शुभकामना आदान प्रदान संगै पक्लिहवा माविमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

रुपन्देही खबर , २५७  पटक हेरिएको

भैरहवा, असोज १९

पक्लिहवा मा.बि भूपू विद्यार्थी समाज भैरहवाको आयोजनामा पक्लिहवा मावि सिद्धार्थनगरमा अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

पक्लिहवा भूपू विद्यार्थी समाज पक्लिहवाका अध्यक्ष एवम् बहिरा बाल माध्यमिक विद्यालयका प्रधानाध्यापक भीमबहादुर थापाको अध्यक्षता तथा विद्यालयका पूर्व प्रधानाध्यापक लेखा थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लेखा थापाले विद्यालयमा पढाइका अतिरिक्त गरिने यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको सिकाइमा थप हौसला मिल्ने बताउनु भएको छ ।

यस्तै गरि कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सुशील गुरुङले पुरस्कार वितरण गर्दै भूपू विद्यार्थीहरूको नयाँ कार्यसमिति बनेपछि विद्यालयमा थुप्रै सिर्जनात्मक कार्यक्रम भएको बताउनु भएको छ ।

शिक्षक वासुदेव घिमिरेले सञ्चालन गर्नु भएको हाजिरीजवाफ प्रतियोगितामा लुम्बिनी सदन प्रथम ,बलभद्र सदन द्वितीय ,लालिगुराँस सदन तृतीय र सगरमाथा सदन प्रोत्साहन स्थान प्राप्त गर्न सफल भएका थिए ।

प्रतियोगितामा विद्यालयमा अध्ययनरत कक्षा ७ देखि कक्षा १० सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

भूपू विद्यार्थी समाजका महासचिव माधव शर्माको सञ्चालन गर्नु भएको कार्यक्रममा नेपालीहरुको महान पर्व बडा दशै ,दिपावली, तिहार ,नेपाल संवत तथा छठको अवसर पारेर गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व प्रधानाध्यापक लेखा थापा , पूर्व अध्यक्ष सुशील गुरुङ ,विद्यालयका प्रधानाध्यापक वसन्तकुमार बस्नेत , शिक्षक देवीप्रसाद न्यौपाने र नवकोपिला बालकल्बका अध्यक्ष नाजरुन निशाले शुभकामना व्यक्त गर्नुभएको शिक्षक देवीप्रसाद न्यौपानेले बताउनुभएको छ ।

प्रकाशित मिति: २०२४-१०-०५ , समय : २१:२४:४८ , २ हप्ता अगाडि