रुपन्देही खबर , १८७ पटक हेरिएको
भैरहवा, मंसिर २०
रुपन्देहीको भैरहवामा आज देखि ‘नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१’ सुरु हुदैछ । महोत्सवको आज दिउँसो १ बजे उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुर कुमार श्रेष्ठले बताउनु भएको छ । आज महोत्सव उद्घाटन हुनुअघि बिहान साढे १० बजेदेखी भैरहवाको देवकोटा चोक बाट झाँकीसहित रयाली निकालिने उहाले जानकारी दिनु भयो ।
अध्यक्ष श्रेष्ठले नेपालका अधिकांश जिल्लाका उत्पादन महोत्सवमा रहने बताउदै मुस्ताङको अर्गानिक स्याउदेखि दैलेखको घरेलु उत्पादन राखिने समेत जानकारी दिनु भएको छ । उहाले महोत्सवमा सुरक्षाको राम्रो प्रबन्ध गरिएको र स्टलसँगै बाल उद्यानमा खेल्ने दर्शकको बीमाको समेत व्यवस्था गरिएको बताउनु भयो ।
२०६१ सालमा सिद्धार्थ उद्योग वाणिज्य संघले भैरहवामा महोत्सव सुरु गरेको जानकारी दिदै उहाले महोत्सव सञ्चालन गर्न ३३ सदस्यीय समिति गठन गरी जिम्मेवारी निर्वाह गरिरहेको जानकारी दिनु भएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवको स्टल व्यवस्थापन समिति संयोजक नेत्र प्रसाद आचार्यले महोत्सवमा ३ सय वटा स्टल निर्माण गरिएको र सबै स्टल बुक भइसकेको जानकारी दिनु भएको छ ।
महोत्सवमा करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा संघले गरेको छ । पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मुल नाराका साथ महोत्सव पुस १ गतेसम्म सञ्चालन हुने संघका सचिव तथा प्रचार प्रसार समिति संयोजक मंगल भण्डारीले बताउनु भएको छ
प्रकाशित मिति: २०२४-१२-०५ , समय : ०९:१६:५१ , २ हप्ता अगाडि