रुपन्देही खबर , २२२ पटक हेरिएको
काठमाडौँ, असोज १२
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ६ जनाको मृत्यु भएको छ । बाढीपहिरो लगायत विपदमा परी सात जना घाइते र सात जना बेपत्ता भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनु भएको छ ।
पहिरोबाट पाँचथर, धनकुटा, काभ्रेपलाञ्चोक र ललितपुरलगायत जिल्लामा केही घर पुरिँदा मानवीय क्षति भएको छ । क्षतिको पूरा विवरण आउन बाँकी छ ।बाढीपहिरामा बेपत्ता भएकाको खोजी जारी छ । पछिल्लो विपद्बाट करिब चार सय नागरिक विस्थापित भएका र विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उहाले बताउनु भएको छ । उद्धार गरिएका नागरिकको व्यवस्थापनमा तदारुकताका साथ काम भइरहेको छ ।
प्रहरी प्रवक्ता कार्कीका अनुसार एक सय ५० भन्दाबढी स्थानमा बाढीपहिरो लगायत विपद्का घटना भएका छन । २८ स्थानमा प्रायः सबै राजमार्ग, मुख्य सडकमार्गहरु अवरुद्ध छन । अवरुद्ध सडक खुलाउन सबै निकायसँग समन्वय भइरहेको प्रहरी नायब महानिरीक्षक कार्कीले बताउनु भएको छ ।
काठमाडौँको नदी करिडोरका सडक बन्द
काठमाडौँको वाग्मती, विष्णुमति, हनुमन्ते लगायत खोलामा जलसतह बढेपछि करिडोरका सडक प्रायः बन्द भएका छन । सबै खोलामा करिडोर सडकमा पानी उक्लने अवस्था बनेको छ । प्रहरीले नदी करिडोर तथा डुबान हुनसक्ने सबै क्षेत्रमा सचेत गराएको प्रवक्ता कार्कीले जानकारी दिनु भएको छ । “नेपाल प्रहरीका टोली देशभरि नै परिचालित भएका छन । प्रहरीको सम्पूर्ण ध्यान अलिहेको विपद्बाट हुनसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्नेमा केन्द्रित छ”, उहाले भन्नु भयो । मुलुकभर निरन्तर वर्षाको अवस्था रहेको छ । जल तथा मौसम विज्ञान विभागले भोलिसम्म अविरल वर्षा हुने पूर्वानुमान गरेको छ ।
प्रकाशित मिति: २०२४-०९-२८ , समय : १०:५४:३४ , २ महिना अगाडि