घाघरा खोलाको बाढिमा परि बेपत्ता भएका लोधको शव फेला

रुपन्देही खबर , २४७  पटक हेरिएको

भैरहवा, असोज १४

रुपन्देहीमा आएको बाढिमा परि शनिबारदेखि हराइरहेका दुध बोक्ने गाडीका सहचालकको शब फेला परेको छ । दुध बोकेर रुपन्देहीको मर्चवारदेखि भैरहवातर्फ आउदै गरेको भे १ च २६७६ नम्बरको जीपसंगै जीपका चालक र सहचालक बेपत्ता भएका थिए । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपि रंजितसिंह राठोरले जीपका सहचालक उमेश लोधको शव फेला परेको बताउनु भएको छ । लोधका परिवार आएर शवको पहिचान गरेको एसपि राठोरले जानकारी दिनु भएको छ । चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

जीपलाई हिजो आईतबार क्रेनको सहायताले सशस्त्र प्रहरी बल न. २७ हेडक्वाटर भैरहवा रुपन्देहीको बिपद् व्यवस्थापन टोलीले गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलको दक्षिण तर्फका घाघरा खोलाबाट निकालिएको थियो । जीपका चालक प्रकाश तामाङ भने अहिलेसम्म वेपत्ता छन् । उनको खोजी कार्य जारी रहेको रुपन्देही प्रहरीले जनाएको छ । 

सम्मरीमाई गाउँपालिका–५ रोइनिहवास्थित तिवारी दुध संकलन केन्द्रबाट सो गाडी दुध लिएर शनिबार बिहान ५ बजे भैरहवा आउँदै गरेको थियो । सोही क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पछाडी रहेको घाघरा खोलाबाट हराएको थियो । 

प्रकाशित मिति: २०२४-०९-३० , समय : १०:५०:३२ , ४ हप्ता अगाडि