रुपन्देही खबर , ९१ पटक हेरिएको
भैरहवा, मंसिर १७
रुपन्देहीको भैरहवामा रहेको भीम अस्पतालमा निर्माण सम्पन्न भएको सेमिनार हल तथा फोहोर व्यवस्थापन भवन अस्पताललाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । आइतबार सेमिनार हल तथा फोहोर व्यवस्थापन भवन अस्पताललाई हस्तान्तरण गर्दै नगरप्रमुख इश्तियाक अहमद खाँँ ले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बिरामीलाई मुस्कान सहितको सेवा दिनुपर्ने बताउनु भएको छ । उहाले अस्पतालमा बिरामीको उत्तिकै चाप रहेकोले सरसफाईमा बिशेष ध्यान दिन आग्रह गर्नु भएको छ । उहाले बिहान १० बजेदेखि ४ बजेसम्म डियुटी गरेर मात्र नपुग्ने भएकोले अस्पतालप्रति अपनत्वको भावना हुनुपर्ने जोड दिनु भयो । यस्तै गरी कार्यक्रममा नगर उपप्रमुख उमा अधिकारीले अस्पतालमा सेवाग्राही प्रति राम्रो व्यवहार नभएको गुनासो आउन नदिनेतर्फ गम्भिर हुनुपर्ने बताउनु भएको छ ।
यस्तै गरी कार्यक्रममा बोल्दै अस्पताल प्रमुख डा. शकुन्तला गुप्ताले सिद्धार्थनगर नगरपालिकाको करिब ५९ लाख रुपैयाँको लागतमा भीम अस्पतालमा दुईवटा सेमिनार हल, फोहोर व्यवस्थापन भवन, भुइँमा ब्लक र खानेपानीका योजना सञ्चालन भएको जानकारी दिनु भएको छ । उहाले अस्पतालबाट गुणस्तरीय सेवा प्रवाह तथा अस्पतालको वृद्धि विकासका लागि हल तथा भवन निर्माण भएको जानकारी दिनु भएको छ ।
उहाले अस्पतालमा सेमिनार हल भएपछि आवश्यक तालिम, गोष्ठी तथा विभिन्न कार्यक्रम यही गर्न सहज हुने बिश्वास ब्यक्त गर्नु भएको छ । साथै उहाले अस्पतालको फोहोरमैला व्यवस्थापनलाई पहिलो प्राथमकितामा राखेको समेत बताउनु भयो । अस्पतालबाट सिर्जित फोहोरको व्यवस्थापन अब आधुनिक ढंगले हुने प्रमुख गुप्ताको भनाइ छ ।
कार्यक्रममा अस्पतालका व्यवस्थापक छम बहादुर अधिकारीले संचालन गर्नु भएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष सोम बहादुर गुरुङ, अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्मा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
प्रकाशित मिति: २०२४-१२-०२ , समय : ११:१०:४९ , ३ दिन अगाडि