उसुको थाउलो विश्वकपमा सहभागी हुन नेपाली टोली जापान प्रस्थान

रुपन्देही खबर , ७७  पटक हेरिएको

काठमाडौं, कार्तिक ८
जापानमा आयोजना हुने उसुको तेस्रो थाउलो विश्वकप २०२४ मा सहभागि हुन पाँच खेलाडी सहित ७ सदस्यीय नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । थाउलो विश्वकप खेल्ने दक्षिण एशियाबाट नेपाल मात्र एक्लो राष्ट्र बनेको छ । प्रतियोगितामा सहभागी हुन ब्यवस्थापक र प्रशिक्षकसँगै ५ खेलाडी बुधबार त्यसतर्फ प्रस्थान गरेका छन । टोकियोस्थित योकोहा शहरमा कात्तिक ७ देखि १२ गते सम्म हुने प्रतियोगितामा नेपालबाट ५ खेलाडीले सहभागिता जनाउनेछन् । ५ खेलाडी, एक अन्तर्राष्ट्रिय प्रशिक्षक र एक ब्यवस्थापक गरी ७ जना त्यसतर्फ गएको नेपाल उसु महासंघले जनाएको छ ।
टोलीको ब्यवस्थापकका रुपमा रहेका नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामा रहनु भएको छ । उहाको नेतृत्वमा ७ सदस्यीय नेपाली टोली जापान गएको हो । यस्तै निकेश श्रेष्ठ अन्तर्राष्ट्रिय प्रशिक्षक छन ।

दक्षिण एशियाबाट छनोट भएर नेपाली खेलाडी मात्र थाउलो विश्वकपमा प्रतिस्पर्धा गर्दैछन । नेपालबाट दीपक हमाल, विजय सिंजाली, निमा घर्ती मगर, पासाङ शेर्पा र राजिव तामाङले प्रतिस्पर्धा गर्नेछन । नेपाली टोली बुधबार ग्वान्जाओ हुँदै बिहीबार टोकियोमा पुग्ने प्रशिक्षक श्रेष्ठले बताउनु भएको छ । विश्वकपमा भाग लिने नेपाली टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै पुगेर महासंघले शुभकामनासहित बिदाइ गरेको हो ।

विश्वकपमा सहभागी हुने खेलाडी गएको अप्रिलमा चिनमा भएको अन्तर्राष्ट्रिय आमन्त्रित उसु प्रतियोगिताबाट छनोट भएका थिए भने केही खेलाडीले वाइल्ड कार्डमार्फत प्रतियोगितामा स्थान पक्का गरेका छन । राजिव तामाङ बाहेक बाँकी चार खेलाडीले गत वर्ष चीनको हान्झाउमा भएको १९औं एसियन गेम्समा सहभागिता जनाएका थिए । यस्तै दिपक, निमा र विजयले २०१९ मा नेपालमै भएको १३औं सागमा स्वर्ण जितेका थिए ।

यसैगरी अर्को महिना उसुको सान्सौं विधाको विश्वकप अस्ट्रेलियामा हुँदैछ । जसमा नेपालबाट पुरुष ८० केजी तौल समूहमा संजिव महर्जन र सोहि विधाको महिला ५६ केजी तौल समूहमा विद्या गुरुङले प्रतिस्पर्धा गर्ने उसु प्रशिक्षक निकेश श्रेष्ठले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-१०-२४ , समय : १०:०३:५६ , ४ घन्टा अगाडि