रुपन्देही खबर , ११३ पटक हेरिएको
भैरहवा, मंसिर ४
उद्योगी–व्यवसायीले पर्यटन क्षेत्रको प्रवर्द्धनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पुनः सुरु भएको र यसलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।
चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले भैरहवामा आयोजना गरेको रुपन्देहीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको स्वागत तथा परिचयात्मक कार्यक्रम उनीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भारतीय सीमासँग जोडिएको रुपन्देही जिल्लामा अवसर र चुनौती दुवै भएको बताउनु भएको छ। उहाले कार्यक्रममा उठेका समस्याको समाधानको बाटो खोज्ने बताउनु भएको छ । उहाले आफूले विगतमा भएका नयाँ अभ्यासलाई निरन्तरता दिने र नयाँ कार्य सुरुवात गर्ने बताउनु भएको छ। रात्रिकालीन व्यवसाय सञ्चालनले सुरक्षा चुनौती नहुने र व्यवसाय पनि चल्ने गरी अघि बढ्नुपर्ने उहाले जोड दिनु भयो ।
कार्यक्रममा उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडानका लागि विगतमा संगठनले दबाबमूलक कार्यक्रम गरेको बताउनु भएको छ । उहाले ‘पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिनुपर्ने बताउदै लामो समयदेखि निर्माण सुरु भएको बेथरी पुल हालसम्म निर्माण सम्पन्न भएको नभएकोले नागरिक र पर्यटकले सास्ती खेप्नुपरेको बताउनु भएको छ ।
रुपन्देही रात्रिकालीन मनोरञ्जनात्मक व्यवसायी संगठनका अध्यक्ष यादव प्रसाद आचार्यले रुपन्देही पर्यटकीय हब भएकाले रात्रिकालीन व्यवसाय सञ्चालनमा प्रशासनबाट सहयोग आवश्यक रहेको बताउनु भएको छ ।
लुम्बिनी ट्रक यातायात व्यवसायी संघका कार्यालय प्रमुख विष्णु कंडेलले भारतीय ओभरलोड गाडीले समस्या पारेको भन्दै यसप्रति विशेष ध्यान दिन आग्रह गर्नु भएको छ ।
त्यस्तै गरी संगठनकी सल्लाहकार ज्ञानु पौड्याल , मिश्रवलिया–उदयपुर टोल विकास समितिकी अध्यक्ष कमला रायमाझी, मदिरा व्यवसायी संघ भैरहवाका महासचिव यादव पोख्रेल, गोलिगढ टोल सुधार समितिका अध्यक्ष युवराज पाण्डे, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका महासचिव बाल बहादुर घिमिरे (सुनिल), होटल व्यवसायी महासंघका केन्द्रीय उपमहासचिव राजेश महोत्रा, उद्योग व्यापार संगठन रुपन्देहीका सल्लाहकार प्रकाश श्रेष्ठ, संगठनका सल्लाहकार दीपक बहादुर कुँवर, संगठनका वरिष्ठ उपाध्यक्ष सचिन रोक्का, संगठनका सचिव एवं प्रवक्ता कृष्ण प्रसाद पाण्डे, संगठनका पूर्वअध्यक्ष खिम बहादुर खत्री, नारायण प्रसाद भण्डारी लगायतले शुभकामना मन्तब्य राख्दै आ आफनो भनाइ राख्नु भएको थियो । भने संगठनकी महासचिव लक्ष्मी अधिकारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२४-११-१९ , समय : १४:४७:१९ , २ दिन अगाडि