रुपन्देही खबर , ५५ पटक हेरिएको
हामी सवैको प्रतिवद्धताः लैंगिक हिंसा अन्त्यका लागि ऐक्यवद्धता भन्ने राष्ट्रिय नाराका साथ ३३ औं अन्तराष्ट्रिय लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सोमबार बाट शुरु भएको छ ।अभियानको अवसर पारेर लुम्बिनी प्रदेश सहित देशैभर बिभिन्न कार्यक्रम गरि मनाईदैछ । यसैबिच संचारीका समुह लुम्विनी प्रदेशले लैंगिक हिंसा बिरुद्धको अभियानका अवसरमा संचारमाध्यममा लैंगिक नीति विषयमा सम्पादकसंग नीतिगत बहस गरि शुरुवात गरेको छ ।
रुपन्देहीका संचारमाध्यममा लैंगिक नीति र कार्यान्वयनको अवस्थाका विषयमा कार्यक्रममा छलफल गरिएको हो । कार्यक्रममा बोल्दै पत्रकार महासंघका सल्लाहकार डा. बालकृष्ण चापागाईंले पत्रकार संचालक वा मालिक भएर होईन रिपोर्टर भएर काम गर्न सुझाउनुभयो । उहांले संचालक वा मालिक वन्ने होडबाजिले पत्रकारको प्रतिभा मर्ने उल्लेख गर्दै पत्रकारीता मर्न नदिनका लागि रिपोर्टरकै भुमिकामा रहेर काम गर्न आग्रह गर्नुभएको हो । डा। चापागाइले पत्रकारिता पिडितहरुको पहिलो अदालत भएको भन्दै झुपडिबाट जमिनदारका विरुद्ध आवाज उठाउने पत्रकारीतालाई बचाउनु पत्रकारको दायित्व भएकोमा जोड दिनुभयो ।
संचारीका समुह लुम्विनी प्रदेशका अध्यक्ष अमृता अनमोलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार सीपि खनालले हालको मिडियाको स्थितिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने पत्रकार महांसघ रुपन्देहीका पुर्व अध्यक्ष तथा सल्लाहकार मोहन चापागाईंले प्रमुख टिप्पणीकारको रुपमा सहजीकरण गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल ,भरत केसी, मिलन गाहा, अमृत गिरी,हरिष ढकाल,दिनेश पाण्डे,कपिल ज्ञवाली लगायतले संचार माध्यमहरु विस्तारै लैंगिकमैत्री बन्ने प्रक्रियामा रहेको भन्दै नीति भन्दा पनि सोंचमा ध्यान पुर्याउन आवश्यक रहेको धारणा राख्नुभएको थियो । रुपन्देहीका बिभिन्न सञ्चार माध्यममा आवद्ध सम्पादक प्रकाशक सहभागी कार्यक्रमको संचालन संचारीका समुह लुम्विनी प्रदेशका सचिव रिया बस्नेतले गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२४-११-२६ , समय : १४:२७:०२ , ६ घन्टा अगाडि