भैरहवामा ५ किलोमिटरको खुल्ला सडक दौड प्रतियोगिता

रुपन्देही खबर , ६१  पटक हेरिएको

भैरहवा , भदौ २४

१११ औं विपी जयन्तीको अवसर पारेर नेपाली कांग्रेस रुपन्देहीले ५ किलोमिटरको खुल्ला सडक दौड (मिनी म्याराथन) प्रतियोगिता सम्पन्न गरेको छ । सोमबार विहान सम्पन्न प्रतियोगितामा ईटहरीका धावक  धनु मानान्धर १५ मिनेट ५२ सेकेण्डमा उक्त दुरी पार गर्दै प्रथम हुनु भएको छ । यस्तै रुपन्देही गैडहवाका उमेश बरई १६ मिनेट ४ सेकेन्ड र रुपन्देही सियारीका अजय पाण्डे १६ मिनेट २५ सेकेण्ड लिदै क्रमशः दोश्रो र तेश्रो स्थान हासिल गर्नु भएको छ ।

महिला तर्फ भने नेपाली सेनाको वर्चस्व रह्यो । महिला तर्फ दोश्रो बाहेक सबै पुरस्कार सेनाले हात पारेको छ । कालीभक्ती गणकी सरिता कुमारी बस्नेतले ५ किलोमिटरको दुरी २१ मिनेट २९.४४ सेकेण्ड लिदै प्रथम हुनु भएको छ । दोश्रो हुने कुसुम ठगुन्नाले २१ मिनेट २९.७३ सेकेण्डमा उक्त दुरी पार गर्नु भएको थियो । यस्तै नेपाली सेनाकै विपन केसी २१ मिनेट ४४ सेकेण्ड लिदै तेश्रो हुनुभएको छ ।

पुरुष तर्फ मनोज केवट र महिला तर्फ विन्दु थापाले सान्त्वना पुरस्कार प्राप्त गर्नु भएको छ । यस्तै प्रतियोगितामा भाग लिएका मध्ये हरिचन्द्र श्रेष्ठ (५८ वर्ष), मयंक अग्रवाल (११वर्ष) र सादिक पठान (११वर्ष)लाई पनि सान्त्वना पुरस्कार प्रदान गरिएको खेलकुद संयोजक ओमकुमार श्रेष्ठले जानकारी दिनु भएको छ

प्रतियोगितामा प्रथम हुनेलाई १० हजार र मेडल, दोश्रोलाई नगद ५ हजार सहित मेडल, तेश्रो हुनेलाई ३ हजार नगद सहित मेडल र सान्त्वना हुनेलाई १ हजार ५ नगद सहित मेडल प्रदान गरिएको खेल संयोजक श्रेष्ठले जानकारी दिनु भएको छ । प्रतियोगितामा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारण गरि ४ सय ५० जना बढी धावकको सहभागीता रहेको थियो ।

“खेलको विकास गर्नुपर्छ” भन्ने विपीको भनाईलाई आत्मसात गर्दै उहाको १११ औं जन्मजयन्तीको अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको नेपाली कांग्रेसका जिल्ला सभापति रामकृष्ण खाँणले बताउनु भएको छ । “खेलले नागरिकलाई स्वस्थ बनाउछ, राष्ट्रलाई बलियो बनाउछ । राष्ट्रियतालाई बलियो बनाउछ । त्यहि सिलसिलामा हामीले पनि खेलको विकास र युवालाई संगठित बनाउने उद्देश्य सहित प्रतियोगिताको आयोजना गरेका हौं ।” खाँणले भन्नू भयो “खेलको विकासबाट राष्ट्रकै विकास गर्न सकिन्छ र यसमा पार्टीहरु पनि लाग्नुपर्ने सन्देश सहित मिनि म्याराथनको आयोजना गरेको बताउनु भयो ।

पार्टीको लागि यो नया कार्यक्रम रहे पनि यसपछि खेलको विकासको लागि यसलाई नियमितता दिने खाँणको भनाइ छ । यससंगै खेलको अन्य विधाहरुमा पनि नेपाली कांग्रेसले अग्रसरता लिने उहाले उल्लेख गर्नु भयो ।

गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल अगाडीबाट सुरु भएको दौड लुम्बिनीरोड, नारायण पथ हुदै मिलनचोकमा समापन भएको थियो । प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०९-०९ , समय : १९:४४:४१ , १ महिना अगाडि