ओमसतिया वडा नम्बर ३ र ४ मा रहेका पसलहरुको अनुगमन

रुपन्देही खबर , १११  पटक हेरिएको

भैरहवा, असोज १८

रुपन्देहीको ओमसतिया गाउँपालिकाले वडा नम्बर ३ र ४ मा रहेका पसलहरुमा अनुगमन गरेको छ । अनुगमन समिति संयोजक समेत रहेकी गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, लेखा अधिकृत कमल शर्मा, उद्योग व्यवसाय, संघ–संस्था तथा राजस्व शाखाकी प्रमुख अमृता पाण्डे, प्रशासन शाखा प्रमुख रुपा थापा राउत, कृषि शाखा केशव चौधरी ,स्वास्थ्य शाखा सस्मिता खत्री लगायतको टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा अधिकांश व्यवसाय पालिकामा दर्ता नभइ सञ्चालनमा रहेको र नविकरण नभएको पाइएको समितिले जनाएको छ । त्यस्ता व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई दर्ता र नविकरणका लागि निर्देशन दिइएको छ ।

गाउँपालिकामा सञ्चालित व्यवसायहरुले मापदण्ड पूरा गरे/नगरेको, दर्ता भए/नभएको, गुणस्तर, मूल्यसूची लगायतको विषयमा अनुगमन गरिएको जनाइएको छ । 

अनुगमन समिति संयोजक चौधरीले यसलाई अब निरन्तर रुपमा अगाडि बढाइने बताउनु भएको छ । उहाले वडा नम्बर ४ देखि अनुगमनको सुरुवात गरेको बताउदै यसलाई क्रमशः अन्य वडामा लैजाने समेत बताउनु भएको छ । गाउँपालिकामा दर्ता र नविकरण नभएका धेरै व्यवसाय भेटिएकोले, दर्ता र नविकरण गर्ने निर्देशनसहित छोडेको बताउनु भयो ।

चौधरीले गाउँपालिका अन्तर्गतका सबै उद्योग, व्यवसायिक संस्था लगायत अन्य पसललाई पनि पालिकामा दर्ता हुन आग्रह गर्नु भएको छ । गाउँपालिकाको आन्तरिक राजस्वतर्फ व्यवसाय दर्ताले विशेष महत्व राखेको उहाको भनाइ छ । आगामी दिनमा दर्ता मात्र नभई पालिका अन्तर्गतका अन्य निकायमा पनि कडाइका साथ अनुगमन गरिने उपाध्यक्ष चौधरीले बताउनु भयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिपिन क्षेत्रीले पालिकामा सबै व्यवसाय र उद्योग दर्ता गर्न अनिवार्य रहेको बताउनु भएको छ । क्षेत्रीले पनि समयमै गाउँपालिकामा व्यवसाय दर्ता गरी सहयोग गर्न आग्रह गर्नु भएको छ ।

 

प्रकाशित मिति: २०२४-१०-०४ , समय : ०९:५६:०९ , २ हप्ता अगाडि