भारतीय नागरिकको हत्या आरोपमा रुपन्देहीमा एकजना पक्राउ

रुपन्देही खबर , ५४४  पटक हेरिएको

भैरहवा, असोज १८

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतीय नागरिकको हत्या आरोपमा एकजना नेपाली युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको गल्याङ नगरपालिका घर भइ हाल रुपन्देहीको तिलोत्तमा १६ मधवलिया बस्ने २४ वर्षिय आशिष भण्डारी रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

भारतको नयाँ दिल्ली बस्ने ३० वर्षिय मोहम्मद अज्जर खानको हत्याको आरोपमा भण्डारीलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रंजित सिंह राठौरले बताउनु भएको छ ।
एसपी राठौरका अनुसार गत भदौ ३१ गते तिलोत्तमा १३ मोडहास्थित धान खेतको बीचमा जेब्रा झोला भित्र सडेरगलेको अवस्थामा नाम, थर र वतन नखुलेको अन्दाजी २५ र ३० वर्षिय युवकको शव फेला परेको भन्ने प्रहरीलाई सूचना प्राप्त भएको थियो । उक्त शवलाई पोष्टमार्टमको लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगेर शव पहिचानको लागि स्थानीय सञ्चार माध्यम र जिल्ला प्रहरी कार्यालयको फेसबुकमार्फत हुलिया सम्प्रेषण गरिएको एसपी राठौरले जानकारी दिनु भएको छ ।

‘असोज १७ गते मृतक युवकको दाइ हैदर अली खानले अस्पतालमा गइ उक्त शव आफ्नो भाइ मोहम्मद अज्जर खानको रहेको भनी सनाखत गरेको एसपी राठौरले बताउनु भयो ।
प्रहरीका अनुसार मृतक र अभियुक्तबीच विगत ८ महिनादेखि भारतको दिल्लीमा फोटोग्राफीको सिलसिलमा चिनजान भएको थियो । दुवैजनाले एउटै एजेन्टमार्फत काम गर्दै आएको र अभियुक्त भण्डारी २ महिनाअघि दिल्लीबाट नेपाल फर्केका थिए । खान भदौ २४ गते भारतको गोरखपुरमा रहेको कुरा घरपरिवारलाई जानकारी भएपश्चात सम्पर्कबिहीन रहेको प्रहरीले जनाएको छ ।

‘मृतक अज्जु भन्ने मोहम्मद अज्जर खान भदौ २५ गते अभियुक्त भण्डारीको घरमा आएको अनुसन्धानबाट खुलेको छ । सोही दिन मृतक खान र अभियुक्त भण्डारीबीच वादविवाद हुँदा अभियुक्तले धारिलो हतियार प्रहार गरी मृत शवलाई तन्नाले बेरी बोराभित्र पोका पारेर उक्त पोकालाई जेब्रा झोलाभित्र राखी रातको समयमा आफ्नो घरदेखि ३ सय मिटर पश्चिम धान खेतमा लगेर फालेको एसपी राठौरले बताउनु भयो । घटनाबारे थप अनुसन्धान जारी रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-१०-०४ , समय : १६:५८:०३ , ३ हप्ता अगाडि