रुपन्देही खबर , ६९ पटक हेरिएको
भैरहवा, मंसिर ११
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० को वडा अधिवेशन सोमबार भैरहवामा सम्पन्न भएको छ । सोमबार भएको अधिवेशनले सुरेन्द्र हरिजनको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको छ । वडा कमिटीको उपाध्यक्षमा विजय गिरी, सचिवमा नन्दराम मुराव, कोषाध्यक्षमा सकिना खातुन र सह–सचिवमा सेसन कोइरी रहनु भएको छ । त्यस्तै सदस्यहरुमा शिव बरई, आकाश कोइरी, महेन्द्र हरिजन, तामु सहानी, कैलाश हरिजन, रामचन्द्र बरई, सुनिता देवी कोइरी, बसरुद्दीन निशा, बरसातु तेली, कलामुद्दीन मुसलमान र रमेश धवल रहेको माओवादी केन्द्र सिद्धार्थनगरका सह–सचिव दिलिप प्रजापतिले जानकारी दिनु भएको छ ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य किस्मत वि.क.ले माओवादीलाई तल्लो तहबाट संगठित गर्दै जनतालाई पार्टीमा गोलबन्द गर्न आवश्यक रहेको बताउनु भएको छ । उहाले माओवादी बाहेक अन्य पार्टीको देशलाई समृद्ध बनाउने योजना नभएको कारणले नै जनताले माओबादीलाई रूचाइरहेको बताउनु भएको छ ।
त्यस्तै माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य तीर बहादुर रोकाय डार्बिन ले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारीको संरक्षण गर्न बनेकाले यो सरकारबाट नेपाली जनताको पक्षमा कुनै काम नहुने दावी गर्नु भएको छ । पार्टीको सिद्धार्थनगर इञ्चार्ज फैज अहमद खानले नेपाली जनताको अधिकार माओवादी केन्द्रकै कारणले प्राप्त भएको बताउनु भएको छ ।
माओवादी केन्द्र सिद्धार्थनगरका अध्यक्ष नारायण बहादुर हमालले पार्टीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले धेरै राम्रो काम गरेको दावी गर्नु भएको छ । नगर उपाध्यक्ष कमला थापाले पार्टीको धारणा, संगठन र महिला अधिकारको बारेमा आफनो भनाइ राख्नु भएको थियो ।
वडा कमिटीका अध्यक्ष रामचन्द्र कोइरीको अध्यक्षता, सिद्धार्थनगर कमिटी उपाध्यक्ष कमला थापाको स्वागत तथा नगर सह–सचिव दिलिप प्रजापतिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । माओवादी केन्द्र सिद्धार्थनगरको अधिवेशन यही मंसिर २९ गते हुँदैछ ।
प्रकाशित मिति: २०२४-११-२६ , समय : ०७:३३:०५ , ५ घन्टा अगाडि