भैरहवामा बीएचटीएम अध्ययन गर्ने बिद्यार्थीलाई पढदै,सीप सिक्दै कमाउने अवसर

रुपन्देही खबर , ४३  पटक हेरिएको

भैरहवा, असोज ७

लुम्बिनी बौद्ध बिश्वबिद्यालय र सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटीले ब्याचलर इन हस्टिपालिटी एण्ड टुरिजम म्यानेजमेन्ट बीएचटीएम अध्यापन गराउने भएको छ । सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटी र लुम्बिनी बौद्ध बिश्व बिद्यालय बिच भएको सहकार्यले बीएचटीएम अध्ययन गर्ने बिद्यार्थीले पढदै ,सीप सिक्दै कमाउने अवसर पाउने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले जानकारी दिनु भएको छ । कक्षा संचालन मंसिरको पहिलो हप्तादेखि सिद्धार्थ भिलासा होटेल भैरहवामा हुने आयोजकले जनाएको छ । एउटा सेसनमा बढीमा ४० जना बिद्यार्थी रहने र होटेलको छुटटै भवनमा सैद्धान्तिक कक्षा , पुस्तकालय, स्टुडियो ल्याब, र प्रशासनिक क्रियाकलापहरु प्रयोजनमा कार्यालय संचालन गरिने न्यौपानेले बताउनु भयो ।

उहाले यस सहकार्य मार्फत विद्यार्थीहरुलाई बौद्ध दर्शन समेतको सैद्वान्तिक र व्यवहारिक ज्ञानका साथै यस प्रकारको डिग्रीबाट अझ धेरै प्राज्ञिक विशिष्टता हासिल गर्दै सक्षम र सबल जनशक्ति उत्पादन हुने र समग्र व्यवसायिक क्षेत्रले लाभ प्राप्त गर्ने बताउनु भएको छ ।

बीएचटीएम अध्ययनले विद्यार्थीहरुलाई खानपान, आवास, उडड्यन, सेमिनार, साहसिक पर्यटन र टूर अपरेशनहरुमा व्यवस्थापकीय साथै उद्यमशीलताका क्षेत्रमा काम गर्न तयार पार्ने आयोजकले जनाएको छ ।

यस पाठ्यक्रमका लागि सम्बन्धित विज्ञहरुसँग कार्यशाला, गोष्ठीहरुको गरेर उहाँहरुको राय सल्लाह सुझाव लिएर कोर्स तयार गरिएको न्यौपानेले बताउनु भयो । उहाका अनुसार विद्यार्थीले पहिलो सेमेस्टरमा प्राथमिक, दोस्रो सेमेस्टरमा आधारभूत, तेस्रोमा एडभान्स, चौथोमा विशेषज्ञता, पाँचौंमा अपरेसन र छैठौं सेमेस्टरमा व्यवस्थापक तालिम लिनेछन । यसका लागि विद्यार्थीहरुलाई होटलका विभिन्न विभागहरुमा तालिम दिइने न्यौपानेले जानकारी दिनु भएको छ । उहाले विद्यार्थीले कक्षाकोठामा सैद्वान्तिक ज्ञान पाउने र बाँकी अवधिमा अतिरिक्त काम गरी कमाउन सक्ने गरी पाठ्यक्रम तयार गरिएको बताउनु भएको छ ।

बीएचटीएम कोर्सको शुल्क रु ७ लाख निर्धारण गरिएको र जसमध्ये कम्तीमा ६५–७० प्रतिशत रकम विद्यार्थी कोर्स सकाउन पूर्व नै कामबाट कमाउन सकिने न्यौपानेले बताउनु भएको छ । जसले गर्दा अभिभावकहरुलाई आर्थिक व्ययभार कम हुनेछ भने यसका साथै विद्यार्थीहरुलाई शैक्षिक कर्जा व्यवस्थाको पनि योजना बनाइएको उहाले जानकारी दिनु भयो । यो सहकार्य अन्तर्गत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई पढ्नका लागि बैंकबाट कर्जा प्रवाहका लागि सहजीकरण गरिनेछ उहाले बताउनु भएको छ । विद्यार्थीहरुले पढाइका अवधिमा कमाएको पैसा किस्ताका रुपमा तिर्न पनि सक्ने गरी योजना बनाइएको छ ।

यो कोर्स सकेपछि विद्यार्थीले सुपरभाइजरदेखि सहायक म्यानेजरसम्मको पदमा काम गर्न सक्षम हुने न्यौपानेले बताउनु भएको छ । कोर्समा स्थानीय तथा बाह्य, मध्यम आर्थिक अवस्था भएका तर, लगनशील विद्यार्थीहरुलाई प्राथमिकता दिइने उहाले बताउनु भएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्टार डा. तिलकराम आचार्यले विद्यार्थीहरुलाई सैद्वान्तिकसँगै प्रयोगात्मक शिक्षामा थप सहयोग पुगोस भन्ने उद्देश्यले उपयुक्त ल्याब उपलब्ध हुने गरी सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटीसँग सहकार्य भएको बताउनु भएको छ।

प्रकाशित मिति: २०२४-०९-२३ , समय : ०८:४९:२१ , ४ हप्ता अगाडि