खुल्ला सीमाका कारण स्वदेशी व्यवसायी मर्कामा:उद्योग ब्यवसायी

रुपन्देही खबर , ४७  पटक हेरिएको

भैरहवा,असोज ६

खुल्ला सीमानाकाका कारण स्वदेशी व्यवसायी मर्कामा परेको भैरहवाका उद्योगी ब्यवसायीहरुले गुनासो गरेका छन । चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) ले भैरहवामा आयोजना गरेको नवआगन्तुक कार्यालय प्रमुखहरुको स्वागत तथा शुभकामना कार्यक्रममा उनीहरुले एकीकृत चेकजाँच विन्दु पूर्ण रुपमा कार्यान्वयन हुन नसकेका र खुल्ला सीमाका कारण सामानहरुको अवैध चोरी पैठारी भएकोले स्वदेशी व्यवसायी मर्कामा परेको बताएका हुन । उनीहरुले यस तर्फ ध्यान दिन आग्रह समेत गरेका छन ।


उद्योगी–व्यवसायीले आफूहरुका लागि अहिले जटिल समस्या रहेको समेत बताएका छन् । उनीहरुले आन्दोलन, भुकम्प, नाकाबन्दी, महामारी लगायत विभिन्न चुनौतीको सामना गर्दै आए पनि यतिबेला भने उद्योगी–व्यवसायीका लागि निकै जटिल समस्या भएको बताएका हुन् । कार्यक्रममा संगठनका अध्यक्ष दर्पण श्रेष्ठले खुल्ला सीमाका कारण सामानहरुको अवैध चोरी पैठारी भएको र यसले स्वदेशी व्यवसायी मर्कामा परेको बताउनु भएको छ । उहाले करको दर नभइ दायरा बढाउनुपर्नेमा जोड दिनु भएको छ । अध्यक्ष श्रेष्ठले भन्नु भयो ‘एकीकृत जाँच चौकी (आईसीपी) छिटो सञ्चालन हुनुपर्छ । त्यस्तै एकीकृत चेकजाँच विन्दु पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको गुनासो छ । यसतर्फ पनि ध्यान दिनुपर्छ ।’
संगठनका निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवालीले उद्योग–व्यवसायमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिनु भएको छ । उहाले फूल अडिटको नाममा व्यवसायीहरुलाई दुःख दिन नहुने बताउनु भएको छ । उहाले भन्नु भयो , ‘कर उठाउने र लक्ष्य पूरा गर्ने नाममा व्यवसायीलाई दुःख दिइनु हुँदैन । ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउनुपर्छ ।’
पूर्वअध्यक्ष तथा सल्लाहकार नारायण प्रसाद भण्डारीले पछिल्लो समय धेरै उद्योगहरु बन्द भएको बताउनु भएको छ । उहाले भन्नु भयो , ‘मुख्य बजारका सटरहरु बन्द भएका छन् । माग कम हुँदा वस्तुको उत्पादन समेत घटेको छ । उद्योगी–व्यवसायीका लागि अहिले जटिल समस्या छ । निजी क्षेत्रलाई मर्कामा पार्ने काम गर्नुहुँदैन ।’ उहाले पार्किङलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनु भएको छ ।
संगठनका पूर्वअध्यक्ष, सल्लाहकार तथा नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका कोषाध्यक्ष खिमबहादुर खत्रीले सरकारी निकायसँग सहकार्य गर्दै अघि बढ्न आग्रह गर्नु भएको छ । उहाले अवैध रुपमा नेपालमा सामान भित्रिन नदिन कडाइ गर्नुपर्नेमा जोड दिनु भएको छ ।

संगठनका सल्लाहकार भोपेन्द्र प्रसाद यादवले यतिबेला व्यवसायी तथा सर्वसाधारण मर्कामा परेको बताउनु भएको छ । उहाले भारतीय पर्यटकलाई दुःख दिन नहुनेमा जोड दिनु भएको छ । उहाले भन्नु भयो , ‘केही ट्राफिक प्रहरीले बोली–व्यवहारमा सुधार गर्नुपर्छ । यहाँ पार्किङको समस्या छ ।’ चोरी तस्करी नियन्त्रण गर्न सम्बन्धित निकायले तदारुकता देखाउनुपर्ने उहाको भनाइ छ ।
संगठनका वाणिज्य उपाध्यक्ष राम मिलन यादवले खाना पकाउने ग्यास ढुवानी गर्दा केही समस्या रहेकाले उक्त समस्या समाधान गर्नुपर्नेमा जोड दिनु भएको छ ।
लुम्बिनी ट्रक यातायात व्यवसायी संघका सचिव बाल किसुन गुप्ता बनियाले नेपाली ट्रक यातायात व्यवसायी मर्कामा परेको गुनासो गर्नु भएको छ । रुपन्देही रात्रिकालीन मनोरञ्जनात्मक व्यवसायी संगठनका अध्यक्ष यादव प्रसाद आचार्य (वाई.पी.) ले नेपाल आउने पर्यटकलाई कम्तीमा पनि एकदिन बसाल्ने वातावरण बनाउनुपर्नेमा जोड दिनु भएको छ ।
उद्योग व्यापार संगठन, रुपन्देहीका सल्लाहकार टीकाराम भट्टराईले रुपन्देही चुनौती र सम्भावना बोकेको जिल्ला भएको बताउनु भएको छ । उहाले व्यवसाय धरासायी भएको बताउनु भएको छ ।
संगठनकी महासचिव लक्ष्मी अधिकारीले करले नभइ रहरले तिर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकी प्रमुख प्रहरी निरीक्षक रन्जु के.सी.ले ट्राफिक प्रहरीले ऐन कानून बाहिर रहेर काम नगर्ने स्पष्ट पार्नु भएको छ । उहाले सल्लाह–सुझाव ग्रहण गरेर अघि बढ्ने बतउनु भएको छ । उहाले भन्नु भयो , ‘सुरक्षित सडक व्यवस्थापनमा कार्यालय सचेत छ । हामीले एक्लै गरेर मात्र हुँदैन । सबै मिलेर अघि बढ्नुपर्छ । हाम्रो मनसाय कसैलाई पनि दुःख दिने हुँदैन । समस्याहरुको समाधान खोज्नुपर्छ ।’
आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेम राज पोखरेलले बदमासी गर्नेहरु डराउनुपर्ने बताउनु भएको छ । उहाले कानूनविपरीत कार्य गर्नेहरुलाई छोड्यो भने राम्रो काम गर्नेहरुको संरक्षण कसरी हुन्छ भन्दै प्रश्न समेत गर्नु भएको छ ।
प्रमुख कर अधिकृत पोखरेलले विकास जनताको आवश्यकता भएको र करदाताको पैसाले नै विकास हुने बताउनुभएको छ । उहाले लक्ष्य पूरा गर्ने नाममा कार्यालयले व्यवसायीलाई दुःख दिने र धरपकड नगर्ने स्पष्ट पार्नु भयो ।

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले आलोचनाले सुधारको सुरुवात हुने बताए । उहाले भन्नु भयो ‘सुझाव भन्दा बढी आलोचना हुनुपर्छ, त्यसले सुधारको बाटो आउँछ । चुनौतीको सामना गर्न आएका छौं, यहाँहरुको सहयोग चाहिन्छ । सही कामका लागि हातेमालो गर्न तयार छौं ।’
प्रमुख भन्सार अधिकृत रेग्मीले वैध व्यापारलाई सहजीकरण गर्ने भन्सारको पहिलो काम भएको बताउनु भएको छ । उहाले अवैध व्यापारलाई नियन्त्रण र निरुत्साहित गरेर वैध व्यापारको सहजीकरण हुने बताउनु भएको छ । उहाले सीमामा हुने चोरी तस्करी नियन्त्रण गर्न व्यवसायीको सहयोग आवश्यक रहेकोमा जोड दिनु भएको छ । उहाले लक्ष्य अनुसार राज्यले राजस्व संकलन गर्न नसकेको बताउनु भयो ।
कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख राम प्रसाद रेग्मी, आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेम राज पोखरेल र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही प्रमुख रन्जु के.सी.लाई स्वागत गरिएको उद्योग व्यापार संगठन, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२४-०९-२२ , समय : १९:३४:५९ , २ महिना अगाडि