रोहिणीमा विभिन्न कार्यक्रम गरी राष्ट्रिय शिक्षा दिवस मनाइयो

रुपन्देही खबर , ६७  पटक हेरिएको

भैरहवा, असोज ३

राष्ट्रिय शिक्षा दिवस–२०८१ को अवसरमा रुपन्देहीको रोहिणी गाउँपालिकामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । दिवसको अवसरमा गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विभिन्न प्रतियोगिता, सम्मान, शैक्षिक बहस एवं पुरस्कार वितरण गरेको हो ।

रोहिणी–३ स्वामीनगर, धकधईस्थित श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा प्राथमिक तहका शिक्षकहरुबीच मैत्रीपूर्ण ज्ञान आदानप्रदान, माध्यमिक तहका विद्यार्थीहरुबीच प्रतिष्र्धात्मक हाजिरीजवाफ प्रतियोगिता, विद्यालयस्तरीय शिक्षक वक्तृत्वकला प्रतियोगिता र माध्यमिक तह विद्यार्थीस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले बताउनु भएको छ ।

जसअन्तर्गत माध्यमिक विद्यालयस्तरीय विद्यार्थी हाजिरीजवाफ प्रतियोगितामा बगहा माध्यमिक विद्यालय प्रथम, बुद्ध त्रिवेणी पब्लिक हाई स्कूल द्वितीय र श्री छिपागढ माध्यमिक विद्यालय तृतीय भएका छन् ।

त्यस्तै विद्यालयस्तरीय शिक्षक वक्तृत्वकला प्रतियोगितामा श्री राम नरेश यादव आदर्श नमूना माविका चन्द्रमणी बस्नेत प्रथम, पोखरभिण्डी माविका पुनम क.सी. द्वितीय र बोदवार मावि.का रामराज गौतम तृतीय हुनुभएको निर्णायक मण्डलका संयोजक तथा श्री पशुपति मावि तिलोत्तमाका प्रधानाध्यापक वेदनारायण भट्टराईले जानकारी दिनु भएको छ ।

त्यसै गरी माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा युनिक होम्स ईङलिस बोर्डिङ स्कूलकी सिर्जना उपाध्याय प्रथम, बगहा माविकी अम्विया खातुन द्वितीय र पोखरभिण्डी माविकी सायमा खातुन तृतीय भएको रोहिणी गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक नारायण ढुंगानाले जानकारी दिनु भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने शिक्षकहरुलाई क्रमशः रु. १० हजार, ८ हजार र ६ हजार तथा विद्यार्थीहरुलाई क्रमशः रु. ५ हजार, रु. ४ हजार र रु. ३ हजार पुरस्कार तथा मेडल तथा ट्रफी प्रदान गरिएको थियो ।

विद्यार्थी तथा शिक्षकहरुलाई पुरस्कार वितरण गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शिक्षाको विकासका निम्ति गाउँपालिका लागिपरेको बताउनु भएको छ । उहाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने बताउनु भएको छ ।

गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजनले रोहिणी गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवस भव्य रुपमा मनाएको बताउनु भएको छ । उहाले शिक्षाको विकासले समग्र विकास हुने बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले शिक्षा विकासको आधारस्तम्भ भएको बताउनु भएको छ। उहाले शिक्षाको विकास बिना पालिकाको समग्र विकास हुन नसक्ने बताउनु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सहायक महामन्त्री ताहिर अलीले शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिनु भएको छ । उहाले शिक्षामा धेरै भन्दा धेरै बजेट विनियोजन गर्न आग्रह गर्नु भएको छ ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेता सतिशचन्द्र मिश्राले यस्ता कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकालाई आग्रह गर्नु भएको थियो । उहाले भन्नू भयो ‘गाउँपालिका अध्यक्ष र टीमले शिक्षाको विकासमा धेरै चासो राख्नुभएको छ । उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।’

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का केन्द्रीय सदस्य महेन्द्र गुप्ता (प्रशान्त) ले शिक्षाको गुणस्तर सुधार्न गाउँपालिका लागिपरेको र यो सराहनीय कार्य भएको बताउनु भएको छ । उहाले रोहिणीलाई शिक्षामा नमूना गाउँपालिका बनाउनुपर्नेमा जोड दिनु भएको छ ।

श्री पशुपति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नागेन्द्र प्रसाद धवलले सबैले सहकार्य गर्दै अघि बढे शैक्षिक गुणस्तर वृद्धि गर्न सकिने बताउनु भएको छ ।

श्री सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक धनेश्वर कंवरले शिक्षकलाई मात्र दोष दिएर नहुने बताउनु भएको थियो । गाउँपालिकाको शिक्षा समिति सदस्य तथा युनिक होम्स इङलिस बोर्डिङ स्कूलका प्रिन्सिपल मनोज कुमार यादवले गाउँपालिकाको पाइलामा आफूहरुको साथ र सहयोग रहने प्रतिवद्धता जनाउनु भएको छ ।

कार्यक्रममा उत्कृष्ट शिक्षक, सहायक कर्मचारी, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, कार्यालय सहयोगी लगायतलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: २०२४-०९-१९ , समय : १३:२३:३९ , २ महिना अगाडि