रुपन्देही खबर , १२७ पटक हेरिएको
भैरहवा , मंसिर २२
रुपन्देहीको रोहिणी गाउँपालिकामा १५ शैयाको अस्पतालको आज एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । रोहिणी गाउपालिका वडा नम्बर ३ लक्ष्मीनगरमा निर्माण हुने अस्पतालको आज शनिबार गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शिलान्यास गर्नु भएको छ ।
शिलान्यास गर्दै गाउपालिका अध्यक्ष यादवले १ विगाह ११ कठ्ठा क्षेत्रफलमा सुविधा सम्पन्न अस्पताल बन्ने बताउनु भएको छ । उहाले अस्पताल निर्माण भएपछि रोहिणीसँगै ओमसतिया गाउँपालिका र पश्चिम नवलपरासी जिल्लाका बिरामीको उपचार गर्न सहज हुने बिश्वास व्यक्त गर्नु भएको छ । उहाले अस्पतालको जग्गा प्रयाप्त रहेको बताउदै निर्माणाधिन गाउँपालिका भवन नजिकै अस्पताल बन्न लागेकोले अस्पतालका लागि जग्गादान गर्ने जग्गादाताहरुलाई धन्यवाद दिनु भएको छ ।
यस्तै गरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले अस्पताल निर्माणले स्वास्थ्य क्षेत्रको विकासमा टेवा पुग्ने बताउनु भएको छ । उहाले अस्पताल निर्माण भइसकेपछि सामान्य उपचारका लागि पनि रोहिणी गाउँपालिका बाहिर जानुपर्ने परिस्थितिको अन्त्य हुने विश्वास व्यक्त गर्नु भएको छ ।
शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजन, गाउपालिकाका प्रवक्ता एवंम रोहिणी–३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्री, वडाअध्यक्षहरु, जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, स्वास्थ्यकर्मी, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।
१३ करोड २३ लाख ४२ हजार १ सय ६८ रुपैयाँमा अस्पताल भवन निर्माण गर्ने गरी आकृति एभरेष्ट गंगोत्री देवी जे.भी., बुटवल–८ र रोहिणी गाउँपालिकाबीच सम्झौता भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनेवास प्रसाद चौधरीले बताउनु भएको छ । सम्झौता अनुसार निर्माण कम्पनीले २०८३ कार्तिक २२ गतेसम्म अस्पताल भवन निर्माण सम्पन्न गर्नेछ ।
प्रकाशित मिति: २०२४-१२-०७ , समय : १८:३२:५७ , ३ हप्ता अगाडि