रोहिणीमा गाउँब्लक जग्गाको जग्गाधनी प्रमाणपूर्जा वितरण

रुपन्देही खबर , १३०  पटक हेरिएको

भैरहवा, असोज २०

रुपन्देहीको रोहिणी गाउँपालिकामा ४५० थान जग्गाधनी प्रमाणपूर्जा लालपूर्जा वितरण गरिएको छ । रोहिणी गाउँपालिका ३ नम्बर वडा अन्तर्गत रहेका गाउँब्लक जग्गाको जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनु भएको छ ।

आइतबार रोहिणी गाउँपालिका र नापी कार्यालय रुपन्देहीद्वारा रोहिणी–३ धकधईस्थित श्रीराम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा आयोजित समारोहमा लालपूर्जा वितरण गरिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले लालपूर्जा वितरण गर्दै वर्षाैदेखि लालपूर्जा नपाएका जनतालाई लालपूर्जा दिन योजनाबद्ध तरिकाले लागिपरेको बताउनु भएको छ । उहाले लालपूर्जाबिहीन जनताले लालपूर्जा पाए भन्ने सन्देश दिन अभियानको रुपमा अघि बढेको बताउदै उखडा र बहालबिटौरी जग्गामा बसेका नागरिक पनि लालपूर्जाबाट वञ्चित भएको बताउनु भएको छ । उहाले जग्गाधनी प्रमाणपूर्जा दिन कानून परिवर्तन पनि गर्नुपर्ने अवस्था भएको बताउदै कतिपय कानून बनाउन बाँकी रहेको उल्लेख गर्नु भयो । कतिपय नागरिक वर्षाैदेखि पर्ती जग्गामा बसेको तर, उनीहरुको आफ्नै नाममा जग्गा नभएकोले त्यसको पनि व्यवस्थापन गर्ने गरी लागेको बताउनु भयो ।

मन्त्री अधिकारीले रुपन्देहीसहित तराईका धेरै जिल्लामा भूमिहीन, सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासी रहेका र उनीहरुलाई छिटोछरितो रुपमा जग्गा दिनका निम्ति लागिपरेकोे बताउनु भएको छ । उहाले जनताले एकातर्फ लालपूर्जा नपाएको र अर्काेतर्फ सरकारको राजस्व गुमेको बताउदै यी सबै कुराहरुलाई मिलाउनको निम्ति योजनाबद्ध तरिकाले लागेको र दशैैपछि आयोग गठन गर्ने बताउनु भयो ।

कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले आफू निर्वाचित भएपछि जनतालाई बाचा गरे अनुसार काम गर्दै आएको बताउनु भएको छ । उहाले विगतदेखि गर्दै आएको प्रयास आज सफल भएको बताउदै ‘गाउँब्लकमा जग्गा रहेका नागरिकहरुको लालपूर्जा नहुनु जटिल समस्याको रुपमा नै रहेको उल्लेख गर्दै यो समस्या समाधान हुन लागेको बताउनु भयो ।

नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत सुग्रीव यादवले ८४१ वटा गाउँब्लक र ६७५ हेक्टर जग्गाको पूर्जा वितरण गरिसकिएको जानकारी दिनु भएको छ ।

रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले जनताको आवाज लिएर अगाडि बढेको बताउदै वर्षाैदेखि बसोबास गर्दै आएका नागरिकले आफ्नो सम्पत्तिको हक पाएको बताउनु भएको छ ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीको अध्यक्षता तथा निर्देशक दामोदर ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२४-१०-०६ , समय : २०:०९:०५ , २ हप्ता अगाडि