उर्मिला यादव , ३५ पटक हेरिएको
भैरहवा, कार्तिक ७
रुपन्देही सियारी– ४ की रीता यादव (नाम परिवर्तित)को सानै उमेरमा बरछेकाइ गरियो । उनी अहिले २३ बर्षकी भइन । अहिले उनको काखमा २ बर्षको छोरा र ५ बर्षको छोरी छिन् । बरछेकाइ गरिएको २÷३ महिनामै बिवाह भयो । यतीबेला विवाह त भयो तर धेरै कुरा उनलाई नै याद छैन । बुवाको भनाई अनुसार उनको ११ वर्षकै उमेरमा बरछेकाई भएको हो । विवाहबारे उनको संक्षिप्त भनाई थियो –बुवाआमाले केटा खोज्नु भयो, बरछेकाइ गरिदिनु भयो । अरु केही पनि थाहा छैन । उनले थप अनविज्ञता प्रकट गरिन – केटा को हो, कस्तो छ, मलाई केही थाहा थिएन । केटाको बुवा, दाइ र दिदीको उपस्थितीमा बरछेकाइ गरिएको बुवाले बताएको रीताले सुनाइन । बरछेकाइमा केटा पक्षले १ तोला सुन, मोटरसाइकल सहित ५ लाख रुपैया र एउटा भैंसीको माग गरे । केटा पक्षले माग गरे अनुसार दुबै पक्ष सहमति भइ विवाह गर्ने दिन निधोसहित रीताको सानैमा विवाह गरियो । विवाह गरेपछि रीतालाई घरपक्षबाट पढनमा समेत रोक लगाइएको उनले बताइन । केटा नपढने भएकोले बुहारीलाई पनि नपढाउने भनेर उनको घरबाट माइती पक्षमा जानकारी गराएकोले उनलाई पढनबाट रोक लगाइयो र उनी पढनबाट बन्चित भइन । उनी आठ कक्षा सम्म मात्र अध्ययन गरेको बताउँछिन । विवाह भएको ५ बर्ष पछि उनको गौना गरियोे । गौनामा समेत रीताको बाबा÷ आमाले मनग्गे दाइजो दिएर छोरीको बिदाइ गरे । तर त्यो दाइजोले रीताको श्रीमानको मन भरिएन । थप दाइजो मात्र माग हुन थालेन । गाली गलौच र कुटपीट हुन थाल्यो । बिवाह गरेको केही समय भित्रमा नै उनको श्रीमानले दाइजोको नाममा कुटपिट गर्न शुरु गरेका हुन । श्रीमानको कुटपीटसँगै सासु ससुराको मानसिक तनाव समेत झेलीन तर असहय भएपछि उनी माइत पनि आइन तर फेरी माइतीले सम्झाएर घर पठाउथे । कुटपीट गर्ने र घर निकाला गर्ने क्रम नरोकीएपछि अहिले माइतीको शरणमा पुगेकी छिन । २ बर्षको छोरासहित ३÷४ महिना देखि माइतमा छिन ।
मर्चवारी– ३ की २१ बर्षिय सपना गौड (नाम परिवर्तित) अहिले बिए दोस्रो बर्षमा अध्ययनरत छिन । हेर्दा हसिलो र मिलनसार देखिने सपनाको दुई लाख नगद र मोटरसाइकल दिने सहमतिमा सानै उमेरमा बरछेकाइ भयो । । ६ देखि ७ लाख खर्च गरेर उनको विवाह पनि गरियो । तर विवाहको ११ बर्षपछि पनि गौना भने भएको छैन । उनी गौना गर्ने पक्षमा पनि छैनिन । घरमा नजाँदै केटाले फोनबाट गाली गलौच गर्ने हुँदा अब सपना त्यो घरमा जादै नजाने मुडमा छिन् । अहिले नै धम्क्याउँछ भने पछि के गर्ला ?–उनी आफैले आफैमाथि प्रश्न गर्छिन अनि उत्तर पनि खोज्छिन –जे भयो भयो । अब त्यो घरमा जाँदीन । उनी अझैं पढेर, बुझेर मात्रै अर्काे विवाह गर्ने सोचमा छिन ।
रीता र सपना एउटा हाम्रो समाजका उदाहरण मात्र हुन । यस्ता कयांै रीता र सपनाको सानै उमेरमा बरछेकाइ गरिएको छ । मनग्गे दाइजो दिएर पनि हिंसा सहेर बसेका छन । बरछेकाइमा गरिने लेनदेनका विषयले दाइजो प्रथालाई बढावा दिए पनि यसको बिरुद्धमा कोही पनि खुलेर बोल्न खोज्दैनन । बिपन्न समुदाय भन्दा पनि यो धनी र सम्पन्न परिवारमा बढी लागु हुने गरेको पाइएको छ । छोरालाई यदि राम्रो शिक्षा दिइएको छ भने शिक्षा दिए अनुसारको दाइजो माग गर्ने मधेशी समुदायमा चलन छ । खुलेर दाइजो मागेको नदेखिए पनि बरछेकाइको समयमा केटा पक्षबाट कति लिने, के के माग गर्ने सो बारेमा केटी पक्षसँग पक्कापक्की भए पछि मात्र बरछेकाइ गरिन्छ ।
मायादेवी गाउपालिका ६ मा रहेर २० बर्षदेखि पण्डित्याई गर्दै आएका प्रदिप त्रिपाठीका अनुसार केटा र केटी दुबै पक्ष विवाह गर्न राजी भए पछि मात्र बरछेकाइ गरिन्छ । उनी आफैले १ सय ५० भन्दा बढी बरछेकाइ गरेको स्वीकार्छन । उनका अनुसार बरछेकाइ भए पछि केटा केटी बिच विवाह हुने पक्कापक्की भएको बुझ्नुपर्दछ । पण्डित त्रिपाठीकाअनुसार विवाह गर्ने केटाको घरमा केटी पक्षले आफनो योग्यता अनुसार बिभिन्न किसिमका फलफुल, मिठाइ अन्य जिन्सी सामान लगायत नगद पैसा दिएर केटालाई टिका लगाउनु नै बरछेकाइ हो । बरछेकाइ हुनु नै अब यही केटा वा केटीसँग विवाह हुन्छ भनी दुबै परिवारले स्वीकार गर्नु हो । बरछेकाइ गरिदा केटा पक्षको आमा बुवा आफन्ती र केटी पक्षको बुवा, दाइ ,आफन्तीको बिचमा केटाको घर गएर टिका लगाइन्छ । जसमा विवाह गर्ने केटीको सहभागिता हुँदैन ।
प्रत्यक्षदर्शीका अनुसार पहिला पहिला सानै उमेरमा नै बरछेकाइ गरिन्थ्यो जसमा दुलाहा दुलही एक अर्कालाई हेर्न समेत पाउदैनथे तर पछिल्लो समय उमेर पुगे पछि मात्र बरछेकाइ गर्ने गरिएको छ । जसमा केटा केटीको समेत विवाह गर्ने सहमति हुने गर्दछ ।
पहिले केटाकेटीको कुण्डली मिलाएर बरछेकाइको दिन नै तिलक कहिले गर्ने, सुबहीको दिन र बिवाह गर्ने मिती तय गरिन्थ्यो । तर अहिले कुराकानी मात्र गरि क्षमता अनुसार केटालाई नगद दिएर बिवाहको दिन तय गरीदै आएको पण्डित त्रिपाठीले बताए । उनले बरछेकाइ मात्र नभइ अहिले तिलक पनि बिस्तारै हराउदै गएको बताए । सानै उमेरमा विवाह गरिदा बरछेकाइ हुने गर्दथ्यो तर अहिले दुइ परिवार बिच कुराकानी गरि सिधै विवाह गर्ने प्रचलन बढेकोले यो बिस्तारै हराउदै गएको पनि उनको बुझाइ छ ।
समय परिर्वतनसँगै बरछेकाइको स्वरुप पनि परिर्वतन हुँदै गएको छ । मायादेवी ६ बेथरीका स्थानीय धर्मराज ठाकुर बरछेकाइ आफैमा नराम्रो पक्ष मान्दैनन तर बरछेकाइ भइसकेपछि तिलकको नाममा लिने लेनदेनले समाजमा दहेज प्रथालाई बढावा दिएको हो कि झैं ठान्छन । बरछेकाइ परम्परागत चलन र एउटा बन्धन पनि हो जसमा दुइपक्ष सहमत हुनै पर्दछ तर कति लिनेदिने भन्ने विषय राम्रो नभएको उनको बुझाइ छ ।
मधेशी समुदायमा बिना बरछेकाइ विवाह नै नहुने मानव अधिकारकर्मी रामबिकास चौधरीको भनाइ छ । चौधरीका अनुसार बरछेकाइमा लेनदेनका कुरासँगै बयाना पनि गरिन्छ । बरछेकाइले समाजमा कुनै पनि समस्या सिर्जना नगरेको चौधरीको अनुभव छ । उनले बरछेकाइ भन्दा पनि तिलकले समस्या सिर्जना गरेको बताउँछन । विवाह गर्नका लागि बरछेकाइ गरिने र त्यही समयमा लेनदेनका कुरा गरिन्छ भने तिलकमा सामानहरु लेनदेन गरिन्छ । सानै उमेरमा गरिने बरछेकाइले समाजमा समस्या सिर्जना गरेको चौधरीले बताए । चौधरीका अनुसार पहिला पहिला कुनै कुनै जाति बिशेषमा बच्चा पेटमा हुदा नै बरछेकाइ हुने गर्दथ्यो जसले पछि गएर समस्या सिर्जना हुने गर्दथ्यो । तर पछिल्लो समय बालबिवाह न्युनीकरणमा सरकारले पहल कदमी चालेपछि सानै उमेरमा र पेटमै हुदा बरछेकाइ गरीने क्रम घटदो छ । दुइ चार बर्ष पछि विवाह गर्ने गरि गरिने बरछेकाइ गलत भएको चौधरीको बुझाई छ । उनका अनुसार बरछेकाइ गरि लामो समय सम्म विवाह नगर्दा विवाह समेत टुटने गरेको पाइएको छ । बरछेकाइ मधेशी समुदायमा मात्र हुने गर्दछ भने यो लिखित नहुने भएकाले यसको कुनै प्रमाण हुदैन । बरछेकाइ एउटा सामाजिक मुल्य मान्यता भएको अधिकारकर्मी चौधरी बताउँछन ।
सानै उमेरमा बरछेकाइ गर्दा कालान्तरमा केटा केटी बिच कुरा नमिल्दा समस्या उत्पन्न भएको सियारी गाउपालिकाकी उपाध्यक्ष तारा थारुले बताइन । उनले न्यायिक समितीमा घरेलु हिंसा र लेनदेन तथा जग्गा बिबादका घटनाहरु मात्र आउने गरेको बताइन । न्यायिक समिति संयोजक थारुले विवाहमा खुला रुपमा दाइजो लिएको पाइए पनि न्यायिक समितीमा दाइजो लेनदेन विवादको मुद्दा कमै दर्ता हुने गरेको जनाइन । महिला हिंसा सम्बन्धी उजुरीहरू न्यायिक समितिमा आउने गरे पनि बर छेकाई या दाइजोको कारण किटानी नहुने गरेको उनले बताइन ।
मधेशी समुदायमा विवाह गर्नका लागि गरिनेने बरछेकाइले कुनै पनि किसिमको समस्या उत्पन्न नगरेको मर्चवारी गाउपालिकाका अध्यक्ष गया बरईको दाबी छ । बरछेकाइ र तिलकमा गरिने लेनदेनको बिषय पालिकाबाट रोक्न नसकिने समेत उनले प्रष्टयाए । दाइजो खुलेर मागे पनि त्यो केटी पक्षबाट आफु खुसी दिने भएकोले यस बिषयमा पालिकाले कदम चाल्न नसक्ने उनको जिकिर थियो । मर्चवारमा बढदै गएको बालविवाह न्युनीकरणका लागि पालिकाले बालिका बिमा योजना ल्याएकोले केही हद सम्म बालविवाह समस्या हटेको उनले बताए ।
बरछेकाइको बारेमा कहि कतै कुनै कुरा उल्लेख नभएको र यो लिखित पनि नहुने भएकोले आवश्यक पहल कदमी लिन केही कठिनाई हुने उनको स्पष्टोक्ति थियो । सानै उमेरमा गरिने बरछेकाइ र लेनदेनको कुराकानीले केटी पक्षलाई प्रताडीत गरिरहेको पाइएकोले यसको रोकथाम गर्नु हरेक अभिभावक र पालिकाको कर्तव्य हो
प्रकाशित मिति: २०२४-११-२२ , समय : १४:१२:०५ , ११ घन्टा अगाडि