भैरहवामा जारी स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेट प्रतियोगितामा देवदह र युनिक होम्स सेमिफाइनलमा प्रवेश

रुपन्देही खबर , ९५  पटक हेरिएको

भैरहवा, मंसिर ३०

रुपन्देहीको भैरहवामा जारी ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’ मा देवदह बुद्ध माध्यमिक विद्यालय र युनिक होम्स इङ्गलिस बोर्डिङ हाई स्कूल सेमिफाइनलमा पुगेका छन । शनिबार भएका दुई खेलमा देवदहले लुम्बिनी शिक्षा निकेतनलाई ६ विकेट र युनिक होम्सले शान्ति नमूना माविलाई पनि ६ विकेटले हराउँदै सेमिफाइनलमा पुगेका हुन ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको लुम्बिनी शिक्षा निकेतनले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १ सय १५ रन बनायो । उसका लागि बासुदेव यादवले अविजित ७१ रनको अर्धशतकीय पारी खेले । यस्तै, कमलेश चाईले १५ रन बनाए । बलिङमा देबदह बुद्धका रोहित कुँवरले ४, कृष केसीले ३ र प्रिन्स शर्माले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको देवदह बुद्धले १६ ओभर ५ बलमा ४ विकेट नोक्सानीमा १ सय १६ रन बनाउँदै जीत निकाल्यो । उसको जीतमा विनय कार्कीले ५३ रनको अर्धशतीकय पारी खेल्दा आकाश न्यौपानेले १७, रोहित कुँवरले नटआउट १२ र कृष केसीले ११ रनको योगदान गरे । बलिङमा लुम्बिनी शिक्षा निकेतनका जावेद खान र अफसर खानले २–२ विकेट लिए । खेलमा रोहित कुँवर प्लेयर अफ द म्याच भइ पाँच सय रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको शान्ति नमूनाले ९ विकेटको क्षतिमा जम्मा ८२ रन बनायो । उसका लागि रोशन बस्यालले १८, रुविन पराजुलीले १३ तथा समीर नेपाल र मनोहर यादवले समान १३ रन बनाए पनि अन्य ब्याटर नचल्दा टीमले ठूलो योगफल खडा गर्न सकेन । बलिङमा युनिक होम्सका रन्जित यादवले ४ र अरुण सिंहले २ विकेट लिए ।

प्रतिउत्तरमा युनिक होम्सले ११ ओभर ५ बलमा ४ विकेटको क्षतिमा ८५ रन बनाउँदै सहजै जीत हात पार्यो । उसको जीतमा आयुश धवलले अविजित १९, आदित्य रौनियारले १८ र अभिषेक यादवले १७ रनको योगदान दिए । बलिङमा शान्त नमूनाका रिदम भट्टराईले २ तथा नितिश कुमार ठाकुरले १ विकेट लिए । खेलमा रन्जित यादव प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ पाए ।

रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेता टीमले ५० हजार, उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बेष्ट बलरले जनही ५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय तथा बेष्ट अनुशासित टीमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक भरत थापाले बताउनु भएको छ । प्रतियोगिता पुस २ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: २०२४-१२-१५ , समय : ०८:३७:०४ , ३ दिन अगाडि