उर्मिला यादव यात्री , २७८ पटक हेरिएको
परासी मंसिर २८
पश्चिम नवलपरासीको सुस्तामा भएको गोलीकाण्डमा संलग्न रहेको आशंकामा तीनजना पक्राउ परेका छन्। बिहीबार साँझ ६ बजेतिर सुस्ता गाउँपालिका वडा नम्बर २ मुसहर टोल बस्ने २३ वर्षीय रोहन महतोलाई गोलिहानी हत्या गरेको आशंकामा प्रहरीले ३ जनालाइ पक्राउ गरेको हो ।
हत्यामा संलग्न रहेको भन्दै प्रहरीले सुस्ता दुई महलबारी बस्ने वर्ष २२ का विशाल मुसहर, सोहि स्थानका वर्ष २१ का मोहन थारु र वर्ष १८ का साहिल थारुलाई नियन्त्रणमा लिएको हो। उनीहरू साथीभाइ रहेको र सामान्य आवेगमा घरमै बनेको बन्दुक प्रयोग गरी गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ।
वेल्डिङ काम गर्दै आएका उनीहरूले आफैंले फलाम स्पिड तथा रबर प्रयोग गरी पेस्तोल बनाएका थिए। सोही पेस्तोल लोड गरेर आएका उनीहरूले सामान्य विवादमा महतोमाथि गोली प्रहार गरी भागेको बताइएको छ ।
उनीहरूको साथबाट प्रहरीले स्थानिय रुपमा उत्पादन गरिएको पेस्तोल एक थान, २८ थान छर्रा,१२ वटा सलाई, तीन थान छर्रा राख्ने फ्रेम बरामद गरेको छ । पेस्तोल बनाउन आवश्यक सामाग्रीहरु सिमावर्ती भारतीय बजारबाट खरिद गरी ल्याएको पाइएको छ ।
उनिहरुमाथि ज्यानसम्बन्धी तथा हातहतियार खरखजना कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२४-१२-१३ , समय : २०:३८:१० , ५ दिन अगाडि