जसपा संविधान दिवसको कुनै कार्यक्रममा सहभागी नहुने: राम अवतार यादव

रुपन्देही खबर , १६४  पटक हेरिएको

भैरहवा, असोज ३

जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान दिवसको कुनै पनि कार्यक्रममा सहभागी नहुने जनाएको छ । असोज ३ मा संविधान जारी भएको दिनलाई संविधान दिवसका रुपमा मनाइँदै आए पनि जसपाले आजको दिनलाई कालो दिन भन्दै संविधान दिवसलाई बहिस्कार गरेको जसपा लुम्बिनी प्रदेश उपाध्यक्ष राम अवतार यादवले बताउनु भएको छ ।

२०७२ सालमा जारी गरिएको यो संविधान त्रुटीपुर्ण भएकाले संविधान दिवसमा जसपा नेपाल भाग नलिने, विरोध गर्ने र संविधानमा रहेका विभेदकारी एवं त्रुटीपूर्ण बुँदा परिवर्तन गरी संविधान संशोधनद्वारा संविधान सच्याउनका लागि हाम्रो संघर्ष जारी रहेको यादवले बताउनु भयो ।

संविधान परिमार्जन र पुनर्लेखन गरी संघीय संरचना, शासकीय स्वरूप,निर्वाचन प्रणाली, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र सेना, प्रहरी,हरेक सरकारी निकायमा पूर्णप्रतिनिधित्वको माग गर्दै विरोध र लडाइ जारी रहने यादवको भनाइ छ ।

राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन नै नगरी संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, पूर्ण समानुपातिक समावेशीकरण लगायतका मुद्दा अधुरो र अपूर्ण हुनुका साथै संविधानमा विभेदकारी नीति राखिएकाले जसपा नेपालले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउदै आएको उपाध्यक्ष यादवले बताउनु भएको छ ।

 

प्रकाशित मिति: २०२४-०९-१९ , समय : १०:०७:२८ , ४ हप्ता अगाडि