बालविवाह रोक्न गैडहवा गाउँपालिकाले बालिका बीमा गर्दै

रुपन्देही खबर , १९६  पटक हेरिएको

भैरहवा,असोज २२

रूपन्देहीको गैडहवा गाउँपालिकाले गाउँपालिकामा जन्मिएका बालिकाहरुको बालिका बीमा गर्ने भएको छ । ‘छोरी बचाउ छोरी पढाउ अभियान’ अन्तर्गत गाउँपालिकामा जन्मिएका बालिकाको प्रोत्साहन, छोरीको शैक्षिक विकास, तथा बाल विवाह रोक्नका लागि गाउँपालिका अध्यक्ष बालिका बीमा योजना निर्देशिका २०८१ मा उल्लेख भए बमोजिम पालिका र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । 

गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्यालले बालिका बीमा कार्यक्रम ई–टेण्डरबाट खोलेर सम्झौता गरिएको बताउनु भएको छ। उहाले बालिकालाई शिक्षित बनाउन र बाल विवाह रोक्नका लागि बीमा कार्यक्रमले भूमिका खेल्ने बताउनु भयो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका लुम्बिनी प्रदेश उप–प्रमुख कृष्ण प्रसाद पोख्रेलले  बालिका बीमाले गैडहवामा जन्मिएका बालिकाको अभिभावक (बुवा वा आमा) को जाखिम बहन हुने गरी एकल भुक्तानीमा बालिका बीमा भएको बताउनु भएको छ । उहाले २० वर्षभित्र बालिकाको बुवा वा आमाको दुर्घटना वा कालगतिबाट मृत्यु भएमा कम्पनीको नियम अनुसार गाउँपालिकाको सिफारिस अनुसार बालिकालाई एकमुष्ठ भुक्तानी गरिने बताउनु भएको छ ।

सम्झौतापत्रमा गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा र निजहरुले रिफर गरेकाहरुमध्ये छोरी जन्मिएकालाई मात्र यो बीमा योजनामा आबद्ध गराउनुपर्ने छ । यो कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका बासिन्दालाई मात्र समावेश गराउनुपर्ने छ । रु. २० हजार रुपैयाँ मात्र एकमुष्ठ एकपटकको लागि मात्र बीमा शुल्क दिइने छ । बालिकाको उमेर २० वर्षसम्म पुग्दा अविवाहित रहेको सम्बन्धित वडा कार्यालयको प्रमाणसहित गाउँपालिकाको सिफारिसको आधारमा मात्र बिमितलाई भुक्तानी गर्नुपर्ने उल्लेख गरिएको छ । 

कम्पनी र पालिका बीचमा भएको सम्झौता अनुसार बालिकाको एकमुष्ठ २० वर्षका लागि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लि.मा गाउँपालिकाले बिमा गरेको छ । यदि बालिकाको २० वर्ष अगावै विवाह भएमा उक्त रकम गाउँपालिकाकै खातामा जम्मा हुने अर्थात अविवाहितको सिफारिस लिएर आउनुपर्ने सम्झौतामा शर्त राखिएको छ । 
गाउँपालिकाले आर्थिक वर्ष २०८१।०८२ को बजेटमा बालिका बिमाका लागि रु.२५ लाख बजेट बिनियोजन गरेकोे छ । 

 

प्रकाशित मिति: २०२४-१०-०८ , समय : २०:३७:०० , १ हप्ता अगाडि