रुपन्देहीको भैरहवामा टी २० इन्टर स्कुल क्रिकेट प्रतियोगिता २०८१ हुने

रुपन्देही खबर , १३६  पटक हेरिएको

भैरहवा, मंसिर २०

रुपन्देहीको भैरहवामा स्वर्गीय शेर बहादुर सेन्चुरी मेमोरियल टी २० इन्टर स्कुल क्रिकेट प्रतियोगिता २०८१ हुने भएको छ । रुपन्देही क्रिकेट संघको आयोजना तथा पर्वत ज्वेलर्स बैंकरोड, भैरहवाको मुख्य प्रायोजनमा यहि मंसिर २१ गतेदेखी पुस २ गते सम्म भैरहवाको सिद्धार्थ रंगशालामा क्रिकेट प्रतियोगिता २०८१ हुने भएको छ । रुपन्देही क्रिकेट संघले बुधबार भैरहवामा पत्रकार सम्मेलन गर्दै विद्यालयस्तरबाटै खेलाडी उत्पादनमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएकोे छ ।

प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका २३ टिम सहभागीता रहनेछ भने प्रतियोगिताका विजेता टीमले ५० हजार रुपैया सहित ट्रफी, मेडल प्रमाणपत्र, उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, म्यान अफ द सिरिजले १० हजार सहित ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याटर र बेष्ट बलरले जनही ५ हजार ट्रफी र प्रमाणपत्र, प्राप्त गर्नेछन भने प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैया तथा प्र्रमाणपत्र, तथा बेष्ट अनुशासित टीमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ४ लाख रुपैयाँ खर्च लाग्ने संघका कार्यबाहक अध्यक्ष धिरज क्षेत्रीले जानकारी दिनु भएको छ ।

यस्तै गरीं खेल संयोजक भरत थापाले निश्चित मापदण्डअनुसार खेलाडी समावेश गरी प्रतियोगिता गराइने बताउनु भएको छ । उहाले स्कूल लेबल बाहेकका खेलाडी सहभागी नहुने भएकाले खेलको विशेष महत्व रहेको बताउनु भयो। आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिने बताउदै उहाले सबैको सहयोगले संघले विगत लामो समयदेखि रुपन्देहीमा वार्षिक क्यालेण्डर बनाएर प्रतियोगिता गराउँदै आएको बताउनु भयो । संघका कोषाध्यक्ष निरज प्रताप खाणले प्रतियोगिताको ११ औं संस्करणसम्म आइपुग्दा संघले धेरै जुनियर र सिनियर टीमका खेलाडी उत्पादन गर्न सफल भएको बताउनु भएको छ ।

यस्तै गरी नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव एवं रुपन्देही क्रिकेट संघका पूर्वअध्यक्ष प्रशान्त विक्रम मल्ल लगायतले बोल्दै बिद्यालय स्तरको खेलले नै भोलिका दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपुर्ण भुमिका खेल्ने बताउनु भएको थियो । स्कूल लेबलको क्रिकेट खेलका खेलाडीहरु कुशल भूर्तेल, कुशल मल्ल, देव खनाल लगायत आज राष्ट्रिय टीममा रहेको जनाउँदै उहाले आगामी दिनमा पनि संघले गर्ने प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग पुर्याउने विश्वास ब्यक्त गर्नु भएको छ ।

पर्वत ज्वेलर्सका सञ्चालक विमल सेन्चुरीले आफ्नो स्वर्गीय हजुरबुवा शेरबहादुर सेन्चुरीको स्मृतिमा विगत लामो समयदेखि प्रतियोगितालाई मुख्य प्रायोजन गर्दै आउनु भएको छ ।

प्रकाशित मिति: २०२४-१२-०५ , समय : १०:४१:२६ , २ हप्ता अगाडि