भैरहवामा मानवीय सेवामा रेडक्रसको भुमिका बिषयक अन्तक्रिया

उर्मिला यादव यात्री , २७४  पटक हेरिएको

भैरहवा, असोज २१

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुपन्देहीले मानवीय सेवामा रेडक्रसको भुमिका बिषयक अन्तक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम भैरहवामा सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुपन्देहीका सभापति दीपक क्षेत्री न्यौपानेको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खां को प्रमुख आतिथ्यतामा आइतबार अन्तक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख खांले रेडक्रस जिल्ला शाखा रुपन्देहीले मानवीय सेवाका लागि खेलेको भूमिकाको एकदमै प्रशंसनिय रहेको बताउनु भएको छ । उहाले रेडक्रसमा सबै अटाएको र मानवीय सेवाले भरिएको सामाजिक संस्था भएको भन्दै आगामी दिनमा पनि यसले गरेका कार्यहरूको साखलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ । नगर प्रमुख खांले सिद्धार्थनगर नगरपालिकाले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुपन्देहीसंग समन्वय गरी काम गर्दै आएकोले सिद्धार्थनगर नगरपालिका भित्र बस्ने कुनै पनि ब्यक्तिलाई रगतको आवश्यकता परेमा सजिलै प्राप्त गर्न सकिने बताउनु भएको छ ।

यस्तै गरी नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेश अध्यक्ष लालप्रसाद पंगेनी कृष्ण रुपन्देहीमा सुचारु भएको ब्लड बैंक सफ्टवयेर र मोबाईल एपले रक्त सञ्चार र रक्तदान अभियानलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने बताउनु भएको छ ।

उहाले रुपन्देहीमा रगतको सहजताको लागी करिब ५ सय भन्दा बढी संघसंस्थाहरुले खेलेको भुमिका र नियमित रुपमा रक्त संकलन गरी महत्वपुर्ण भुमिका निर्वाह गर्ने सम्पुर्ण संघसंस्थाहरुलाई धन्यवाद दिदै यो सफ्टवेयर तथा मोबाइल एपबाट सहज ढंगले रगत ब्यवस्थापनमा मदत पुग्ने बताउनु भएको छ ।

उहाले आगामी दिनमा परिमार्जन र परिस्कृत गर्दै रुपन्दही शाखाले ब्लड बैंक संग सम्बन्धित सम्पुर्ण काम सक्रियताका साथ गर्ने र पैसाको अभावमा रगतबाट वञ्चित हुन नपर्ने उल्लेख गर्दै रक्तदान सम्बन्धी अभियानमा सबैलाई जोडिन आग्रह समेत गर्नु भएको छ । लुम्बिनी प्रदेश अध्यक्ष पंगेनीले मानवीय भावनालाई गाउँ घर सम्म पुर्याउनु नै रेडक्रसको अभियान रहेको बताउदै अहिले रेडक्रसको आवश्यकता र महत्व झन बढेर गएकोले तटस्थ रूपमा भएर गरिने कार्यमा रेडक्रसकर्मी चुक्न नहुने बताउनुभएको छ ।

यस्तै गरी नेपाल रेडक्रस रुपन्देहीका सभापति दीपक क्षेत्री न्यौपानेले नेपाल रेडक्रस सोसाईटी रुपन्देहीले ब्लड बैंक सफ्टवेयर तथा मोबाइल एप सुचारु गरेको जानकारी दिनु भएको छ । उहाले सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै रक्त सञ्चार सेवालाई पनि अत्याधुनिक, व्यवस्थित, मितव्ययी, जवाफदेही, पारदर्शी तथा डिजिटल रुपमा सञ्चालन गर्न सफ्टवयेर र माबाईल एप सञ्चालनमा ल्याइएको बताउनु भएको छ । उहाले ब्लड बैंक सफ्टवेयर तथा मोबाईल एप नेपालमै पहिलो भएको बताउदै आ.ब. २०८०। ८१ मा मात्रै ३४ हजार ६ सय १७ पिन्ट रगत बिरामीलाई रगत उपलब्ध गराइसकेको जानकारी दिनु भएको छ । उहाले रुपन्देहीका १६ पालिका, कपिलबस्तुका ६, गुल्मीका ५ र अर्घाखाचीका २ पालिका गरी २७ वटा पालिका संग समन्वय गरेर निशुल्क रगत उपलब्ध गराइरहेको बताउनु भएको छ । उहाले मोबाईल एपलाई थप व्यवस्थित र परिमार्जन गर्दै लैजाने बताउनु भएको छ ।

कार्यक्रममा दिनेश पन्थीले रेडक्रस आधारभुत सहसिद्धान्तको पाठ र रेडक्रस रुपन्देहीका उपसभापति रुपमा हिराचनको स्वागत मन्तब्य रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पुर्व केन्द्रिय सदस्य तथा जिल्ला कार्यसमिती सदस्य महेन्द्रमान श्रेष्ठ, सिद्धार्थ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष कुल प्रसाद न्यौपाने, नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका कोषाध्यक्ष शुशील गुरुङ, गैडहवा गाउपालिकाका रमेश ठाकुर लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाका सभापति राजेश जिसी,नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका उपमन्त्री अर्जुनराज उपाध्याय,ब्लड बैंक बुटवलका प्रमुख रामराज शर्मा, सुपर जिल्ला परियोजना प्रमुख दिवाकर सुवेदी, ब्लड बैंक भैरहवा मेडिकल कलेजका प्रमुख पदम बस्याल, लुम्बिनी टेक परिवारका हरि बन्जाडे, नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका उपसभापति रुपमा कुमारी हिराचन, नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका मन्त्री रामचन्द्र उपाध्याय, नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका कार्यसमिती सदस्य टेक बहादुर थापा, अल्ताफ हुसेन, जानकी घिमिरे, सिनपा वडा नम्बर ६ का वडासदस्य अनिल के.सी, हनुमान मन्दिर भैरहवाका अध्यक्ष नरेन्द्र रौनियार, बेलहिया मा.बि. ब्यवस्थापन समितीका अध्यक्ष देवराज न्यौपाने, सिद्धार्थ जेसिसका अध्यक्ष दिपक काफले लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-१०-०७ , समय : १०:३१:२७ , २ महिना अगाडि