राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देहीको तीजमिलन कार्यक्रम सम्पन्न

पार्टीको कामसँगै सामाजिक सेवामा लाग्न महिलाहरुलाई आग्रह :राप्रपा केन्द्रीय सदस्य थापा

रुपन्देही खबर , ३५  पटक हेरिएको

भैरहवा, भदौ १८

महिला दिदीबहिनीहरुको विशेष पर्व हरितालिका तीजको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देहीले मंगलबार भैरहवामा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि राप्रपा केन्द्रीय सदस्य स्वाती थापाले लक्ष्य प्राप्तीका लागि गरिएको संघर्षबारे सिक्नुपर्नेमा जोड दिनु भएको छ। उहाले महिलाहरुलाई संविधानले दिएको अधिकार सुनिश्चित भए पनि कति प्रतिशत महिला कार्यकारी पदमा पुगे भन्ने कुराको समीक्षा हुन आवश्यक रहेको जोड दिनु भयो । उहाले ‘केही दिन पहिले रुपन्देहीको मर्चवारमा बलात्कारको एउटा घटना सार्वजनिक भए पनि , कतिपय अझै पनि यस्ता घटना सार्वजनिक नभएको बताउनु भयो । उहाले एउटा महिला शिक्षित भए परिवार शिक्षित हुने भएकोले शिक्षामा जोड दिनु पर्ने बताउनु भयो ।

केन्द्रीय सदस्य थापाले तीज पर्वमा महिलाहरु घरबाट निस्कनु नै पहिलो सामाजिक क्रान्ति भएको बताउदै तीज पर्वलाई दुःखसुख साट्ने थलो बनाए र आफ्ना छोरीहरुलाई शिक्षाबारे प्रेरणा दिए अत्यन्तै राम्रो हुने बताउनु भएको छ ।

उहाले पार्टीलाई बलियो बनाए अवसर अवश्य नै प्राप्त हुने बताउदै काम नगरी नेतृत्व तहमा पुग्न नसकिने उल्लेख गर्नु भयो । पार्टीको कामसँगै सामाजिक सेवामा लाग्न उहाले महिलाहरुलाई आग्रह गर्नु भएको छ ।

त्यस्तै गरि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले महिला नेतृत्वको योगदान र आन्दोलनका कारण आफू यो पदमा पुग्न सफल भएको बताउनु भएको छ। उहाले प्रमुख –उपप्रमुखमध्ये एकजना महिला अनिवार्य हुनुपर्ने भएकाले म उपप्रमुख पदमा पुगेको हुँ भन्दै यो महिलाहरुले गरेको आन्दोलन र योगदानकै कारण भएको जोड दिनु भयो। अरुलाई गाली गरेर हुँदैन । नेतृत्व तहमा पुग्ने क्षमताको विकास गर्नुपर्छ । ’ आगामी २०८४ को निर्वाचनमार्फत महिलाहरुलाई मुख्य पदमा ल्याउनुपर्नेमा उहाले जोड दिनु भयो।

यस्तै गरि संगठनको रुपन्देही जिल्ला अध्यक्ष मीना देवी रिमालले कला–संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाले ‘जातीय, क्षेत्रीय भावना त्यागेर राष्ट्रिय भावनाको विकास गर्नुपर्नेमा जोड दिनु भएको छ ।

संगठनकी रुपन्देही जिल्ला उपाध्यक्ष पुनम चौधरीको स्वागत रहेको कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देहीकी कोषाध्यक्ष अप्सरा शाही, राप्रपा रुपन्देही उपाध्यक्ष पदमा थापा, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन ओमसतिया गाउँपालिका अध्यक्ष चित्रलेखा चौधरी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन संगठनको सचिव प्रतिमा काफ्लेले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०९-०३ , समय : १९:५२:२८ , २ महिना अगाडि