स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी शिक्षा निकेतन र शान्ति नमूना विजयी

रुपन्देही खबर , १४४  पटक हेरिएको

भैरहवा, मंसिर २५

 

रुपन्देहीको भैरहवामा जारी ११ औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा लुम्बिनी शिक्षा निकेतन र शान्ति नमूना माध्यमिक विद्यालय विजयी भएका छन । सोमबार भएको खेलमा लुम्बिनी शिक्षा निकेतनले प्यारामाउण्ट इङ्गलिस बोर्डिङ स्कूललाई ३६ रन र शान्ति नमूनाले साई ग्लोबल एकेडेमीलाई ४० रनले पराजित गर्दै जीत निकालेको हो ।

सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी शिक्षा निकेतनले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १ सय १९ रन बनायो । उसका लागि वलिउद्दीन खानले ४०, कमलेश चाईले अविजित ३० र जावेद खानले १३ रन बनाए । बलिङमा प्यारामाउण्टका गौरभ सापकोटाले ३ तथा भाविश पाण्डेले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको प्यारामाउण्ट १९ ओभरमा सबै विकेट गुमाएर ८३ रनमै समेटियो । उसका लागि आर्यन भण्डारीले १५ र दिप्सन ज्ञवालीले १२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् र टीम पराजित भयो । बलिङमा लुम्बिनी शिक्षा निकेतनका तौफिक अहम्मद र अफताब आलमले ३–३ तथा मोहम्मद आसिफ, जावेद खान र अफसर खानले १–१ विकेट लिए । खेलमा तौफिक अहम्मद प्लेयर अफ द म्याच भइ ५ सय रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको शान्ति नमूनाले ९ विकेटको नोक्सानीमा १ सय २७ रनको बलियो योगफल बनायो । उसका लागि रोशन बस्यालले ३९ र समीर नेपालीले अविजित १४ रनको योगदान दिए । बलिङमा साई ग्लोबलका करम खानले ३, जावीर अली र मोहम्मद समिमले २–२ तथा साहज खानले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको साई ग्लोबल १४ ओभर ३ बलमा सबै विकेट गुमाएर ८७ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न शान्ति नमूनाका नवीन भण्डारीले ४, रोशन बस्याल र नितिष कुमार ठाकुरले २–२ तथा प्रमोद न्यौपानेले १ विकेट लिए । साई ग्लोबलका अदान अलीले २४, जावेद खानले १५ र करम खानले १० रन बनाए । खेलमा नवीन भण्डारी प्लेयर अफ द म्याच भइ ५ सय रुपैयाँ प्राप्त गरे ।
पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टीमले ५० हजार, उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

त्यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बेष्ट बलरले जनही ५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय तथा बेष्ट अनुशासित टीमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक भरत थापाले बताए । पुस २ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका २३ वटा टीम सहभागी छन ।

प्रकाशित मिति: २०२४-१२-१० , समय : १०:३२:३५ , १ हप्ता अगाडि