रुपन्देही खबर , १२४ पटक हेरिएको
भैरहवा, पुस ५
रुपन्देहीको ओमसतिया गाउँपालिकाले सबै सेवा एकै ठाउँबाट दिने उदेश्यका साथ घुम्ती शिविर सुरुवात गरेको छ । जनतालाई सहज रूपमा वडास्तरबाटै पालिकाका सेवा प्रदान गर्न गाउँपालिकाले एकीकृत घुम्ती शिविर आयोजना गरेको हो ।
वडाबाटै सेवा प्रदान गर्दा सेवाग्राहीलाई सहज हुने र समयको बचत हुने भएकाले ओमसतिया वडा नम्बर ६ बाट घुम्ती शिविर सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले जानकारी दिनु भएको छ । सिहंदरबारको अधिकार गाउँगाउँमा भन्ने नारालाई साकार पार्न घरआँगनबाटै सेवा प्रदान गरिएको अध्यक्ष यादवको भनाइ छ । उहाले गाउँपालिकाको कार्यालयमै आएर लिनुपर्ने सेवालाई जनताको घरदैलोमा पुर्याउने उद्देश्यका साथ सेवाग्राहीलाई एकदिन छुट्याएर गाउँपालिका आउनुपर्ने बाध्यताको अन्त्य गर्न घरआँगनबाटै सेवा प्रदान गरिने बताउनु भएको छ । उहाले घरआँगनमै स्थानीय सरकार गएपछि जनतालाई स्थानीय सरकारको प्रत्याभूति दिलाउन सकिने बताउनु भएको हो ।
गाउँपालिकाका उपाध्यक्ष सुनिता चौधरीले प्रत्येक आर्थिक वर्षमा गाउँपालिकाले वडास्तरमै पुगेर एकीकृत घुम्ती शिविर आयोजना गर्ने गरेको बताउनु भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीका अनुसार पुस ३ गते वडा नम्बर ६ मा, ४ गते वडा नम्बर ५ मा, ५ गते वडा नम्बर ४ मा, ९ गते वडा नम्बर ३ मा, ८ गते वडा नम्बर २ मा र पुस ७ गते वडा नम्बर १ मा एकीकृत घुम्ती शिविर सञ्चालन हुनेछ ।
घुम्ती शिविरबाट विषयगत शाखा अन्तर्गतका योजना सम्झौता, सुझाव तथा परामर्श सेवा, जेष्ठ नागरिक स्वास्थ्य परीक्षण, उपचार व्यवस्थापन, परामर्श तथा औषधि वितरण गरिने क्षेत्रीले जानकारी दिनु भएको छ ।
गाउँपालिकाका अनुसार कृषि शाखा अन्तर्गत नविनतम कृषि प्रविधि सम्बन्धि जानकारी, बालि उपचार तथा कृषि फर्म दर्ता नविकरण र पञ्जीकरण शाखा अन्तर्गत विभिन्न किसिमका घटना दर्ता तथा सामाजिक सुरक्षासम्बन्धी सेवा, महिला तथा बालबालिका शाखाअन्तर्गत ज्येष्ठ नागरिक परिचयपत्र र अपांगता परिचयपत्रको विषयमा जानकारी प्रदान गरिनेछ ।
प्रकाशित मिति: २०२४-१२-२० , समय : ०९:३१:२३ , ३ दिन अगाडि