्ष सुर्जमन यादव, १२ का अध्यक्ष कुमार गुरुङ, ४ का वडा सदस्य हरि केसी लगायतले पुरस्कार प्रदान गर्नु भएको थियो । स्थानीय खेलाडीहरुको प्रोत्साहन, वडास्तरबाट क्रिकेटको विकास गर्दै यस क्षेत्रको पहिचानका लागि प्रतियोगिता आयोजना गरिएको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का अध्यक्ष छेदीलाल श्रीवास्तवले बताउनु भएको छ ।

प्रतियोगितामा पाँचवटा टीमको सहभागीता रहेको थियो । प्रतियोगितामा विजेताले करसहित नगद रु २५ हजार र उपविजेताले नगद रु २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

प्रकाशित मिति: २०२४-१२-२२ , समय : १०:२८:३६ , १२ घन्टा अगाडि