रुपन्देही खबर , ४६ पटक हेरिएको
काठमाडौं, भदौ २८
नेकपा एमालेले वार्षिक कार्ययोजना पारित गरेको छ। ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको सचिवालय बैठकले पोलिटब्युरो बैठकले दिएको सुझावका आधारमा कार्ययोजना पारित गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनु भएको छ ।
उहाका अनुसार कार्ययोजनामा विभिन्न १८ वटा विषय समेटिएको छ। पार्टी सदस्यता नवीकरण र अभिलेखीकरण, नियमित अधिवेशन, बाँकी रहेका जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र सम्पन्न गर्ने विषय कार्ययोजनामा समेटिएको छ। सबै तहको अधिवेशन मंसिर मसान्तभित्र सम्पन्न गरिसक्ने गरी योजना बनाइएको उहाले बताउनु भएको छ ।
पार्टी प्रवेश गरेका र विभिन्न कमिटीबाट बिदा भएकालाई तीन महिनाभित्र जिम्मेवारी दिइने कुरा कार्ययोजनामा उल्लेख छ। यस्तै पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्यांकनका लागि विधि बनाइएको छ। पार्टी एकता कसरी निमार्ण गर्न सकिन्छ भन्ने कुरालाई आधार बनाएर कार्ययोजना बनाइएको महासचिव पोखरेलले बताउनु भयो ।
पार्टी स्कुल अभियानको रूपमा सञ्चालन गर्ने र प्रत्येक वर्ष पार्टीका सदस्यले अनिवार्य रूपमा कुनै न कुनै तहको पार्टीको स्कुलमा सहभागि भई प्रशिक्षित हुनुपर्ने विषय कार्ययोजनामा उल्लेख छ। कार्ययोजनामा सरकारले गरेका कामलाई जनस्तरमा लैजाने र पार्टी कार्यालय व्यवस्थित रूपमा सञ्चालन गर्ने जोड दिइएको छ।
पार्टी कार्यालय व्यवस्थित बनाइने
पार्टीले केन्द्रदेखि वडासम्म कार्यालयलाई व्यवस्थित गर्ने उल्लेख गरेको छ। कार्ययोजनामा हरेक कमिटीले आफ्नो बजेट तयार गर्नुपर्ने र वार्षिक बजेट बनाएर आम्दानी र खर्चको व्यवस्थापन गर्नुपर्ने रहेको महासचिव पोखरेलले बताउनु भएको छ । पार्टीका नेता तथा कार्यकताको जीवनशैली, आर्थिक अनुशासन र चारित्रिक प्रश्नमा जनताका लागि प्रिय र स्वीकार्य हुने स्थिति बनाउने कुरा कार्ययोजनामा समेटिएको उहाले बताउनु भयो ।
बैठकले पार्टी स्थापना ७५ वर्ष पूरा गरेको अवसरमा बाँकी रहेका विषयलाई वार्षिक कार्ययोजनामा समेटिएको छ। पार्टीको इतिहास, आन्दोलनका विभिन्न घटनाको अभिलेख लेख्ने र पुस्तक पार्टीको ‘सेल्टर’ प्रकाशन गर्नेजस्ता कुरा कार्ययोजनामा समेटिएका छन्।
युथ समिट गर्ने
एमालेले ४० वर्षभन्दा मुनिका युवालाई समेट्न ‘युथ समिट’ आयोजना गर्ने भएको छ। युवाको राष्ट्र निर्माण भूमिका स्थापना गर्ने उद्देश्यले समिट आयोजना गर्ने कुरा कार्ययोजनामा राखिएको महासचिव पोखरेलले बताउनु भएको छ ।
पार्टीले भारत कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरीको निधनप्रति दुःख व्यक्त गरेको छ। बैठकले यचुरीको अन्तिम संस्कारमा सामेल हुनका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल जाने निर्णय गरेको छ।
महासचिव पोखरेलले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि जनता जागृत भएको मूल्यांकन भएको बताउनु भएको छ । उहाले सत्तामा रहेका दलबीचको सहकार्यलाई अझ धनिष्ठ बनाउने हिसाबले संसद र सरकारलाई अझ प्रभावकारी काम गर्ने बताउनु भएको छ ।
प्रकाशित मिति: २०२४-०९-१३ , समय : २२:२१:१६ , २ महिना अगाडि