भैरहवामा मंसिर २० गतेदेखि ९ औं लुम्बिनी राष्ट्रिय महोत्सव २०८१ हुने

उर्मिला यादव यात्री , १७४  पटक हेरिएको

भैरहवा, कार्तिक २५

पर्यटन, उद्योग, कृषि र ब्यापार, राष्ट्रिय समृद्धिको आधार भन्ने मुल नाराका साथ रुपन्देहीको भैरहवामा ९ औं लुम्बिनी राष्ट्रिय महोत्सव २०८१ हुने भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा मंसिर २० गतेदेखि पौष १ गते सम्म पर्यटन महोत्सव, कृषि तथा राष्ट्रिय औद्योगिक ब्यापार मेला २०८१ हुन लागेको संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले जानकारी दिनु भएको छ ।

महोत्सवले स्वदेशी तथा गुणस्तरीय बस्तु तथा सेवाहरुको उपभोग प्रति उपभोक्ताहरुलाई जागरुक बनाई सीमावर्ती बजारमा पाइने सामानहरु वीचको तुलनात्मक मूल्यका बारेमा उपभोक्ताहरुलाई जानकारी दिने, स्थानीयस्तरमा उत्पादित घरेलु तथा हस्तकलाका सामग्रीको बजार प्रवर्द्धन  गर्ने अध्यक्ष श्रेष्ठले बताउनु भयो । उहाले रुपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा व्यापारिक केन्द्रको रुपमा विस्तार गर्न, यस क्षेत्रका विभिन्न जातजातिका कला संस्कृतिको पनि संरक्षण गर्दै सिद्धार्थनगर र लुम्बिनी लगायत देशको आन्तरिक र बाह्र्य पर्यटनलाई प्रवर्द्धन  गर्ने, विभिन्न जिल्लाका मौलिक तथा विशिष्टता पहिचान भएको बस्तु तथा उत्पादनहरुको प्रर्दशनी तथा प्रवर्द्धन गर्ने मेलाको मुख्य उदेश्य रहेको बताउनु भएको छ । मेलामा विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठान, स्थानीय घरेलु तथा साना उद्योग, महिला उद्यमी व्यवसायीहरु गरी ३ सय स्टलहरु रहने समेत अध्यक्ष श्रेष्ठले जानकारी दिनु भएको छ ।

लुम्बिनीमा बाहय तथा आन्तरीक पर्यटकहरुको चासोलाई अभिवृद्धि गर्ने खालको महोत्सवसंग सान्दर्भिक विभिन्न प्रस्तुति, स्थानिय पर्यटन विकास तथा स्थानिय सीप र साधनको प्रयोग हुने घरेलु उत्पादनको प्रवर्द्धनको लागि विभिन्न सरोकारवालाहरुलाई एकै स्थलमा ल्याई छलफल गोष्ठीको आयोजना गरी कार्ययोजना समेत तय गर्ने कार्यक्रम रहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

महोत्सवमा यस क्षेत्रका विद्यालयहरुका विद्यार्थीहरुको  विभिन्न प्रतियोगिताहरुका माध्यमबाट महोत्सवसग जोड्ने र आकर्षण गर्ने कार्यक्रमहरु समेत आयोजना गरिने आयोजकले जनाएको छ ।

भैरहवामा हुने महोत्सवबाट आन्तरिक एवं बाहय पर्यटकको आगमनमा वृद्धि हुने तथा भारतीय सीमावर्ती शहरबाट पनि सहभागिता हुने हुँदा पर्यटन प्रवर्धन एवं आर्थिक गतिविधिहरु चलायमान हुने मेला प्रचारप्रसार समिती संयोजक मंगल भण्डारीले जानकारी दिनु भएको छ । उहाले भगवान गौतमबुद्धसंग सम्बन्धित लुम्बिनी, तिलौराकोट, देवदह, रामग्राममा अवस्थित पुरातात्विक पर्यटकीय क्षेत्रहरुमा विशेष प्याकेज बनाई भ्रमणको व्यवस्था समेत गरिएको जानकारी दिनु भएको छ ।

उपभोक्ता र उत्पादक एवंम किसानहरुको प्रत्यक्ष भेटघाट हुने यस महोत्सवबाट स्थानिय भेगमा उत्पादित कृषिजन्य बस्तुहरु माछा तथा यस क्षेत्रका कुटीर, घरेलु एवं राष्ट्रिय स्तरका उद्योगहरुबाट उत्पादित उत्पादनहरुको विशेष प्रस्तुतीकरण गरिनुका साथै यसबाट नयाँ उद्यमीहरुको विकास र कृषिको व्यवसायीकरणमा पनि उल्लेख्य भूमिका रहने सिद्धार्थ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यले जानकारी दिनु भएको छ ।

करिब ३ लाख दर्शकहरुले मेलाको अवलोकन गर्ने र मेलाबाट  करिब १० करोड रुपैया बराबरको कारोबार गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । मेलामा टिकटको मूल्य सर्वसाधारणको लागी १०० रुपैया तथा बिद्यार्थीहरुको लागी ५० रुपैया तोकिएको छ ।

प्रकाशित मिति: २०२४-११-१० , समय : १४:३५:१८ , २ हप्ता अगाडि