आजदेखि भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव २०८१ सुरु

रुपन्देही खबर , १४६  पटक हेरिएको

भैरहवा, मंसिर २०

स्थानीय उत्पादनको बजारीकरण र प्रबद्र्धन, सुस्त रहेको आर्थिक क्षेत्रलाई चलायमान बनाउने र पर्यटन क्षेत्रको प्रचारप्रसारमा मद्दत गर्ने उद्देश्यका साथ रुपन्देहीको भैरहवामा बिहीबारदेखि नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ सुरु भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा भैरहवाको अञ्चलपुरमा सुरु भएको महोत्सवलाई लुम्बिनी प्रदेशका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आज एक कार्यक्रमका बिच उदघाटन गर्नु भएको छ ।

महोत्सवको उदघाटन गर्दै अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रकै गौरव भएकोले यसको सञ्चालनमा शंका नगर्न आग्रह गर्नु भएको छ । उहाले हालको टर्मिनल भवन निर्माण भए पनि त्यो अपुग रहेको बताउँदै अर्काे भवन निर्माण गर्न तयारी भइरहेको समेत बताउनु भएको छ । उहाले विमानस्थलबारे सरकारले गरेका निर्णयहरु क्रमशः कार्यान्वयन हुँदै गएकाले निजी क्षेत्रले गर्ने कामहरु समयमै गरे विमानस्थल राम्रोसँग चल्ने बिश्वास ब्यक्त गर्नु भएको छ ।

अर्थमन्त्री पौडेलले भैरहवालाई अझै पूर्वाधार युक्त र पर्यटकलाई आकर्षित गर्नुपर्ने खालको बनाउने बताउनु भएको छ । उहाले निर्माणधिन आयोजना देखाउँदै निराशा छर्ने काम भएको गुनासो गर्दै बुटवल–नारायाणघाट सडकमा केही समस्या देखिए पनि त्यसको समाधानको लागि सम्बन्धित देशसंग समन्वय गरिरहेको समेत बताउनु भएको छ । पौडेलले भैरहवालाई अझै पूर्वाधारयुक्त र विकसित बनाउन सरकारले लगानी गर्दै जाने जोड दिनु भएको छ ।

उहाले कानून संशोधन गरेर भए पनि सरकारले लगानीको वातावरण बनाउने बताउदैे मुलुकको आर्थिक अवस्था पहिलेको भन्दा सुध्रिँदै गएको जनाउँदै व्यवसायीहरुलाई निराश नहुन आग्रह गर्नु भएको छ । निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न सरकार अग्रसर भएको बताउनु भएको छ । उहाले यही सरकारले अर्थतन्त्रका सम्पूर्ण समस्या समाधान गरी मूलुक चलायमान बनाउने दावी गर्नु भएको छ । यस्तै गरी कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री सन्तोष कुमार पाण्डेयले यो मुलुक पर्यटनकै लागि बनेको बताउनु भएको छ । उहाले रुपन्देही जिल्लावासी संग लुम्बिनी भए पनि पर्यटक आउने वातावरण नभएको जिकिर गर्नु भयो । उहाले लुम्बिनीमा पर्यटक भित्राउन काम गर्नुपर्ने बताउद पर्यटकलाई अनावश्यक दुःख नदिन समेत आग्रह गर्नु भएको छ ।

उहाले जथाभावी प्रहरी चेकिङले पर्यटकले दुःख पाइरहेको बताउदै पाण्डेयले तेस्रो मुलुकका लागि मात्रै पर्यटक भन्ने तर, भारतीयलाई नभन्ने बानी रहेको बताउँदै अब त्यसलाई सुधार गर्न आवश्यक रहेको बताउनु भएको छ ।

 

यस्तै गरी सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले महोत्सवले यहाँको आर्थिक अवस्थालाई बलियो बनाउने बताउनु भएको छ । उहाले आर्थिक गतिविधि धेरै हुँदा समग्र अर्थतन्त्रलाई फाइदा गर्ने भएकोले यसका लागि यस्ता महोत्सव कोशेढुंगा सावित हुने बताउनु भयो । उहाले सिद्धार्थनगर नगरपालिकाले सबै क्षेत्रको एकीकृत विकास गरिरहेको समेत बताउनु भयो ।

यस्तै गरी नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले अहिलेको अवस्था उद्योगी–व्यवसायीमैत्री नभएको भन्दै सरकारले निराशालाई आशामा बदल्न नसकेको बताउनु भएको छ । उहाले अहिले उद्योग–व्यवसाय धमाधम बन्द भइरहेकोल यसलाई उकास्न जरुरी रहेको बताउनु भएको छ । उहाले सरकारले सहुलियत दिएर वा अन्य उपाय खोज्न जरुरी रहेको समेत उल्लेख गर्नु भयो ।

संघका अध्यक्ष एवंम महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुर कुमार श्रेष्ठले महोत्सवमा सबै उत्पादनको एकैथलोमा प्रदर्शन हुने भएकाले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने बताउनु भएको छ । उहाले महोत्सवमा आएर नयाँ उद्यम गर्न चाहनेले उद्यमशीलता बन्ने उपाय र योजना सिक्न सक्ने बताउनु भयो । उहाले व्यापार गरिरहेकाहरुका लागि यो मेला शिक्षा हुने र जो व्यापार गरेर स्थापित भएका छन उनीहरुका लागि यो अध्ययन हुने समेत बताउनु भएको छ ।

श्रेष्ठले गौतमबुद्ध विमानस्थललाई पूर्ण क्षमतामा चलाउनुपर्ने, भिषा, म्यानपावर, श्रम स्वीकति, नोअब्जेक्सन लेटर, स्वास्थ्य परीक्षण संस्था लगायत तत्काल खोल्न आग्रह गर्नु भएको छ । यस्तै, भारतीय पर्यटकले कम्तिमा ५ हजार डलर बोकेर नेपाल आउन पाउनुपर्ने, भैरहवामा नेपाल पर्यटक बोर्डको कार्यालय खोल्नुपर्ने, सेजमा देखिएका समस्या समाधान गर्नुपर्ने, ट्रंकलाइनको समस्या समाधान गरी पीडित उद्योगीलाई सहयोग गर्नुपर्ने, आईसीपीलाई रेल्वे कनेक्सनसम्म जोड्नुपर्ने, भैरहवाबाट सुर्खेत, नेपालगंज, विराटनगर, जनकपुर धनगढी लगायतमा आन्तरिक हवाई उडान सञ्चालन गर्नुपर्ने, बेलहिया नाकामा पर्यटकलाई सहज रुपमा आगमनको व्यवस्था गर्नुपर्ने, भैरहवाबाट बौद्धिष्ट मुलुकमा हवाई उडान गर्नुपर्ने लगायतका माग सरकारसँग गर्नु भएको छ ।

३ सय स्टल रहेको महोत्सवमा मुस्ताङको अर्गानिक स्याउदेखि दैलेखको घरेलु उत्पादनसम्म प्रदर्शनीमा राखिएको संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यले बताउनु भएको छ । उहाका अनुसार नेपालका ४० जिल्लाका उत्पादन महोत्सवमा प्रदर्शनी हुँदैछ ।

‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवले निजी क्षेत्रको मनोबल बृद्धि गर्ने अपेक्षा गरिएको महासचिव कृष्ण प्रसाद घिमिरेले बताए । महोत्सव उद्घाटन अघि करिब ३ सय संघ–संस्थाका प्रतिनिधिको सहभागीतामा भैरहवाको देवकोटाचोकदेखि बाजागाजासहित विभिन्न जातजातिको संस्कृतिका झाँकीसहित र्याली निकालिएको थियो ।

महोत्सव पुस १ गतेसम्म सञ्चालन हुनेछ । करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको महोत्सव २ लाख दर्शकले अवलोकन गर्ने संघका सचिव तथा प्रचार प्रसार समिति संयोजक मंगल भण्डारीले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२४-१२-०५ , समय : २३:०२:५२ , २ हप्ता अगाडि