रवि लामिछानेलाई थप सात दिन थुनामा राख्न अदालतको अनुमति

रुपन्देही खबर , ७०  पटक हेरिएको

काठमाडौं , कार्तिक ८

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप सात दिन थुनामा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । बिहीबार जिल्ला अदालत, कास्कीका न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले रविसहित छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन थुनामा राख्न अनुमति दिएको  जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनु भएको छ ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । उनलाई सोही दिन राति पोखरा लगिएको थियो । सभापति लामिछानेलाई यसअघि असोज ४ गते ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो ।

लामिछानेविरुद्ध अदालतले दोस्रो पटक म्याद थपेर अनुसन्धान गर्ने अनुमति प्रहरीलाई दिएको हो । रवि गोर्खा मिडियामा प्रबन्ध निर्देशक थिए भने पूर्वडीआईजी जोशी उपाध्यक्ष थिए । पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा जोशी र लामिछानेलाई सहकारी ठगी तथा सङ्गठित अपराधको मुद्दा अघि बढाइएको छ ।

प्रकाशित मिति: २०२४-१०-२४ , समय : २०:०१:४७ , ४ घन्टा अगाडि